पर्यटकले भरियो पोखरा

सोमबार, १६ पुष, २०८०
डिजिटल संस्करण

 धनगढी–४ घर भएका २७ वर्षका राजु थापा दुई दिनअघिदेखि पोखरामा छन् । मंसिर अन्तिममा बिहे गरेका उनले श्रीमती पनि सँगै ल्याएका छन् । धुलिखेल घर भएका २३ वर्षका सन्तोष प्रधान र तीन साथी प्रेमिकासँगै शनिबारदेखि पोखरामा छन् । पाँच वर्षअघि पोखरा आएका अमेरिकाका ४१ वर्षे काल्मे ६ दिनदेखि पोखरामा छन् । यी त उदाहरण मात्र हुन् । देश र विदेशबाट आएका आन्तरिक एवं बाह्य पर्यटकले हाल पोखरा भरिभराउ छ ।

कारण हो, पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा सडकमै खाऔँ सडकैमा रमाऔँ भन्ने मूल नाराका साथ आयोजना गरिएको २५औँ  संस्करणको पोखरा सडक महोत्सव । जारी महोत्सव हेर्न हाल पोखरा आउने पर्यटकको ओइरो लागेको छ भने महोत्सवका कारण केही विदेशी पर्यटक पोखरा बसाइँ लम्बाएर यहीँ रोकिएका छन् । आइतबार राति १२ बजेपछि सन् २०२३ समाप्त हुने र सन २०२४ सुरु हुने हुँदा पुरानो वर्षको बिदाइसँगै नयाँ वर्षको स्वागतका लागि पर्यटक पोखरामा जम्मा भएका हुन् । महोत्सवको ६ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

पहिलोपटक पोखरा आएका धनगढीका थापादम्पती अझै तीन दिन पोखरा बस्ने र आसपासका क्षेत्र घुम्ने योजनामा छन् । आफूले विगतदेखि नै पोखरामा हुने सडक महोत्सवको बारेमा सुनेको, तर समय नमिलेका कारण आउन नपाए पनि भखैरै बिहेसमेत गरेको र हनिमुन मनाउनसँगै घुम्ने उद्देश्यले पोखरा आएको बताए । पोखरा आफूले सुनेको भन्दा प्रत्यक्ष अवलोकन गर्दा अझ धेरै सुन्दर लागेको र महोत्सवमा समेत धेरै रमाइलो गरेको उनले सुनाए । 

१२ पुसदेखि सुरु महोत्सव लेकसाइडको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जहरेवरसम्मको करिब साढे तीन किलोमिटर सडकमा सञ्चालन गरिएको छ । फेवाताल किनारासँगै महोत्सव भएको क्षेत्रलाई ध्वजापताका, ब्यानर, स्वागतद्वार, रंगीचंगी बत्तीलगायतका कारण लेकसाइड क्षेत्र बेहुलीजस्तै सिँगारिएको छ । महोत्सवमा रेबानमा आबद्ध रेस्टुरेन्टसँगै खाना र अन्य गरी करिब चार सय स्टल छन् । 

नयाँ वर्ष मनाउन पोखरामा आउनेहरू केहीले पहिल्यै होटेलमा अग्रिम बुकिङ गरेर आएका थिए भने कोहीले एक दुई दिन पहिल्यै आएर कोठा बुकिङ गरेका थिए । हिजोआज आउने पर्यटकहरूलाई आफूले चाहेजस्तो होटेल पाउन मुस्किल छ । हाल पोखराका होटेलहरूको अकुपेन्सी करिब ८० प्रतिशतको हाराहारीमा रहेको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । भोलि यो अझै बढ्न सक्ने उनको अनुमान छ । सडक महोत्सव पोखरामा धेरै पर्यटक भिœयाउने महोत्सवको रूपमा विकास हुँदै गएको भनाइ उनको छ । पोखराको लेकसाइड र आसपासमा साना–ठूला गरी एक हजार २५० होटेलहरू रहेका र तिनीहरूमा ४० हजार बेड रहेको सुवेदीले जानकारी दिए ।

खाना, संस्कृति र पर्यटनलाई मुख्य जोड दिँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकषित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आएको आयोजक रेबानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । यो समय पर्यटनका लागि अफसिजन भए पनि महोत्सवको लोकप्रियता बढ्दै गएकाले प्रत्येक वर्ष महोत्सवमा आउने पर्यटकको संख्यामा उलेख्य वृद्धि हुँदै गएको भनाइ उनको छ ।

 पर्यटन कार्यालय पोखराका वरिष्ठ अधिकृत कुन्दन मिश्रले नेपाली कला संस्कृति र खानाको परिकार देश– विदेशका परिचित गराउन महोत्सव सफल भएको बताए । महोत्सवले पोखरासँगै अन्य जिल्लाका विभिन्न जातजातिको संस्कृतिलाई चिनाउने कामसमेत गरेको उनको भनाइ छ । २५औँ  संस्करणसम्म आइपुग्दा नेपालीहरूमा अंग्रेजी नयाँवर्ष पोखरामा मनाउनुपर्छ भन्ने मान्यताको विकास भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको भनाइ छ । 

See More On

सुझावित समाचार