मधेशलाई २८ रनले हराउँदै बागमतीको विजयी सुरुवात

बिहिबार, ५ पुष, २०८०
डिजिटल संस्करण

प्रधाममन्त्री कप महिला टी–२०

मधेश प्रदेशलाई २८ रनले हराउँदै बागमती प्रदेशले प्रधाममन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

जितका लागि पाएको एक सय १८ रनको लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ८९ रन मात्र बनाएपछि बागमती २८ रनले विजयी भएको हो । 

त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले चार विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । बागमतीका लागि मध्यक्रमकी ब्याटर यशोदा विष्टले ३९ बलमा अविजित ४७ रन बनाइन् । यस्तै, अश्मिना कर्माचार्यले ३१ बलमा ३० रनको योगदान दिइन् । यी दुईले ७२ रनको साझेदारी गर्दै खेलमा बागमतीलाई सुदृढ अवस्थामा पुर्याएका थिए । 

त्यसअघि १०.३ ओभरमा ४५ रन बनाउँदा बागमतीले आफ्नो महत्वपूर्ण चार ब्याटरलाई गुमाइसकेको थियो । ओपनर हेलिसा गुरुङ १२, कञ्चन श्रेष्ठ आठ, अश्मिता खरेल शून्य तथा सोनी पाख्रिन तीन रनमा आउट भए । 

मधेशका लागि पूजा महतोले चार ओभरमा १ मेडनसहित १५ रन खर्चेर दुई विकेट लिइन् । कविता गौतमको नाममा एक विकेट रह्यो ।

जवाफी ब्याटिङमा आएको मधेशका लागि  पूजा महतोले ४५ बलमा ३५ रन बनाइन् । अनुराधा चौधरी २१, प्रतिमा शाह १४, रोजी कडारी पाँच, एलिसा यादव चार, सरस्वतीकुमारी चौधरी दुई रन बनाएर आउट भइन् भने साना प्रविनले खाता खोल्न सकिनन् । 

बागमतीकी अश्मिना कर्माचार्यले दुई तथा मनीषा उपाध्यायले एक विकेट लिए । 

सुझावित समाचार