विद्यालयअगाडिका ३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गरिँदै

मंगलबार, १७ पुष, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले ३६ वटा विद्यालयअगाडि सडक पार गर्नका लागि सहज गराउने प्रणाली ‘अन डिमान्ड पेडेस्ट्रियन क्रसिङ ९पेलिकन० जडान गर्ने भएको छ । २६ वटा सामुदायिक विद्यालय र १० वटा निजी विद्यालयअघि बबरमहलमा जडान गरिएको जस्तै प्रणाली जडान गर्न लागेको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । यस वर्ष ३६ वटा विद्यालयअघि राख्ने तयारी भए पनि आगामी दिनमा आवश्यकताअनुसार जोखिम हेरेर अन्य स्थानमा पनि व्यवस्था गर्ने उनको भनाइ छ । 

काठमाडौं महानगरपालिकामा ८९ सामुदायिक र पाँच सयभन्दा बढी निजी विद्यालय छन् । श्रेष्ठले भने, ‘मुख्य सडकसँग जोडिएका सबै विद्यालयमा यस किसिमको प्रणाली जडान गर्ने लक्ष्य छ । यस कार्यक्रमका लागि महानगरले चालू आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ । विद्यालय आउने र जाने समयमा दुर्घटनाको जोखिम बढेको हुनाले यस किसिमको प्रणाली जडान गर्न लागेको हो । यसले बालिबालिकालाई सडक सुरक्षा प्रदानमा सहयोग पुग्छ भने भविष्यका सडक प्रयोगकर्ता ९बालबालिका०लाई सडक सुरक्षाका विषयमा व्यावहारिक ज्ञान दिने विश्वास कामपाले लिएको छ । पैदलयात्रीले स्विच थिचेपछिको पाँच सेकेन्डमा जेब्राक्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एकपटक थिचेपछि ३० सेकेन्ड बत्ती बल्छ । 

पहिलो ३० सेकेन्ड बत्ती बलेको अवधि सकिएपछिको दुई मिनेटमा मात्र पैदलयात्रीले अर्कोपटक बटन थिच्न सक्छन् । दुई मिनेटपछि मात्र जेब्राक्रसतर्फ फेरि बत्ती बाल्न सकिन्छ । विद्यालय क्षेत्रमा राखिसकेपछि आवश्यकताअनुसार पैदलयात्रीको ठूलो चाप रहेको अन्य स्थानमा पनि यस किसिमको प्रणाली जडान गर्ने तयारी छ । प्रणाली जडान भएपछि पैदलयात्रीले सवारीसाधन रोकिएको यकिन भएपछि मात्र सडकपार गर्ने अवसर हुने विश्वास कामपाको छ ।

सुझावित समाचार