प्रहरीले चेकजाँचको क्रममा सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका– ५ खैरबोना चोकबाट प्रतिबन्धित लागुऔषधसहित उदयपुरका दुई युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार उदयपुरको त्रियुगा नगरपालिका– ९ सयपत्री रातोमाटेका १९ वर्षीय चूडामणि राय र वडा नम्बर १० का ३३ वर्षीय जितबहादुर कटुवाललाई चेकजाँचको क्रममा आइतबार साँझ पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूको साथबाट ७०–७० एम्पुल डाइजेपाम, फेनारगन तथा नुरफिन बरामद भएको सिराहा प्रहरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिए। उनका अनुसार लागुऔषधसहित पक्राउ गरिएकाहरूलाई लहान प्रहरीमा राखेर अनुसन्धान थालिएको छ।