लाइन काटिएको हिमाल आइरनले पहिलो किस्ता बुझाएपछि विद्युत् जोडियो

रोल्पा सिमेन्टले पठायो महसुल तिर्ने प्रतिबद्धतासहितको पत्र

मंगलबार, १७ पुष, २०८०
डिजिटल संस्करण
लाइन काटिएको हिमाल आइरनले पहिलो किस्ता बुझाएपछि विद्युत् जोडियो

हिमाल आइरनले पहिलो किस्ता बुझाएपछि विद्युत् लाइन जोड्दै नेपाल विद्युत् प्राधिकरणका कर्मचारी

डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेपछि लाइन काटिएको वीरगन्जस्थित हिमाल आइरन एन्ड स्टिलले विद्युत् प्राधिकरणलाई पत्राचार गर्दै महसुल तिर्ने प्रतिबद्धता जनाएको छ । पहिलो किस्ता तिरेपछि सोमबार राति नै उद्योगमा लाइन जोडिएको छ । त्यस्तै, एड्भान्स समूहको रोल्पा सिमेन्टले पनि बक्यौता तिर्ने प्रतिबद्धतासहितको पत्र पठाएको प्राधिकरणले जनाएको छ ।

ज्योति समूहले सञ्चालन गरेको हिमाल आइरनको आठ करोड १२ लाख ७३ हजार रुपैयाँ बक्यौता थियो । यो उद्योगले सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । बाँकी रकम ३६ किस्तामा तिर्ने प्रतिबद्धता गरेको छ । बक्यौता नतिरेपछि गत शुक्रबार प्राधिकरणले यो उद्योगको लाइन काटेको थियो । 

त्यस्तै, रोल्पा सिमेन्टको पाँच करोड ७३ लाख ६३ हजार बक्यौता छ । उसले पनि किस्तामै बक्यौता तिर्ने प्रतिबद्धता गरेको छ । ‘हामी किस्तामा बक्यौता तिर्छाैँ, विद्युत् आपूर्ति कटौती नगर्नुस्’ भन्ने आग्रहसहित रोल्पा सिमेन्टको पत्र प्राप्त भएको प्राधिकरण स्रोतले बताएको छ । 

लोडसेडिङ भएको वेला प्राधिकरणले ०७२ साउनदेखि उद्योगहरूलाई ६५ प्रतिशत प्रिमियममा २४ घन्टासम्म विद्युत् उपलब्ध गराएको थियो । तर, त्यसको प्रिमियम महसुल अहिले विवादमा छ । जरिवाना र ब्याजसहित ५९ उद्योगको २२ अर्ब ४० करोड बक्यौता छ । महसुल नतिरेको भन्दै प्राधिकरणले ६ पुसदेखि उद्योगहरूमा विद्युत् आपूर्ति कटौती गर्दै आएको छ । हालसम्म २३ उद्योगको लाइन काटिएको छ  ।

सर्त पूरा भएमा ०७५ वैशाखपछि  पनि प्रिमियम बिल
विद्युत् नियमन आयोगले पुरानो सर्त पूरा भएमा ३१ वैशाख ०७५ देखि ०७७ जेठसम्मको अवधिमा पनि डेडिकेटेड फिडर र ट्रंक लाइनसरह (थप ६५ प्रतिशत प्रिमियममा) विद्युत् महसुल लिन पाउने नीतिगत निर्णय गरेको छ । ३१ वैशाख ०७५ मा लोडसेडिङ अन्त्य भएपछि पनि प्राधिकरणले विभिन्न उद्योगलाई प्रिमियम बिल पठाएको विषय पनि अहिले विवादमा छ, सोही सन्दर्भमा आयोगको सोमबार सम्पन्न २१८औँ बैठकले यस्तो निर्णय गरेको हो । 

६ घन्टा लोडसेडिङ भएको अवस्थामा उद्योगलाई न्यूनतम २० घन्टा विद्युत् आपूर्ति दिएमा प्रिमियम शुल्क लिन पाउने सर्त छ । यदि, ३१ वैशाख ०७५ पछि पनि त्यो सर्त पूरा भएमा प्रिमियममा बिल जारी गर्न सकिने आयोगको निर्णय छ । तोकिएको सर्त पूरा नभए ३१ वैशाख ०७५ पछि प्रिमियममा बिल काट्न नपाइने स्पष्ट पारिएको आयोगका प्रवक्ता गोकर्णराज पन्थले जानकारी दिए । 

‘लोडसेडिङ सकिएपछि पनि कुनै न कुनै रूपमा तोकिएको सर्त पूरा हुन्छ भने प्राधिकरणलाई प्रिमियममा बिल काट्ने अधिकार हुन्छ । यदि, सर्त पूरा भएका छैनन् भने उक्त अधिकार प्राधिकरणलाई हुँदैन,’ प्रवक्ता पन्थले भने, ‘सर्त पूरा नभएको अवस्थामा के गर्ने भनेर निर्णय गर्न हामीसँग अधिकार छैन । सर्त पूरा नभई जारी भएको बिललाई अदालतमार्फत वा प्राधिकरणको पुनरावलोकन प्रक्रियामार्फत टुंग्याउँदा उपयुक्त हुन्छ होला ।’ 

उनका अनुसार यो द्विविधा भएको नीतिलाई स्पष्ट पारिएको मात्रै हो । बक्यौता महसुल असुल गर्ने÷नगर्ने विषयमा आयोगबाट थप निर्णय गर्न नमिल्ने उनले बताए । यद्यपि, उद्योगहरूलाई अदालत र पुनरावलोकन प्रक्रियामा जान बाटो खुला रहेको उनले बताए । 

महसुल विवादमा हाम्रो कुनै निर्णय हुँदैन : आयोग
आयोगले भने यस विवादमा आफ्नो कुनै धारणा नभएको पनि स्पष्ट पारेको छ । अदालत, लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालय तथा प्राधिकरणबाट बक्यौता उठाउने भनी निर्णय तथा निर्देशन प्राप्त भएको अवस्थामा यस सम्बन्धमा आयोगको अन्यथा धारणा हुन नमिल्ने सोमबार सम्पन्न बैठकको निर्णय छ ।

पुरानो सर्तसहित विद्युत् प्रवाह भएमा प्रिमियम शुल्कमा महसुल लिन प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा महसुल निर्धारण आयोगले ०७२ मा गरेका निर्णयहरूमा अतीतप्रभावी –भूतप्रवाही) रूपले अन्यथा निर्णय गर्न कानुनतः नमिल्ने आयोगको भनाइ छ । 

यद्यपि, अदालतले विभिन्न समयमा गरेको फैसला तथा आदेशहरूको परिपालना हुने गरी प्राधिकरणले कामकारबाही गर्न सक्ने निर्देशन आयोगले दिएको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक सिलवालले उक्त निर्णयका कारण प्राधिकरणको नीतिगत व्यवस्थामा थप निर्णय गर्न नपर्ने बताए ।

बक्यौता तिर्न ६० किस्ताको सुविधा दिइने
विद्युत् प्राधिकरणले बक्यौता तिर्न उद्योगहरूलाई ६० किस्तासम्मको सुविधा दिने निर्णय गरेको छ । ऊर्जामन्त्री शक्ति बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको छ, त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था गरेको बताए ।

सुझावित समाचार