गोलरक्षक मोहमद टाहाले पोखरा थन्डर्सका मोसेस ग्यावा र आयुष घलानको पेनाल्टी रोक्दै धनगढी एफसीले लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार धनगढी र पोखराबीचको पहिलो प्ले अफ निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा २–२ को बराबरी भएपछि फाइनल पुग्ने टोलीको छिनाफानो पेनाल्टी सुटआउटमा भएको हो । टाइब्रेकरमा लेबनानी गोलरक्षक टाहा नायक भए । उनकै उत्कृष्ट प्रदर्शनमा धनगढीले पोखरालाई ४–३ ले स्तब्ध पार्दै अन्तिम दुई स्थान सुरक्षित गर्यो ।
पोखरालाई फाइनल स्थान बनाउन दोस्रो अवसर छ । मंगलबार हुने काठमाडौं रेन्जर्स र ललितपुर एफसीबीचको विजेताविरुद्ध पोखराले प्रतिस्पर्धा गर्नेछ । धनगढीका गोलरक्षक टाहाले धनगढीके दुई पेनाल्टी छेकेका थिए । तीन वर्षअघि दशरथ रंगशालामै भएको पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । ‘पहिलो संस्करणको फाइनलमा पराजित भएसँगै हामीले अर्काे संस्करण फाइनल जित्न तयारी गरेका थियौँ, व्यवस्थापन सबै चुस्त थियो, त्यसैको नतिजा, खेलाडीको मिहिनेतले लगातार अन्तिम दुई स्थान बनाएका छौँ,’ धनगढीका प्रशिक्षक युगलकिशोर राईले खुसी हुँदै भने, ‘हामी यो जितको हकदार हौँ । भगवान्को पनि साथ रह्यो । फुटबलमा धेरैपटक कमब्याक गर्न गाह्रो हुन्छ ।’
पोखराका प्रशिक्षक नवीन न्यौपानले उच्च मनोबलका साथ दोस्रो क्वालिफायर्स खेल्ने र धनगढीलाई नै फाइनलमा हराउने योजना रहेको बताएका छन् । ‘आज जितेर चार दिन विश्राममा बस्ने योजना थियो । आफ्नै गल्तीले हारेका छौँ । धेरैपटक अवसर र अग्रता बनायो,’ दुईपटक खेलमा अग्रता लिए पनि रक्षा गर्न नसक्दा पोखराका प्रशिक्षक न्यौपानेले भने, ‘खेलाडीको मनोबल उच्च बनाउँछौँ । अब एक अवसर छ । फाइलन खेल्नेमा विश्वस्त छौँ ।’
टाइब्रेकरमा गोलरक्षक टाहा नायक
टाइब्रेकरमा धनगढीका लेवनानी स्ट्राइकर अहमद हिजाजीको पेनाल्टी रोक्दै गोलरक्षक प्रिसो एनजांगाले पोखरालाई अग्रता दिलाएका थिए । तर, धनगढीका टाहाले पोखराको अन्तिम दुई पेनाल्टी बचाउँदै टोलीलाई सनसनी जित दिलाए । घानाका स्ट्राइकर मोसेस र नेपाल राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुषको प्रहार टाहाले सहजै रोके । मोसेस प्रतियोगितामा पाँच गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन् । यसअघि पहिलो पेनाल्टी धनगढीले प्रहार गरेको थियो । रिचार्ड ओसेई र फोडे फोफानाको गोल हुँदा हिजाजीको प्रहार प्रिसोले बचाए । चौथो प्रहारमा आएका आशिष चौधरी र पाँचाैँ प्रहार गर्न आएका देवेन्द्र तामाङले गोल गरे ।
पोखराबाट पहिलो प्रहारमा कप्तान दिनेश राजवंशी, दोस्रोमा एन्जल महर्जन र तेस्रोमा सुरजजिउ ठकुरी सफल भएका थिए । तर, चौथो प्रहार गर्न आएका मोसेसको प्रहार प्लेयर अफ दी म्याच टाहाले रोके । टाहा तेस्रोपटक प्लेयर अफ दी म्याच भएका हुन् । यसपछि धनगढीको सास फर्किएको थियो । देवेन्द्रको प्रहार गोल हुँदा धनगढीका समर्थक र बेन्चबाट ठूलै हुटिङ आएको थियो । आयुषको पेनाल्टीमा चुक्दा पोखराका खेलाडी स्तब्ध भए । धनगढीका समर्थन खुसी मनाउन मैदान नै प्रवेश गरेका थिए । ‘आयुषले राम्रो गोल गर्न खोजेको हो । तर, त्यही निकै कमजोर भयो । त्यो गोल भएको भए आयुष हिरो हुन्थ्यो,’ पोखराका प्रशिक्षक न्यौपानेले भने । धनगढीका प्रशिक्षक राईले आयुष राम्रो खेलाडी भएको भन्दै उनलाई नेपाली लियोनल मेसी नाम लिए ।
पोखराको लगातार अग्रता
निर्धारित र अतिरिक्त समयका खेलमा पोखराले दुई–दुई पटक पोखराले अग्रता बनाएको थियो । तर, पोखराले आफ्नै रक्षकको गल्तीका कारण दुई गोल व्यहोर्न पुगेको थियो । पोखराकाका लागि आयुष र फ्र्यांकलिन टलाले गोल गरे । धनगढीबाट कप्तान देवेन्द्र तामाङ र हिजाजीले गोल फर्काएका हुन् । खेलको पाँचौँ मिनेटमा आयुषको गोलबाट पोखराले १–० को अग्रता बनायो । मोसेसको क्रसलाई धनगढीको मार्की आशिषले क्लियर गर्न नसक्दा आयुषले बक्सभित्रबाट सहज गोल गरेका हुन् ।
खेलको ५४औँ मिनेटमा कप्तान देवेन्द्रले धनगढीलाई १–१ को बराबरीमा फर्काए । अर्का रक्षक कमल श्रेष्ठले राइट साइडबाट गरेको क्रसमा देवेन्द्रले सुन्दर हेडिङ गोल गरे । निर्धारित समय बराबरी भए पनि अतिरिक्त समय थपिएको थियो । खेलको १०२औँ मिनेटमा टलाले गोल गरे । सुरजजिउ ठकुरीको फ्रिकिक प्रहारलाई आइकोनिक कप्तान दिनेशले हेडिङ गरे । दिनेशको हेडिङ बललाई गोलरक्षक टाहाले नियन्त्रणमा लिन सकेनन् ।
रिबाउन्ड बललाई मोसेसले हेडिङ गोल गरे । खेलको १२०औँ मिनेटमा हिजाजीले धनगढीलाई गोल गर्दै खेलमा फर्काएका हुन् । हिजाजीले दोस्रोपटकको प्रयासमा बराबरी गोल फर्काए । यसअघि दुवै टोलीका गोलरक्षकले उत्कृष्ट बचाउ र प्रदर्शन गरेका थिए ।
आफ्नै गल्तीले अग्रता गुमायौँ
नवीन न्यौपाने, प्रशिक्षक, पोखरा
अग्रता जोगाउन सकेनौँ । यही घातक भयो । हामीहरूकै असाधारण गल्तीले गर्दा गोल भयो । धेरै अवसर भयो तर, गोल भएन । डिफेन्समा गल्ती हुँदा गोल भयो । अन्तिम समयमा गोलरक्षकले चाँडै बल प्ले गर्दा आफैँलाई घाटा भयो । आज धनगढीकै दिन रहेछ । आयुषले पेनाल्टी एकमद इजी भयो । गोल भएको भए उनी हिरो हुन्थे । हामीलाई एक चान्स छ । धनगढीसँगै फाइनल खेल्छौँजस्तो लाग्छ ।
यस्तो कमब्याक गर्न धेरै गाह्रो हुन्छ
युगलकिशोर राई, प्रशिक्षक, धनगढी
प्रावधिक रूपमा दुवै टोलीलाई यो खेलले गाह्रो भयो । निर्धारित समय र पेनाल्टीमा पनि पछि परेका थियौँ । हामीलाई खेल्न गाह्रो भए पनि समर्थकका लागि यो खेल निकै राम्रो भयो । फुटबलमा यस्तो कमब्याक गर्न निकै गाह्रो हुन्छ । अन्तिम सम्म खेलाडीले फाइट गरे ।
हामी डिजर्भ गर्छौँ । आज खेलाडीको जित भएको छ । मलाई बक्स आक्रामक भएको मन पर्छ । पछिल्लोपटक काठमाडौंसँग पराजित भएपछि फेरि पनि फाइनल खेल्ने योजना बनाएका थियौँ । त्यसमा सफल भयौँ । आयुष नेपाली मेसी हो । गोल राम्रो गर्न खोजेको हो ।