काठमाडौं महानगरपालिकाले तीनजना कर्मचारीलाई निलम्बन गरेको छ । महानगरपालिकाका मेयर बालेन साहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको हो ।
कार्यपालिकाको निर्णयविपरीत कर्मचारी भर्ना गरेकामा उनीहरूलाई निलम्बन गरिएको प्रमुख साहका स्वकीय सचिव भूपदेव साहले बताए । ‘कार्यपालिकाको निर्णयअनुसार पाँचजना कर्मचारी करारमा भर्ना गर्नुपर्ने थियो । तर, ६ जना भर्ना भएको जानकारी सचिवालयलाई प्राप्त भएपछि उहाँहरूलाई निलम्बन गरेर छानबिन थालेका हौँ,’ उनले भने, ‘हामीले छानबिन समिति पनि बनाइसकेका छौँ । उहाँहरूको कसुरमाथि छानबिन हुन्छ । कसुर प्रमाणित भएमा आवश्यक कारबाही पनि हुन्छ ।’
महानगरका अनुसार सोमबार नै सहरी योजना आयोगका उपाध्यक्ष सुमनराज भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिसमेत गठन भएको छ । गत ३० असोजमा बसेको कार्यपालिका बैठकले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र वडा नं. १९ मा मेड्सा डु मोन्ड फ्रान्सको आर्थिक सहयोगमा सन् २०२२ देखि २०२३ अक्टोबर १४ सम्मका लागि सम्झौता भई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन भइरहेकोमा सम्झौता समाप्त भएकाले त्यहाँबाट उपलब्ध हुने सेवा प्रवाहलाई निरन्तरता दिन सम्पत्ति, दायित्व जेजस्तो अवस्थामा छ, सोही अवस्थामा महानगरमातहत ल्याउने र जनशक्तिको हकमा कार्यसम्पादनको मूल्यांकनका आधारमा काममा लगाउने निर्णय भएको थियो ।
सोहीअनुसार पाँच केन्द्रमा पाँच कर्मचारीलाई निरन्तरता दिने निर्णय भएको थियो । तर, त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोप छ । जसकारण उनीहरूलाई निलम्बन गरिएको हो । यो विवादमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसमेत तानिएका छन् । स्रोतका अनुसार मेयर साहको निर्देशनपछि उनी हाल बिदामा छन् । स्वकीय सचिव साहले भने यो नियमित प्रक्रिया भएकाले ठूलो विषयका रूपमा लिनुनपर्ने बताए ।