राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता

अहिलेको नेपालको तरल राजनीतिक अवस्थामा बिपि कोइरालाले अवलम्बन गरेको राष्ट्रिय मेलमिलापको नीति थप सान्दर्भिक देखिएको छ

सोमबार, १६ पुष, २०८०
डिजिटल संस्करण

लोकतन्त्र र लोकसम्मति एक–अर्काका परिपूरक हुन् । लोकतन्त्रमा लोकसम्मतिलाई केन्द्रबिन्दुमा राखेर राज्यको शासनविधि सञ्चालन गरिन्छ । लोकसम्मतिअनुसार राज्यसञ्चालन गर्ने परिपाटी अवलम्बन गर्नु वास्तविक अर्थमा विधिको शासनको मान्यता हो । यस मानेमा हाम्रो शासन प्रणालीलाई शासन सञ्चालकले कत्तिको विधिको शासनको मियोका रूपमा अंगीकार गर्छन्, त्यसले खास महत्व राख्छ । यसै सन्दर्भमा राजनीतिक विश्लेषकहरूले असल शासक त्यही हो, जसले सबैभन्दा कम शासन गर्छ भनेका छन् ।

राजनीतिमा असल शासन लोकसम्मतिको आधार हो । यस मानेमा लोकसम्मतिको आधारशिलामा राज्यव्यवस्था सञ्चालन गर्ने उदाहरणीय शासकका रूपमा थोरै व्यक्तिले आफ्नो भूमिका जनमानसमा प्रस्तुत गर्न सकेका छन् । तिनै व्यक्तिहरूको नाम लिँदा बिपि कोइरालाको नाम अग्रपंक्तिमा आउँछ, जसले शासकभन्दा जनपथप्रदर्शकका रूपमा जननिर्वाचित सरकारको नेतृत्व गरेको उदाहरण हामीमाझ छ । 

लोकतन्त्रलाई जनताको आशाको मियो र अभिमतको सहमतिका रूपमा लिएर जनजीविकाका सवालमा लागिपर्ने नेता विरलै पाइन्छन् । शासनको बागडोरलाई शक्ति आर्जनको प्रदूषणबाट मुक्त राखेर आफू र आफूले प्राप्त गरेको शक्तिलाई जनताको सेवामा लगाउन सक्ने राजनेताको खडेरी पुर्ने उदाहरणीय व्यक्तित्व हुन् बिपी । उनी विचार र आदर्शका पथप्रदर्शक पनि हुन् ।

नेतृत्ववर्ग सत्ता र शक्तिको उन्मादमा रोमका सम्राट निरोझैँ दिग्भ्रमित र अन्य मनस्क चिन्तन र सोचबाट ग्रस्त रहँदै आएका छन् । सन्दर्भ र घटनाक्रमले दिगो तथा कुशल निर्णय क्षमताको खोजी गदैँ रहँदा राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको सान्दर्भिकतालाई आजको सन्दर्भमा थप घनिभूत बनाएको छ । आमजनमानस लोकतान्त्रिक गणतन्त्र र संघीय शासन प्रणालीमा सुशासनको प्रत्याभूति चाहन्छन् । राजनीतिक संस्कृति र संस्कारको शालीनता हाम्रो लोकतन्त्रको आधार हुनुपर्छ । राष्ट्रिय मेलमिलाप र एकताले दिने सन्देश राजनीतिक स्थायित्व, दिगोपन र जनजीविकाको सवालमा साझा धारणा र सहकार्य नै हो ।

लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, राजनीतिक स्थायित्व तथा संस्कारको दिगोपनका दिशामा देखिएका अनगिन्ती समस्या समाधानका लागि सहकार्य र मेलमिलाप अंगीकार गरेर राजनीतिक निर्णय गरिएको खण्डमा भोलिको नेपालले सही दिशा पाउनेछ

नेपालको राजनीतिक इतिहासमा विसं ०३३ साल पुस १६ गतेको ऐतिहासिक दिनले विशेष महत्व राख्छ । यसैदिन नेपाली राजनीतिका एक शिखर व्यक्तित्व तथा प्रजातान्त्रिक समाजवादी विचारका प्रणेता जननायक बिपी कोइराला छिमेकी राष्ट्र भारतको आठ वर्ष लामो निर्वासनपश्चात् राष्ट्रिय एकता तथा मेलमिलापको नीति अंगीकार गरी नेपाली जनता र नेपाली माटोको चाहनालाई मूर्तताको पैरवी गर्दै साहसिक निर्णयसाथ पार्टीका अन्य नेता तथा निष्ठावान् कार्यकर्तासहित स्वदेश फर्किनुभयो । त्यतिवेला भारतमा रहेका प्रबुद्ध राजनीतिक तथा अनन्य शुभचिन्तकहरूले नेपालभित्रको परिस्थिति बिपीका लागि अनुकूल नभएकाले आफ्नो निर्णयमा पुनर्विचार गर्नसमेत सुझाएका थिए । तथापि, बिपी आफ्नो निर्णयमा अडिग रहेर नेपाल फर्किनुभयो ।

यस ऐतिहासिक दिनको सम्झना र संस्मरणमा प्रत्येक वर्ष पुस १६ गतेका दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा कांंग्रेसले देशव्यापी रूपमा मनाउँंदै आएको छ । तत्कालीन निरंकुश पञ्चायती शासनव्यवस्थामा दलमाथिको कडा प्रतिबन्ध, राजनीतिक दलका कुनै पनि शान्तिपूर्ण कार्यक्रम तथा भेलामा समेत रोक तथा चरम धरपकडको अवस्थामा आफूमाथि करिब एक दर्जनजति राजद्रोह तथा राजकाजसम्बन्धी पञ्चायती शासकको कथित मुद्दाका बाबजुद असहज परिस्थितिमा निर्भीक, दृढनिश्चयी तथा साहसिक राजनेताका रूपमा कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभयो । स्वदेश फर्किँदै गर्दा उहाँले लोकतन्त्रको प्रवद्र्धन अनि राजसंस्थाको हितमा पनि आफूले राष्ट्रिय मेलमिलापको नीति लिएर एकताको सन्देश प्रवाह गर्दै स्वदेश फर्किएको विचार राख्नुभएको थियो ।

राष्ट्रिय मेलमिलापको नीतिको सान्दर्भिकतासँग समकालीन क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि कारकका रूपमा लिन सकिन्छ नै । बिपीको सोचपूर्ण निर्णयशक्तिका पछाडि विशेषतः अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको कूटनीतिक चलखेल, दक्षिण एसिया क्षेत्रको तरल क्षेत्रीय राजनीतिक असन्तुलन तथा सामरिक महत्व र दक्षिण एसिया क्षेत्रको क्षेत्रीय मामिलामा चासो राख्ने शक्तिराष्ट्र र शक्तिकेन्द्रहरूको निहित स्वार्थअनुकूल हित आर्जन गर्ने कुत्सित परिदृश्यले नेपालको राष्ट्रियता र अखण्डतामा चुनौती दिएको उहाँको ठम्याइ थियो । त्यसैलाई आधार बनाएर अन्ततः नेपाली जनमाझ  आफ्ना विचार, राजनीतिक चिन्तन र नीतिलाई उजागर गर्ने आशयसाथ उहाँ स्वदेश फर्किनुभएको हो भन्ने विश्लेषण सही हुन सक्छ ।

आन्तरिक राजनीतिक व्यवस्थापन र पार्टीपंक्तिलाई साना गुट र उपगुटको संस्कृतिबाट माथि उठाएर सबल र लोकतन्त्रको मियो पार्टीका रूपमा स्थापित गर्नमा कांग्रेस नेतृत्वका लागि चुनौती र अवसर पनि हो राष्ट्रिय मेलमिलाप दिवस

बिपीको मेलमिलाप नीतिले गर्दा नै नेपाली कांग्रेस तथा नेपाली राष्ट्रिय अखण्डता र नेपाली राजनीतिलाई सहकार्य तथा सहअस्तित्वका आधारमा अगाडि लैजानुपर्छ भन्ने मान्यताको जोडदार वकालत हुन सक्यो । साँच्चै भन्ने हो भने उहाँमाथि तत्कालीन पञ्चायती शासकले लगाएका कथित मुद्दा पञ्चायती न्यायालयमा प्रमाणित भएकाभए मृत्युदण्डसमेत हुन सक्ने अवस्था थियो । त्यसैले त बिपी कोइरालाले लिएको स्वदेश फिर्तिको निर्णयलाई राजनीतिक विश्लेषकहरूले साहसिक तथा दूरगामी निर्णयका रूपमा लिएको बुझ्न सकिन्छ । 

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले विसं ००७ को क्रान्तिपश्चात् नै संविधानसभामार्पmत संविधान निर्माणको विचारलाई राजनीतिक एजेन्डाका रूपमा अघि सार्नुभएकै हो । यसका साथै तत्कालीन राजा त्रिभुवनले पनि जननिर्वाचित सभाका माध्यमबाट जनताको इच्छा र चाहनाअनुसारको संविधान निर्माण गर्ने कुरा शाही घोषणामार्फत व्यक्त गरेका थिए ।

वर्तमान नेपालको राजनीतिक व्यवस्था र लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको प्रतिबिम्बका रूपमा नेपालको संविधान २०७२ लिन सकिन्छ । जसलाई राजनीतिकका शक्तिकेन्द्र सार्वभौम जनता, प्रमुख दल, लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस तथा समग्र कम्युनिस्ट शक्तिहरूको साझा उपलब्धिका रूपमा लिन सकिन्छ नै । समावेशी, प्रतिनिधिमूलक तथा समानुपातिक परिपाटीसहितको लोकतन्त्रको संस्थागत विकासमा अर्जुनदृष्टि आजको आवश्यकता र अपरिहार्यता पनि हो । हामीले आर्जन गरेका उपलब्धिलाई बिपीले विगतमा उठाएको राष्ट्रिय मेलमिलाप नीतिको अभिन्न अंगका रूपमा नै लिएर विश्लेषण गर्दा अतिशयोक्ति नहोला ।

बिपी कोइरालाले अवलम्बन गरेको राष्ट्रिय मेलमिलापको नीति अहिलेको नेपालको तरल राजनीतिक अवस्थामा अझ सान्दर्भिक र महत्वको रहेकोमा राजनीतिक विश्लेषकहरूको एकमत रहेको छ । समसामयिक अवस्थामा लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, राजनीतिक स्थायित्व तथा संस्कारको दिगोपनका दिशामा हाम्रासामु देखिएका अनगिन्ती समस्या समाधानका लागि सहकार्य र मेलमिलापका क्षेत्रलाई अंगीकार गरेर राजनीतिक निर्णय गरिएको खण्डमा भोलिको नेपालले स्पष्ट दिशा पाउनेछ । केही सान्दर्भिक कुरा यहाँ उठान गरिनु सान्दर्भिक नै रहला ।

राष्ट्रिय मेलमिलाप नीतिको कुरा गर्दा बिपी कोइरालाकै पार्टी कांग्रेसभित्रको आन्तरिक राजनीतिक व्यवस्थापन र पार्टीपंक्तिलाई साना हित गुट र उपगुटको संस्कृतिबाट माथि उठाएर सबल र लोकतान्त्रिक मियोको एक मात्र पार्टीका रूपमा स्थापित गर्नुमा कांग्रेस नेतृत्वका लागि चुनौती र अवसर पनि हो । कांग्रेसभित्रको आन्तरिक राजनीतिको तरलताले सिंगो पार्टीको दिशाबोध, पार्टी विचार र नीतिको कार्यान्वयन तथा पार्टीको जनमुखी भूमिकालाई कुशल व्यवस्थापन थप चुनौतीका रूपमा तेर्सिएको छ । साथै, मेलमिलाप र एकताको सन्देशलाई पार्टीको आन्तरिक राजनीतिमा अझ गवेषणात्मक र चुस्त बनाउनु छ । जसको आमकांग्रेसीजन तथा लोकतान्त्रिक मूल्य र संस्कारलाई आत्मबोध गर्ने सबैको चासो र सरोकार रहला । 

राष्ट्रिय मेलमिलापको आवश्यकता र सान्दर्भिकतालाई आत्मसात् गर्दै जननेता बिपीले राष्ट्रिय मेलमिलाप तथा एकताको नीतिको सबल व्याख्या र उपयोग गर्नुभयो । त्यसको पदचापको अनुकरण र व्यावहारिक उपयोगका सान्दर्भिकताको धरातलमा राजनीतिक शक्तिकेन्द्रहरूले दीर्घकालीन सोच र जनमतको प्रतिबिम्बलाई मुखरित गर्ने दिशामा ठोस कार्य हुने विश्वास लिन सकिन्छ । स्थायित्व, संघीयताको सफलताको प्रतिबिम्ब तथा आर्थिक सामाजिक, सांस्कृतिक रूपान्तरणका दिशामा मुलुकलाई अघि बढाउन एकता र सहकार्य नै प्राथमिक तत्व हो । जनताले दिगो विकास तथा स्थायित्वको अभिलाषा राखेका छन् । यस दिशातर्फ मेलमेलाप दिवस मनाउँदै गरेको आजको कांग्रेस नेतृत्वले पाइला चाल्न सक्ला त? 
(मानवशास्त्री कार्की अधिवक्ता हुन्)

सुझावित समाचार