मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कांग्रेस राक्सिराङ गाउँपालिकाका सभापति वीरेन्द्र जिम्बाले अर्थमन्त्री प्रकाशशरण महतलाई गाँजालाई वैधानिकता वा विकल्प दिन आग्रह गरेका छन् ।
मंगलबार कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनमा आएका अर्थमन्त्री महतलाई भेटी उनीहरूले राक्सिराङ गाउँपालिकामा परम्परागत रूपमा हुँदै आएको गाँजाखेतीको विस्तार तथा वैधानिकतासम्बन्धी प्रस्ताव बुझाउँदै यस्तो आग्रह गरेका हुन् । उनीहरूले बुझाएको प्रस्तावमा गाँजालाई गाउँघरमा उपयोगी वस्तुका रूपमा परम्परादेखि नै प्रयोग गरिँदै आएको उल्लेख गरिएको छ । गाँजालाई आयुर्वेदिक औषधीको रूपमा, पर्वविशेष प्रसाद र लोकाचारको रूपमा थकान तथा चिन्ता कम गर्ने मनोरञ्जनको साधनको रूपमा प्रयोग गरिँदै आएको उल्लेख गरिएको छ ।
यस्तै स–साना घरेलु उद्योग सञ्चालन गरी सामान्य आम्दानीको स्रोतको रूपमा समेत गाँजाको बोटलाई प्रयोगमा ल्याउन सकिने उनीहरूको प्रस्ताव छ । उनीहरूले संयुक्त राष्ट्र संघले समेत गाँजालाई औषधीय र वैज्ञानिक अनुसन्धानको वनस्पतिको रूपमा सूचीकरण गरेकोतर्फ पनि अर्थमन्त्री महतको ध्यानाकर्षण गराएका छन् ।
बहुउपयोगी गाँजा उत्पादनका लागि राक्सिराङ गाउँपालिकाको हावापानी अति नै उपयुक्त रहेको र यस क्षेत्रमा परम्परादेखि नै गाँजा उत्पादन हुँदै आएकाले पालिका अध्यक्ष मल्ल र कांग्रेस सभापति जिम्बाले गाँजालाई वैधानिकता दिन पहल गरिदिन आग्रह गरे । गाउँपालिकाका अध्यक्ष मल्लले पालिकाका धेरैजसो युवा गाँजा ओसारपसारको अभियोगमा जेलजीवन बिताउँन बाध्य रहेको जानकारी गराउँदै युवा गाउँघरमा भन्दा पनि जेलमा बढी रहेको बताए । प्रस्ताव बुझ्दै अर्थमन्त्री डा. महतले नेपालमा गाँजाखेतीको सम्भावनाबारे सरकारले अध्ययन सुरु गरेको जानकारी दिए । गाँजाखेतीलाई वैधानिकता दिनेबारे सरकार र सदनमा समेत विभिन्न छलफल भइरहेको उनको भनाइ छ ।
‘नेपालमा गाँजाखेतीको सम्भावना छ । यसबाट राम्रो आर्थिक फाइदा लिन पनि सकिन्छ । तर, कुन मोडलमा गाँजाखेतीको विकास गर्दा यसबाट नेपालले बढीभन्दा बढी फाइदा उठाउन सक्छ भन्नेबारे सरकार गम्भीर रूपमा छलफलमा छ,’ उनले भने । अर्थमन्त्री महतले सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरेको बताउँदै अध्ययन समितिको प्रतिवेदनका आधारमा सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।