सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका उद्योगपति विनोद चौधरीसँग छलफल गरेको छ।
लगानी सम्मेलनलाई सफल बनाउन मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेश शाहीलगायतको टोलीले आइतबार काठमाडौंमा कांग्रेस नेता चौधरीसँग छलफल गरेको हो।
मुख्ममन्त्री शाहले लगानी सम्मेलनका बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा लगानीका लागि चौधरीलाई आग्रह गरे। उनले लगानीका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए।
‘सुदूरपश्चिममा लगानी गर्दा फाइदा हुन्छ र भन्ने सोच उद्योगी व्यापारीमा पायौँ। यति मात्रै होइन, बैंकहरूले पनि लगानी गर्न चाहिरहेका छैनन्,’ उनले भने, ‘लगानी भित्र्याउन प्रदेश सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार छौँ। बाटो, पानी, बिजुली र जग्गा उपलब्ध गराउँछौँ। त्यसका लागि तपाईंबाट पनि प्रत्यक्ष संलग्नताको अपेक्षा गरेका छौँ।’
उनले संघीय सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश सरकारलाई काम गर्न केही कठिनाइ भए पनि प्रदेश सरकारका तर्फबाट उद्योगी व्यापारीलाई लगानी गर्न कुनै अप्ठ्यारो नपार्ने प्रतिबद्धता जनाए।
‘हामी अधिकारका लागि संघीय सरकारसँग लडिरहेकै छौँ। जसरी हुन्छ संविधानले दिएको अधिकार प्रदेशले पाउन हामी निरन्तर संघसँग संवादमा छाैँ,’ उनले थपे, ‘तपाईंले व्यक्तिगत र अन्य देशभित्र र बाहिरका लगानीकर्तालाई सुदूरपश्चिममा लगानीका लागि आकर्षित गर्न सहयोग गरिदिनुस्।’
कांग्रेस नेता एवं उद्योगपति चौधरीले सुदूरपश्चिम अत्यन्तै सम्भावना बोकेको क्षेत्र भए पनि सरकारकै कारण पछाडि पारिएको बताए। उनले लगानी सम्मेलनबाट लगानी आकर्षित हुने गरी प्रस्ट दृष्टिकोण र नीति ल्याउन सरकारलाई आग्रह गरे।
‘सुदूरपश्चिमलाई विशेष आर्थिक जोनका रूपमा विकास गर्न सकिन्छ, त्यो कुरा तपाईंहरूले बनाउने नीतिमा भर पर्छ, कुनै पनि व्यापारीले किन सुदूरपश्चिममा लगानी गर्ने भन्ने कुरा सरकारले बनाउने नीतिले तय गर्छ,’ उनको सुझाव थियो, ‘त्यहाँका सम्भावना के हुन्, त्यसका लागि प्रदेश सरकारले कस्तो सहुलियत दिन्छ भन्ने कुराले नै लगानीको वातावरण बनाउने हो। बाहिरी मुलुकको पनि अध्ययन गर्नुस् र एउटा स्पष्ट नीति बनाउनुस्।’
उनले जडीबुटी, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा ध्यान दिन मुख्यमन्त्रीसहितको टोलीलाई आग्रह गरे । आफ्नो पनि रोजाइमा सुदूरपश्चिम प्रदेश रहेकाले त्यसका लागि सरकारको नीति पर्खिरहेको सांसद चौधरीले बताए।
प्रदेश सरकारका भौतिक योजनामन्त्री प्रकाश देउवाले लगानीकर्ताका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको जनाए। उनले अन्तर्राष्ट्रिय रूपमै ख्याति प्राप्त व्यक्ति चौधरीलाई सम्मेलनमा विदेशी लगानीकर्ता ल्याउन सहजीकरण गरिदिन आग्रह गरे।