दुर्गम जान मान्दैनन् चिकित्सक

सरकारी छात्रवृत्तिमा पढेर दुर्गममा दुई वर्ष सेवा गर्नुपर्ने चिकित्सकको रोजाइ बागमती प्रदेश र सहरका अस्पताल

शनिबार, ७ पुष, २०८०
डिजिटल संस्करण

तीन महिनादेखि तलब–भत्ता नपाएको भन्दै २९ मंसिरमा सिन्धुली अस्पतालमा कार्यरत १४ जना स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाए । असोजदेखि मंसिरसम्म पारिश्रमिक र दसैँ–तिहारको चाडबाड खर्च सुविधा नपाएकाले दैनिक गुजारा चलाउनसमेत कठिन भइरहेको भन्दै उनीहरूले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई पत्र पठाएका थिए । पत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीले तलब समयमा नपाउँदा दैनिकीमै समस्या भइरहेको भन्दै यथाशीघ्र हालसम्मको पारिश्रमिक, दसैँ–तिहार चाडबाड खर्च उपलब्ध गराइदिन र नियमित तथा सहज रूपमा पारिश्रमिकको समेत व्यवस्था गरिदिन उल्लेख थियो । 

अस्पतालले समयमा तलब उपलब्ध गराउन नसकेका कारण संघीय मन्त्रालयलाई गुहार्नुपरेको छात्रवृत्तिका चिकित्सक डा. प्रेरित देवकोटाले गुनासो गरे । ‘असोजदेखि तलब आएको छैन, मन्त्रालयअन्तर्गत नै खटिएकाले सुविधा उपलब्ध गराइदिन पत्र पठाएका हौँ,’ उनले भने । तर, छात्रवृत्तिका चिकित्सकलाई तलब दिने जिम्मेवारी प्रदेश सरकारको भएको भन्दै स्वास्थ्य मन्त्रालयले बागमतीको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको सूचना दियो । 

सिन्धुलीका चिकित्सकले समयमा तलब नपाएको विषयमा नीति तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले भने, ‘हामीले छात्रवृत्तिका चिकित्सकका लागि नियमित तीन करोड बजेट पठाउँदै आइरहेका छौँ । यदि सो बजेट अपुग भएमा प्रदेशले संघलाई सूचित गर्नुपर्ने हो । यस विषयमा बागमती प्रदेश मन्त्रालयसँग कुरा गरिसकेका छौँ ।  

तर, अस्पतालमा कार्यरत चिकित्सकलाई तलबका लागि प्रदेशबाट बजेट नआएकाले तलब दिन नसकिएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उमेश प्रधानले बताए । ‘हामीसँग १२ जना डाक्टर र दुईजना अन्य स्वास्थ्यकर्मी छात्रवृत्तिबाट कार्यरत छन् । तर, उनीहरूको तलब–भत्ताका लागि नियमित बजेट नआउँदा समस्या भएको हो । प्रदेशबाट समयमा बजेट नआएपछि चिकित्सकहरूले संघीय मन्त्रालयलाई पत्र पठाएका हुन् ।’ 

सिन्धुलीमा मात्रै नभई छात्रवृत्तिमा पढेर दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने अधिकांश चिकित्सक बागमती प्रदेश र अन्य सहरी क्षेत्रमा मात्रै काम गरिरहेका छन् । छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गरेका चिकित्सक र पारामेडिक्सलाई सरकारले दुई वर्षका लागि विभिन्न प्रदेशमा खटाउँदै आएको छ । छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीले दुर्गममा गएर दुई वर्ष सेवा दिनुपर्ने नियम भए पनि स्वास्थ्यकर्मीको दुईवर्षे अवधि काठमाडौं उपत्यका र हाइवेनजिकका सहरमा रहेका स्वास्थ्य संस्थामा बित्ने गरेको छ । 

विशेषज्ञ चिकित्सक कुन प्रदेशमा कति ? 
छात्रवृत्तिमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरेका चिकित्सकमध्ये अधिकांश बागमती प्रदेशमा करार सेवाका लागि खटिने गरेका छन् । गत वर्ष सरकारले संघ र प्रदेशका अस्पतालमध्ये एक सय ५५ विशेषज्ञ चिकित्सकलाई दुई वर्षका लागि खटाएको थियो । जसमध्ये कोशीमा ३७, मधेशमा १४ र बागमतीमा ३५ जना विशेषज्ञ चिकित्सकले काम गरिरहेका छन् । गण्डकीमा २३, लुम्बिनीमा २७, सुदूरपश्चिममा १५ र कर्णालीमा चारजना चिकित्सक कार्यरत छन् । 

०७९ मै ९७ जना विशेषज्ञ चिकित्सकलाई अन्यत्रबाट बागमती प्रदेश सारिएको छ । त्यसवेला ६४ जना चिकित्सक बागमती ल्याइएको थियो । यसबाहेक कोशीमा १०, मधेशमा चार, गण्डकी नौ, लुम्बिनी दुई, सुदूरपश्चिम ६ र कर्णालीमा दुईजना चिकित्सकलाई अन्यत्रबाट ट्रान्सफर गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । दुईवर्षे करार सेवा अवधिमध्ये पनि एक वर्ष सुगममा काम गर्न सकिने मापदण्डअनुसार यी चिकित्सकलाई सुगम ट्रान्सफर गरिएको हो । 

यस्तै, छात्रवृत्ति करार सेवाअन्तर्गत ०७८ मा दुई सय १९ विशेषज्ञ दुर्गम खटाइएकोमध्ये ५० जना बागमतीमा छन् । कोशीमा ४८, मधेशमा ३३, गण्डकीमा ३०, लुम्बिनीमा ३३, सुदूरपश्चिममा १३ र कर्णालीमा १२ जना कार्यरत छन् । ०७७ मा करारमा खटाइएका दुई सय ४७ विशेषज्ञ चिकित्सकमध्ये एक सय ६ जना बागमती प्रदेशमा थिए । कोशीमा ४४, मधेशमा २५, गण्डकीमा २३, लुम्बिनीमा ३१, सुदूरपश्चिममा आठ र कर्णालीमा १० जना चिकित्सक खटाइएका थिए । छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकले दुई वर्ष सेवा अवधिमध्ये कम्तीमा एक वर्ष दुर्गममा सेवा गर्नुपर्ने प्रावधान छ । 

स्नातक तहका चिकित्सक पनि न्यून संख्यामा दुर्गममा खटाइयो
चालू आर्थिक वर्षमा सातौँ र आठौँ तहको पारामेडिक्स र चिकित्सक सरकारी छात्रवृत्तिमा अध्ययन सकाएका दुई सय ११ जना हाल संघ र प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थामा करार सेवामा खटिएका छन् । छात्रवृत्तिमा पढेर दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने यी चिकित्सक तथा स्वास्थ्यकर्मीसमेत सबैभन्दा बढी ८७ जना काठमाडौं उपत्यका र बागमती प्रदेशमा छन् । कोशी प्रदेशमा ३८, मधेशमा २८, गण्डकीमा १८, लुम्बिनीमा २५, कर्णालीमा १० र सुदूरपश्चिममा पाँचजना खटिएका छन् । मन्त्रालयले जनसंख्याको चाप र उपकरणसहितका अस्पताल बागमती र अझै काठमाडौंमा केन्द्रित भएकाले बढी स्वास्थ्यकर्मी खटाइएको बताउँदै आए पनि स्नातक तहका चिकित्सक दुर्गमका जिल्लामा करार सेवामा नखटाइएको पाइएको हो । 

आव ०७९/८० मा स्वास्थ्य सेवा विभागले प्रदेशमा एक सय ६ जना मेडिकल अधिकृत, फार्मेसी अधिकृत र नर्सिङ प्रमुख र दुई सय ८९ सातौँ र आठौँ तहका चिकित्सकलाई दुई वर्षका लागि करारमा खटाएको थियो । जसमध्ये ५१ जना चिकित्सक र पारामेडिक्स काठमाडौं उपत्यकामा करार सेवामा काम गरिरहेका छन् । बागमती प्रदेशमा एक सय २१, कोशीमा ४८, मधेशमा ५६, गण्डकीमा ८२, लुम्बिनीमा ५२, कर्णालीमा २९ र सुदूरपश्चिममा ३५ जना स्वास्थ्यकर्मी करार सेवाअन्तर्गत काम गरिरहेका छन् ।

चिकित्सा शिक्षा छात्रवृत्ति तथा अनुदानसम्बन्धी कार्यविधि, २०७९ अन्तर्गत बनेको चिकित्सक परिचालन निर्देशिकामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले एक–दुई वर्ष करार सेवामा काम गर्नुपर्ने उल्लेख छ । मापदण्डअनुसार स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा दुई वर्ष करार सेवामा खटाउने गरेको छ । करार सेवाको पहिलो वर्ष अनिवार्य रूपमा दुर्गममा सेवा दिनुपर्ने मापदण्ड छ । तर, अधिकांश विशेषज्ञ चिकित्सकले काठमाडौं उपत्यका र सहरकेन्द्रित अस्पतालमा सेवा दिइरहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रदेशमा मागअनुसार चिकित्सक पठाउने गरिएको र संघअन्तर्गतका स्वास्थ्य संस्थाबाहेक कुन स्थानमा खटाउने भन्ने विषय प्रदेशको भएको बताए । ‘आधारभूत, जिल्ला र प्रादेशिक अस्पतालले गरेको मागअनुसार प्रत्येक वर्ष चिकित्सकहरू करारमा पठाइने गरिएको छ । हामीले संघीय अस्पतालमा मात्रै आवश्यकताअनुसार वर्गीकरण गर्ने र बाँकी उनीहरूको मागअनुसार पठाउने गरेकाले प्रदेशअनुसार चिकित्सकको अनुपात कम बढी देखिएको हो,’ उनले भने ।

विशेषज्ञले काम गर्न सक्ने वातावरण भएका स्वास्थ्य संस्था अर्थात् अप्रेसन थियटर, इक्विप्मेन्ट र आवश्यक अन्य चिकित्सकको टोली भएको छान्दासमेत सहरकेन्द्रित स्वास्थ्य संस्थामा पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । स्नातक तहका चिकित्सक दुर्गम जिल्लामा जाने क्रम बढेको र पठाउन सजिलो भए पनि विशेषज्ञ चिकित्सकलाई दुर्गम पठाउन समस्या भइरहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । यसबाहेक जिल्लामा अस्पताल र आवश्यक उपकरण अभावमा पठाउन त्यति सजिलो नभएको र कतिपय स्थानमा विशेषज्ञ चिकित्सक जान नमान्ने भएकाले समेत बागमती र अझै काठमाडौं उपत्यकामा विशेषज्ञ थुप्रिने अवस्था निम्तिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिरामीको चाप, उपकरणसहितका ठूला अस्पताल काठमाडौं र सहरकेन्द्रित भएकाले पनि चिकित्सकको माग सहरी क्षेत्रमा बढी छ । 

सुझावित समाचार