नेपाल सुपर लिगको साबिक विजेता काठमाडौं रेन्जर्सका स्वदेशी र विदेशी खेलाडीले बिहीबार वीरगन्ज युनाइेटडविरुद्ध ‘सेलफिस’ खेल देखाए । खेलाडीले स्वार्थी खेल देखाउँदा काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जन सम्भवतः करिअरकै खराब नतिजा बेहोर्न बाध्य भए । दशरथ रंगशालामा काठमाडौंले अप्रत्याशित रूपमा वीरगन्जसँग ४–१ को फराकिलो हारको सामना गर्यो । लिगकै महत्वपूर्ण खेलमा आफूले प्रशिक्षण दिएका स्वदेशी र विदेशी खेलाडीले मैदानभित्र एकआपसमा संगठित भएर नखेल्दा काठमाडौंका प्रशिक्षक महर्जन निराश देखिए । त्यसमाथि फिफा रेफ्री माधव खत्रीले ह्यान्ड नभएको अवस्थामा काठमाडौंविरुद्ध पेनाल्टी दिँदा उनलाई थप पीडा भयो ।
पोस्टम्याच कन्फ्रेन्समा प्रस्तुत हुँदा प्रशिक्षक महर्जनले खेलाडीबारे खासै प्रतिक्रिया दिएनन् । उनले हारको मुख्य कारण नै खेलाडीको स्वार्थीपन र पेनाल्टी नै मानेका छन् । ‘वीरगन्जविरुद्ध स्वदेशी तथा विदेशी खेलाडीले सेलफिस गेम देखाए, त्यसमाथि रेफ्रीले हुँदै नभएको पेनाल्टी दिए र हाम्रो पेनाल्टी मिस हुँदा खेलको रूप नै फेरियो,’ उनको पहिलो प्रतिक्रिया रह्यो, ‘मेरो करिअरमा खेलाडीको यस्तो प्रदर्शन कहिले देखिनँ ।’
अर्कोतिर वीरगन्जका प्रशिक्षक सनोज श्रेष्ठले काठमाडौंमाथि जित निकाल्ने उद्देश्य पूरा भएको प्रतिक्रिया दिए । यद्यपि, काठमाडौंका प्रशिक्षक महर्जनको आरोपलाई स्वीकार गरेनन् । रेफ्रीले पेनाल्टी दिँदा आफूहरूले नदेखेको उनको भनाइ थियो । ‘खेलाडीको अपिलमा रेफ्रीले पेनाल्टी दिए, त्यसवेला डिबक्सभित्र के भएको थियो, थाहा भएन,’ श्रेष्ठले भने, ‘हामीलाई यो खेल जित्नैपर्ने थियो ।’वीरगन्जको यो जित कति महत्वपूर्ण रह्यो भने खेलाडी तथा अफिसियलले स्पष्ट रूपमा प्रस्तुत गरेका थिए । रेफ्रीको समय समाप्त भएको घोषणापछि वीरगन्जका अफिसियल र खेलाडीले मजाले खुसी मनाए ।
वीरगन्जको प्ले अफ सम्भावना
जितले वीरगन्जको एकाएक प्ले अफ सम्भावना बलियो र हारले काठमाडौंको प्ले अफ सम्भावना कठिन बन्यो । वीरगन्ज सात खेलबाट ८ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । पाँचौँ स्थानमा रहेको काठमाडौंको ९ अंक छ । वीरगन्ज शीर्ष चारमा रहेर प्ले अफ पुग्ने होडमा उभिएको हो । तर, शीर्ष चारभित्र समावेश हुन वीरगन्जले अन्तिम खेलमा बुटवललाई हराएर मात्र पुग्दैन, अरूको नतिजामा भर पर्नुपर्छ ।
‘प्ले अफको सम्भावना जीवितै राखेका छौँ, अन्तिम खेलमा बुटवललाई हराएर काफी छैन, अरू नतिजाको पनि प्रतीक्षा गर्नुपर्छ,’ उनले भने, ‘हेरौँ सुरुमा खेल जित्छौँ, त्यसपछि अरू नतिजा पनि हेरौँ ।’ वीरगन्जसँग पराजित काठमाडौंले अन्तिम खेलमा ललितपुरलाई हराउनुपर्नेछ । जितले काठमाडौं १० अंकका साथ तेस्रो स्थानमा हुनेछ । प्ले अफमा पुग्न काठमाडौंले झापा एफसी चितवनसँग पराजित वा बराबरीमा रोकिनुपर्ने कामना गर्नुपर्छ । यी दुई नतिजाबाट मात्र काठमाडौं प्ले अफमा पुग्नेछ ।
ओपाकुको पहिलोे ह्याट्रिक
खेलमा पहिलो अग्रता काठमाडौंले लिएको थियो । खेलको २०औँ मिनेटमा काठमाडौंका एनकुनगुए जुनियरले वान टर्चमै १–० को अग्रता दिलाए । मध्यान्तरअघि वीरगन्जका दीपेन्द्र सिंहले हिसुब थपलियालाई लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । सोखरुखको पेनाल्टी वीरगन्जका गोलरक्षक दीप कार्कीले रोके । पहिलो हाफको इन्जुरी समयमा विलियम ओपाकुले पेनाल्टीमा गोल गर्दै वीरगन्जलाई १–१ को बराबरीमा पुर्याए । डिबक्सभित्र वीरगन्जका सुशील लामाले प्रहार गरेको बल बचाउने क्रममा काठमाडौंका आन्द्रेस नियाले ह्यान्ड गरे । त्यसपछि प्राप्त पेनाल्टीमा ओपाकुले सहजै गोल गरे ।
बलियो टोलीविरुद्ध गोल गरेसँगै ओपोकु लयमा देखिए । उनले दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक मात्र गरेनन, वीरगन्जलाई सानदार जितसमेत दिलाए । दोस्रो हाफमा वीरगन्ज हाबी भयो । खेलको ४६औँ मिनेटमै सुनील खड्काले वीरगन्जलाई २–१ को अग्रता दिलाए । खेलको ५६औँ मिनेटमा ओपाकुले व्यक्तिगत दोस्रो गोल गर्दा वीरगन्ज ३–१ ले अघि रह्यो । खेलको ५७औँ मिनेटमा ओपाकुले ह्याट्रिक पूरा गरे । उनले पोस्टभन्दा ३० यार्डबाट उत्कृष्ट भली गोल गरेका हुन् ।
सिलाकार र कुथूलाई कारबाही
नेपाल सुपर लिगको अनुशासन समितिले ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रवीन्द्र सिलाकालाई प्रतिबन्ध लगाएको छ । स्पोर्टिङ इलाम एफसीका कप्तान विकेश कुथूलाई जरिवाना गर्ने निर्णय गरेको छ । इलाम र वीरगन्ज युनाइटेडबीचको खेलमा रेफ्रीमाथि गाली गलौजमा उत्रिएको भन्दै कुथूलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । सो खेलमा उनले रातो कार्ड पाएका कारण एक खेल गुमाएका थिए । इलाम र ललितपुरबीचको खेलका दौरान अनुशासन उल्लंघन गरेको भन्दै सिलाकारलाई दोस्रो संस्करणमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।
उनलाई २० हजार रुपैयाँ व्यक्तिगत जरिवानासमेत गरिएको छ । सिलाकारले सहायक रेफ्री सुरोजित दासलाई अपशब्द प्रयोग गरेका थिए । नेपाल सुपर लिगको अनुशासन समितिले अखिल नेपाल फुटबल संघको अनुशासन समितिलाई घटनाको विषयमा थप अनुसन्धान गर्न आवश्यक ठाने अनुसन्धान गर्न अनुरोध गरेको छ ।
