सशस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज भएको पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपिएफ क्लबले प्रतियोगिताको फाइनलमा पुगेको हो।
जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको कोशी निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमा समेटियो । कोशीका लागि अप्सरी बेगमले ४८ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ३१ रन बनाइन् ।
यस्तै, रुविना क्षेत्रीले २६ बलमा ४ चौकासहित २२ रन बनाइन् भने काजोल श्रेष्ठ ४ रनमा आउट भइन् । लकिता राजवंशीले १४ तथा विमला मलहाले ६ रन बनाइन् । जितका लागि यति रन पर्याप्त भएन ।
बलिङतर्फ एपिएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले समान एक–एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ३९ रनको विशाल योगफल बनाएको थियो । एपिएफका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन् । ५० बलमा एक चौका र एक छक्का प्रहार गरेकी उनी अविजित रहिन् ।
सीता रानामगरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ४५ रनमा रन जोडिन् भने रोमा थापाले १८ रन र ज्योति पाण्डेले १२ रनको योगदान दिए ।
कोशीका लागि रुविना क्षेत्रीले एक विकेट लिइन् । यो हारसँगै कोशीले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर भोलि खेल्नेछ । दोस्रो एलिमिनेटर खेलमा अहिले बागमती र सुदूरपश्चिम प्रदेश भिडिरहेका छन् ।

