कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको सोमबार भएको दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै फाइनलको स्थान सुरक्षित गरेको छ । कोशीले उपाधिका लागि बुधबार नेपाल एपिएफ क्लबको सामना गर्नेछ । त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सात विकेट गुमाएर ८८ रनको झिनो योगफल खडा गरेको थियो । सहज लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा केवल एक विकेट गुमाउँदै ८९ रन जोड्यो । कोशीको जितमा काजोल श्रेष्ठ ३५ बलमा सात चौकाको सहयोगमा ३८ रनमा अविजित योगदान दिइन् ।
यसैगरी, राष्ट्रिय महिला टोलीकी पूर्वकप्तान रुविना क्षेत्रीले २३ बलमा ३७ रन बनाइन् । उनले आफ्नो इनिङ्समा सात चौका र एक छक्का प्रहार गरेकी थिइन् । अप्सरी बेगम २१ बलमा दुई चौकासहित १२ रनमा अविजित रहिन् । सुदूरपश्चिमकी लक्ष्मी साउदले एक मात्रै विकेट लिन सफल भइन् । यसअघि पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले कोशीको घातक बलिङ सामना गर्न सकेन । कोशीकी संगीता राईले चार ओभरमा १३ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिइन् ।
सबनम राई, एलिसा खडिया र निशा शाहले समान एक विकेट हात पारे । प्रतियोगितामै पहिलोपटक कमजोर ब्याटिङ प्रदर्शन गरेको सुदूरपश्चिमबाट सम्झना खड्काले सर्वाधिक २४ रन बनाइन् । उनले २५ बलमा चार चौका प्रहार गरेकी थिइन् । ओपनर बिन्दु रावल र रुवि पोदारले पहिलो विकेटका लागि ६.३ ओभरमा २६ रनको साझेदारी गरेका थिए । सुरुवात मध्यम गरेको सुदूरपश्चिमले त्यसपछि गतिलो साझेदारी पाउन नसक्दा कोशीलाई चुनौतीपूर्ण लक्ष्य दिन नसकेको हो । बिन्दुले १८ बलमा तीन चौकाको सहयोगमा १७ रन बनाइन् ।
संगीताले रुविलाई सात रनमा एलबिडब्लू धरापमा राखिन् । संगीताले रेवती धामीलाई सात रनमा एलबिडब्लू गर्दै पेभेलियन पठाइन् । सुदूरपश्चिमले एलिमिनेटर खेलमा बागमतीलाई हराउँदै दोस्रो क्वालिफायर खेलेको थियो ।
दोस्रो एसिसी प्रिमियर कप २८ चैतमा
एसियन क्रिकेट काउन्सिल (एसिसी)ले दोस्रो संस्करणको एसिसी प्रिमियर कप आगामी २८ चैतदेखि गर्ने भएको छ । एसिसीले सोमबार प्रतियोतिगाको मिति सार्वजनिक गरेको हो । प्रतियोगिता ०८० को २८ चैतदेखि ०८१ को ११ वैशाखसम्म हुने एसिसीले जनाएको छ । एसिसीले दोस्रो संस्करणको मिति सार्वजनिक गरे पनि यसको आयोजक राष्ट्र घोषणा गरेको छैन ।
नेपालले घरेलु मैदानमा आयोजना भएको पहिलो संस्करणको ट्रफी उचालेको थियो । यसै प्रतियोगिताको च्याम्पियनका रूपमा नेपालले एसिया कपमा भाग लिएको थियो । जहाँ नेपालले एकदिवसीय विश्वकपका पूर्वविजेताद्वय भारत र पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । एसिसीका अनुसार यसपटक १० टोलीबीच २४ खेल हुनेछ । दोस्रो संस्करण मध्यपूर्वी एसियामा हुने सम्भावना छ । प्रतियोगितामा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कतार, कुवेत, बहराइन तथा च्यालेन्ज कपको विजेता र उपविजेताले भाग लिनेछन् ।
नेपालले सन् २०२४ को टी– २० विश्वकपअघि एसिसी प्रिमियर कप खेल्न लागेको हो । विश्वकपअघि नेपाललाई कपले राम्रो तयारी गर्ने अवसर मिल्नेछ । एसिसी प्रिमियर कप भएको दुई महिनापछि जुनमा अमेरिका र वेस्ट इन्डिजमा टी– २० विश्वकप आयोजना हुँदै छ । यसैबीच, एसिसीले महिला प्रिमियर कप टी– २० प्रतियोगिता २६ माघदेखि गर्ने प्रस्ताव राखेको छ । मलेसियामा हुने प्रतियोतिगामा थाइल्यान्ड, युएई, इन्डोनेसिया, नेपाल, हङकङ, मलेसिया, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्सले भाग लिनेछन् । विजेता र उपविजेताले जुलाईमा हुने महिला एसिया कप २०२४ मा प्रतिस्पर्धा गर्न अवसर पाउनेछन् ।