चलचित्र ‘महाजात्रा’को फर्स्ट लुक्स सार्वजनिक गरिएको छ। जहाँ अभिनेता हरिवंश आचार्यसँगै शृंखलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा देखिएका छन्।
सार्वजनिक पोस्टरमा ’जात्रा’देखि नै फडिन्द्र (विपिन), जोएस (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा)को भूमिकामा देखिँदै आएका तीन पात्रले अभिनेता आचार्यलाई ह्विलचेयरमा लागिरहेका छन्।
उनीहरूले आचार्यलाई बन्दी बनाएको संकेत पोस्टरले गरेको छ। फिल्मका अभिनेता तथा कार्यकारी निर्माता बानियाँले फिल्मको कथासार झल्किने पोस्टर सार्वजनिक गरिएको जानकारी दिए।
‘पोस्टरमा देखिएका पात्रले पनि यसको कथासार झल्काउँछ। पृष्ठभूमिमा गाडी, पैसा अनि हामी तीनसँगै हरि दाइ। यसले धेरै तथ्य संकेत गरेको छ,’ अभिनेता बानियाँले भने।
फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापश्चात् षट्कोण आर्टस्को निर्माणमा तेस्रो शृंखला ‘महाजात्रा’मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई प्रस्तुत गरिएको छ।
निर्देशक प्रदीप भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए। अर्थात्, यसमा हाँसो र रोदनको मिश्रण छ। अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृंखला दर्शकको प्रिय बनेको छ। नेपालमा यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन्। फिल्मको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ-नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास निर्माण पक्षको छ।
फिल्ममा वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरबिन खड्कालगायतको पनि अभिनय रहेको छ।
म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। उक्त कम्पनीका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।