दोस्रो संस्करणको नेपाल सुपर लिगको पहिलो क्वालिफायर्समा सोमबार पोखरा र धनगढीले प्रतिस्पर्धा गर्दै छन् । यस खेलको विजेता सीधै फाइनलमा पुग्नेछ । तेस्रो स्थानमा रहेको काठमाडौं र चौथो स्थानको ललितपुरबीच इलिमिनेटर खेल हुनेछ । विजेताले पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नेछ भने पराजित हुने टोलीको फाइनल पुग्ने आशा समाप्त हुनेछ । प्ले अफमा स्थान बनाएका चारै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । पहिलो क्वालिफायर्सअघि चारै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्न सबै प्रयास गर्ने जनाएका छन् ।
नौ टोली सहभागी प्रतियोगितामा पोखरा थन्डर्स शीर्ष स्थान, साबिक उपविजेता धनगढी एफसी दोस्रो, साबिक विजेता काठमाडौं रेन्जर्स तेस्रो र ललितपुर सिटी एफसीले चौथो स्थानमा रहँदै प्ले अफमा स्थान बनाएका हुन् । काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले पछिल्लो खेलमा खेलाडीले उच्च प्रदर्शन गरिरहेको र कमजोरी सुधार्दै ललितपुरसँग खेल्ने बताएका छन् । महर्जनले उपाधि रक्षा गर्न टोली तयार रहेको जनाए । ‘हाम्रो मुख्य लक्ष्य उपाधि रक्षा गर्ने हो, यस यात्रामा खेलाडीले मिहिनेत गरेका छन्,’ महर्जनले भने । तीन वर्षअघि भएको फाइनलमा काठमाडौंले धनगढीलाई १–० ले हराएको थियो ।
काठमाडौं पहिलो क्वालिफायर्समा धनगढीसँग २–१ ले पराजित भए पनि दोस्रो क्वालिफायर्समा ललितपुर सिटीलाई ३–० ले हराउन सफल भएको थियो । तेस्रो पहेँलो कार्डका कारण काठमाडौंका उज्वेकिस्तानी मिडफिल्डर टोजिडिनोभ कोमिवोनले ललितपुरविरुद्धको खेल गुमाउनेछन् । काठमाडौंका कप्तान अञ्जन राईले साबिक विजेता भएको र च्याम्पियन बन्न अगाडि बढ्ने बताए । ‘वीरगन्जसँग पराजित हुँदा दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सकेनौँ, हामी उपाधि रक्षा गर्न तयार छौँ,’ राईले भने ।
इलिमिनेटरमा ललितपुरले पछिल्लो खेलमा गरेको खराब प्रदर्शन नदोहोर्याउने र स्कोरिङमा ध्यान दिने योजना बनाएको छ । मार्की तथा कप्तान अनन्त तामाङले पछिल्लो चार खेलमा राम्रो नभएको बताए । ‘पछिल्लो चार खेल सोचेजस्तो भएन, सुधार गर्दै गोल निकाल्न चाहन्छौँ,’ तामाङले भने । ललितपुरका अस्ट्रेलियन प्रशिक्षक इआन आन्द्रे गिलानले सकारात्मक ऊर्जाका साथ खेल्ने बताएका छन् । यसैगरी पोखराका प्रशिक्षक नवीन न्यौपाने र धनगढीका प्रशिक्षक युगलकिशोर श्रेष्ठले पनि ‘गर या मर’ स्थितिमा रहेको जनाए ।
पोखरा र धनगढी फाइनलको लक्ष्यसहित आज भिड्दै
पहिलोपटक प्ले अफ खेलिरहेको पोखरा र धनगढीसमक्ष फाइनल पुग्ने दोस्रो अवसर छ । यद्यपि, खेललाई दुवैले गर या मरको स्थितिमा लिएका छन् । धनगढीका प्रशिक्षक युगलकिशोर राईले सहभागी सबै टोली बलियो रहेको जनाए । ‘प्ले अफ खेल्ने चारै टोली बलिया छन्, मध्यम स्थानका टोलीले पनि शीर्ष टोलीलाई हराए,’ राईले भने, ‘हामीले झापासँग जुन प्रदर्शन गरेका थियौँ, त्यो भने बिर्सन सक्दैनौँ, यसपटक उपाधि लिएरै फर्कन्छौँ ।’
धनगढीका कप्तान देवेन्द्र तामाङले पोखरालाई कमजोर रूपमा नलिने बताए । ‘पोखरालाई सहज रूपमा लिएका छैनौँ,’ उनले भने । प्रतियोगितामा धनगढीका स्ट्राइकरद्वय आफिज ओलावाले ओलादिपोले तीन र अहमद हिजाजीले दुई गोल गरेका छन् । आशिष चौधरी मार्की रहेको धनगढीका लागि फोडे फोफाना, फालोउ डिआग्ने, रिचार्ड ओसेइ, कमल श्रेष्ठ, रामचन्द्र वाजी, रोहन कार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । लिगमा धनगढी र पोखराले १–१ को बराबरी खेलेका थिए । पोखराका मोसेस ग्याबा ट्वुम पाँच गोल गरेर उच्च लयमा छन् ।
आयुष घलान मार्की रहेको पोखराका लागि आइकोनिक खेलाडी दिनेश राजवंशीसँगै जोय आइडु, दीपेश आलेमगर, स्टेफन कोजो पापा, सुरजजिउ ठकुरी, एञ्जल महर्जन, फ्र्यांकलिन टला, गोलकिपर प्रिसो एनजान्गा र पदम भट्टराईले राम्रो खेल खेलिरहेका छन् । पोखराका प्रशिक्षक नवीनले शीर्ष चार टोली नै बलियो भएको र पहिलो क्वालिफायर्समा गर या मरको स्थितिमा रहेको बताए । ‘शीर्ष चार टोली सबै बलिया छन् । धनगढीविरुद्ध गर या मर स्थितिमा छौँ,’ उनले भने ।
धनगढीका आइकोनिक तथा कप्तान दिनेशले लिग चरणमा धेरै खेलाडीले विश्राम पाएको र कमजोर सुधार गर्दै खेल्ने बताए । ‘शीर्ष स्थानमा रहेर यहाँ पुगेका हौँ, पछिल्लो खेलमा धेरै खेलाडीले विश्राम पाएकाले पनि धनगढीविरुद्ध खेल्न सहज हुनेछ,’ उनले भने । उनी लिग खेल्न नै अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन् ।
सबै बलिया छन्
युगलकिशोर राई, प्रशिक्षक, धनगढी
आजको खेल महत्वपूर्ण छ । नेपाली फुटबलमा यस्तो किसिमको फुटबल देखेको छैन । कोही पनि कमजोर छैनन् । कसले कसलाई पराजित गर्छ भन्न सकिँदैन । यो नेपाली फुटबलका लागि राम्रो संकेत हो । गत संस्करणको फाइनलमा हारेका थियौं । यसपटक उपाधि जितेर फर्कनेछौँ ।
धनगढीविरुद्धको खेल महत्वपूर्ण छ
नवीन न्यौपाने, प्रशिक्षक, पोखरा
प्ले अफमा पुगेका चार टिमलाई बधाई छ । धनगढीविरुद्ध भाइटल खेल हो । सबै बलिया नै छन् । प्ले अफसम्म सबै टोली सेट भइसकेका छन् । प्ले अफ भनेको गर या मर हो । प्राप्त अवसर सदुपयोग गर्ने टोली नै विजयी हुनेछ । खेलाडीले विश्राम पाएकाले पनि सबै फ्रेस छन् । टोलीमा चोटको कुनै समस्या छैन ।
अतिरिक्त ३० मिनेटपछि पेनाल्टी सुटआउट हुने
लिग चरणमा सबै खेल निर्धारित ९० मिनेटको थियो । प्ले अफदेखि निर्धारित र अतिरिक्त ३० मिनेटको खेलमा नतिजा नआए पेनाल्टी सुटआउटमा हुनेछ । प्राविधिक संयोजक सञ्जीव मिश्रले प्रतियोगिताको नियमावलीअनुसार निर्धारित ९० मिनेटपछि ३० मिनेट थप्ने र त्यसमा पनि बराबरी भए पेनाल्टी सुटआउटमा पुग्ने बताएका छन् ।