प्रो क्लब च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगिताको आजको पहिलो खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरीलाई २६ रनले पराजित गरेको छ।
नारायणी रंगशालामा भएको खेलमा सशस्त्र प्रहरी १९ ओभरमा ८८ रन बनाएर अलआउट भएपछि आर्मी २६ रनले विजयी भएकाे हो।
खेलमा सशस्त्रका कप्तान प्रदीप ऐरीले ३३ बलमा २९ रन बनाए। लोकेश बमले १९ बलमा १६ र आसिफ शेखले १७ बलमा १२ रन जोडे। आर्मीका बलर कुशल मल्लले एक्लै पाँच विकेट लिए। उनले चार ओभरमा १८ रन मा दिए।
यस्तै, साहब आलमले चार ओभरमा सात रन दिएर एक विकेट पाए। सोमपाल कामी, विवेक यादव र बसिर अहमदले एक–एक विकेट पाए।
कामीले तीन ओभरमा आठ रन, विवेकले दुई ओभरमा १३ रन र बसिरले चार ओभरमा २५ रन खर्चिए। यसअघि त्रिभुवन आर्मीले सशस्त्र प्रहरीलाई एक सय १५ रनको लक्ष्य दिएको थियो।
खेलमा पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १४ रन बनाएको हो। खेलमा आर्मीका खेलाडी सन्तोष कार्कीले सर्वाधिक ३१ बलमा ३२ रन बनाए।
यस्तै, कुशल मल्लले २३ बलमा २२ रन बनाए भने सन्दीप रजालीले १३ बलमा १६ र विनोद भण्डारीले १७ बलमा १० रन बनाए।
सशस्त्रका बलर अमरसिंह रौटेलाले चार ओभरमा ११ रन खर्चिएर पाँच विकेट लिए। अर्को बलर हरिशंकर साहले चार ओभरमा १९ रन खर्चिएर दुई विकेट लिए। अविनाश बोहोराले चार ओभरमा २६ रन दिएर एक विकेट लिए।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोयडाले प्रतिस्पर्धा गर्दै छन्। आज दिउँसो १ बजे हुने दोस्रो खेलमा वन्डर क्लब नोयडा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।