सूर्य नेपाल एनपिजिए म्याच प्ले आजदेखि

शीर्ष खेलाडी नहुँदा अर्डर अफ मेरिटको उत्कृष्ट २० स्थानसम्म पर्न सफल खेलाडीले प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछन्

बुधबार, ११ पुष, २०८०
डिजिटल संस्करण

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले बुधबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ । सिजनको कुल आठमध्ये यो प्रतियोगितामा गत सिजन‌ अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउनेछन् । यसपटक नेपाल नम्बर एक शुक्रबहादुर राईसँगै उत्कृष्ट १६ मा पर्ने चार खेलाडीले सहभागिता जनाउनेछैनन् । यही कारण अर्डर अफ मेरिटको उत्कृष्ट २० सम्म पर्न सफल खेलाडीले यो प्रतियोगितामा दाबेदारी प्रस्तुत गर्नेछन् । शुक्रसँगै १४औँ बरीयताका टंकबहादुर राई, १५औँ बरीयताका बलभद्र राई र १६औँ बरीयताका कमल तामाङले व्यक्तिगत कारण नखेल्ने भएका हुन् । 

चार खेलाडीले नाम फिर्ता लिँदा अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहेका भुवन नगरकोटी शीर्ष खेलाडी रूपमा रहने छन् । १७औँ बरीयताका दीपक मगर, १८औँ बरीयताका तोरणविक्रम शाही, १९औँ बरीयताका प्रदीपकुमार लामा र २०औँ बरीयताका रामकृष्ण श्रेष्ठले म्याच प्लेमा स्थान बनाएका छन् । म्याच प्लेको ड्रअनुसार भुवन नगरकोटीले पहिलो चरणमा २०औँ बरीयताका रामकृष्ण श्रेष्ठसँग खेल्नेछन् । तेस्रो बरीयताका नीरज तामाङको सामना १९औँ बरीयताका प्रदीपकुमार लामासँग हुनेछ । साबिक विजेता तथा चौथो बरीयताका दिनेश प्रजापतिले १८औँ बरीयताका तोरणविक्रम शाहीसँग खेल्नेछन् । 

पहिलो चरण विजेता क्वार्टरफाइनलमा पुग्ने
१७औँ बरीयताका दीपक मगरले पाँचौँ बरीयताका जयराम श्रेष्ठलाई प्रतिद्वन्द्वीका रूपमा पाएका छन् । यसैगरी, पहिलो चरणकै अर्को खेलमा छैटौँ बरीयताका सञ्जय लामा र १३औँ बरीयताका शिवराम पौडेलबीच प्रतिस्पर्धा हुनेछ । सातौँ बरीयताका रवि खड्काको सामना १३औँ बरीयताका रमेश अधिकारीसँग हुनेछ । अर्को खेलमा आठौँ बरीयताका रामे मगर र ११औँ बरीयताका सूर्यप्रसाद शर्माबीच क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । 

पहिलो चरणका विजेता आठ खेलाडी क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । क्वार्टरफाइनल बिहीबार र सेमिफाइनल शुक्रबार हुने आयोजकले जनाएको छ । पहिलो चरणदेखि तेस्रो स्थानको खेल १८ होलको हुनेछ । शनिबार हुने फाइनल खेल ३६ होलको हुनेछ । खेलाडीहरूले कुल दुई लाख ५० हजार नगद पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले ६० हजार र दोस्रो हुने खेलाडीले ४२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने खेलाडीले ३२ हजार र चौथो हुने खेलाडीले २४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

नेपाल पिजिएका अध्यक्ष रवीन्द्रमान  श्रेष्ठले व्यावसायिक गल्फमा निरन्तर सहयोग गरेकोमा प्रमुख प्रायोजक सूर्य 
नेपाल प्रालिलाई धन्यवाद दिए । उनले भने, “सूर्य नेपाल प्रालिको सहयोगविना यो टुर यहाँसम्म आउन सक्ने थिएन । नेपालमा गल्फ क्रमशः विकास भइरहेकोछ र सूर्य नेपाल म्याच प्ले प्रतिस्पर्धात्मक हुनेछ भन्ने विश्वास लिएको छु ।’ 

सुझावित समाचार