सात महिनाको अवधिमा सबै कम्पनीले पाएका थिए सेयर निष्कासनको अनुमति
प्रिमियम मूल्यमा (अंकित मूल्यभन्दा बढी) आइपिओ (सार्वजनिक निष्कासन) गरेका नौवटा कम्पनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्ने भएका छन् । सार्वजनिक लेखा समितिले तीन वर्षभित्र प्रिमियममा जारी भएका कम्पनीहरूको विषयमा छानबिन गर्न अख्यिारलाई निर्देशन दिएसँगै सो अवधिमा प्रिमियममा जारी भएका नौ कम्पनी छानबिनको दायरामा पर्ने भएका हुन् ।
धितोपत्र बोर्डका अनुसार तीन वर्षयता प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने कम्पनीमा घोराही सिमेन्ट, आइएमई लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, भगवती हाइड्रो डेभलपमेन्ट, मान्डु हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, सोनापुर मिनरल्स, हिमालयन रिइन्स्योरेन्स रहेका छन् । यी कम्पनीले गत ०८० वैशाखदेखि मंसिरभित्रै आइपिओ निष्कासन गर्ने अनुमति पाएका हुन् । बोर्डका अनुसार शिवम् सिमेन्टको ०७५ मा प्रिमियममा आइपिओ निष्कासन गरेपछि करिब पाँच वर्ष अन्य कम्पनीले प्रिमियमा आइपिओको निष्कासन अनुमति पाएका थिएनन् । तर, ५ फागुन ०७८ को मन्त्रिपरिषद् बैठकबाट धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्ति भएर आएसँगै प्रिमियममा आइपिओ निष्कासनको लहर नै चल्यो ।
प्रिमियमको अनुमति पाएका आठ कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भइसकेका छन् । तर, प्रिमियम जारी गरेका कम्पनीको सेयर मूल्य मध्यम नै रहेको छ । त्यस्तै, हाल हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर बाँडफाँड मात्र भएको छ भने दोस्रो बजारमा सूचीकृत भई कारोबार हुन बाँकी छ ।
बिमा कम्पनी मात्रै पाँचवटा प्रिमियममा निष्कासन
प्रिमियममा सेयर निष्कासन गर्ने नौ कम्पनीमध्ये पाँचवटा बिमा क्षेत्रका रहेका छन् । हिमालयन रि–इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स रहेका छन् । बिमा कम्पनीहरूले कम्पनी स्थापना गर्दा नै ३० प्रतिशत प्रतिसेयर सर्वसाधारणका लागि संरक्षित गरेका कारण अंकित मूल्यभन्दा बढीमा सेयर जारी गर्न अनुमति दिनु बिमा ऐनको विपरीत भएको भन्दै लेखा समितिले चासो देखाएको छ । बिमा ऐन, २०७९ मा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि बिमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयर अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ ।’
लेखा समितिले बिमा प्राधिकरणलाई अंकित मूल्यभन्दा बढीमा आइपिओ निष्कासन गर्नेलाई सच्याउन निर्देशन दिएको छ । समितिको निर्देशनपछि प्रिमियममा सेयर निष्कासन गरेका कम्पनीले लगानीकर्ताको पैसा फिर्ता गर्ला भन्ने कतिपयले चासोसमेत राखेका छन् । तर, नेपाल बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले निष्कासन भइसकेको कम्पनीको रकम फिर्ता नहुने, तर अब जारी हुने कम्पनीको प्रिमियममा सेयर निष्कासनमा रोक लाग्न सक्ने बताए । उनले भने, ‘यतिको रकम अब कसरी पैसा फिर्ता होला र ? बरु अब जारी हुने कम्पनीको अंकित मूल्यभन्दा बढीमा सेयर निष्कासनचाहिँ रोकिन्छ ।’ लेखा समितिको पत्र अहिलेसम्म नआइसकेको हुँदा यस विषयमा निर्णय हुन बाँकी रहेको उनले बताए ।