योमरी पुन्हीका दिन भक्तपुरमा सम्पदा पदयात्रा

शुक्रबार, ६ पुष, २०८०
डिजिटल संस्करण

भक्तपुर नगरपालिकाले योमरी पुन्हीका अवसरमा १४ पुसमा सम्पदा पदयात्रा आयोजना गर्ने भएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरू अवलोकन गराउने उद्देश्यले ‘बहा, बही चिनौँ, सम्पदा संरक्षण गरौँ’ भन्ने अभियानसहित सम्पदा पदयात्रा गर्न लागेको हो । 

पदयात्राका विषयमा बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले सरोकारवालासँग छलफल गरेका छन् । सो क्रममा उनले उक्त पदयात्रामा सबै नगरवासीको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे । भक्तपुरका सम्पदा चिनाउने, त्यसबारे अध्ययन–अनुसन्धान गर्नेहरूलाई पनि अवसर दिने र नगरभरि छरिएर रहेका बहा, बहीको अवस्थाबारे अभिलेखीकरण गरी नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले सम्पदा पदयात्रा आयोजना गरिएको उनको भनाइ थियो । भक्तपुरका लोपोन्मुख कला–संस्कृति संरक्षणमा नगरपालिकाले निरन्तर जोड दिने उनले प्रतिबद्धता जनाए । 

छलफलमा भक्तपुरमा रहेका सबै बहा, बही र बिहारका प्रतिनिधिको सहभागिता थियो । उपस्थित प्रतिनिधिले पदयात्रा कार्यक्रम सराहनीय भएको र पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । १४ पुसमा हुने सम्पदा पदयात्रा भक्तपुर नगरपालिका–५, टौमढीबाट सुरु भई वडा नम्बर ७ याता गोलमढीमा पुगी सम्पन्न हुनेछ । पदयात्रा बिहान १० बजेटबाट सुरु हुनेछ । 

सुझावित समाचार