राजनीतिक तिक्तताबीच मेलमिलाप दिवसले दलका शीर्ष नेतालाई एकै मञ्चमा ल्यायो, यसलाई कसरी हेरेको छ कांग्रेसले ?
०३३ सालमा बिपी कोइरालाले मुलुकको आवश्यकताका सन्दर्भमा मेलमिलापको नीति लिएर भारतस्वदेश फर्कनुभएको थियो । अहिले मुलकको राजनीति र व्यवस्थामाथि कालो बादल मडारिएको अवस्था छ । हिजो गणतन्त्रका लागि लडेका शक्तिहरू आज लोकतन्त्र र संविधान जोगाउन एक ठाउँमा अभिनुपर्ने अवस्था छ ।
यही अवस्थालाई मध्यनजर गरेर हामीले हिजो व्यवस्था परिवर्तनका लागि लडेका दलहरूलाई एक ठाउँमा उभ्याउने गरी मेलमिलाप दिवस तय गरेका थियौँ । आपसमा विमति नहुने राष्ट्रिय हितका विषयमा हामी सबै दल एकै ठाउँमा आउन सक्छौँ भन्ने राम्रो सन्देश पनि यसपटकको मेलमिलाप दिवसले दिएको छ ।
रास्वपा,राप्रपालगायत दललाई नबोलाउँदा आलोचना पनि भयो नि ?
हामीले हिजोदेखि व्यवस्था परिवर्तनका हरेक मोर्चामा सँगै लडेका दलहरूलाई समेट्ने गरी कार्यक्रमको मोडालिटी बनाएका थियौँ । हाम्रो मोडालिटीअनुसार केही दल मेलमिलाप दिवसमा सहभागी हुन नसक्ने अवस्था आएको हो । यसलाई अन्य अर्थमा लिनु उपयुक्त हुँदैन ।
अबका दिनमा सबै दललाई अटाउन सक्ने अवस्था हुन्छ कि हुँदैन ?
आगामी दिनमा राष्ट्रिय सहमतिका लागि तयार सबै दललाई समेटेर लैजान हामी तयार छौँ । मुलुकको हितलाई हेरेर सबैलाई समेटेर लैजाने कांग्रेसको नेतृत्वदायी भूमिका सदैव रहनेछ । हामी आगामी दिनमा सबैलाई साथमा लिएर अघि बढ्न तयार छौँ ।