युद्धविराम वार्ता गर्न हमास प्रमुख इजिप्ट जाने

बुधबार, ४ पुष, २०८०
डिजिटल संस्करण

गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जाने भएका छन् । इजरायलले थप बन्धकहरूको बदलामा अर्को युद्धविरामका लागि सहमत हुन इच्छुक रहेको बताएपछि उनको इजिप्ट यात्राबारे जानकारी आएको हो ।

संयुक्त राष्ट्रसंघले युद्धविरामको आह्वानमा मतदान गर्न लागेकाले इजरायलमाथि घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्रमा सहायता बढाउने गरी  नयाँ युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ ।

कतारस्थित हमासका नेता इस्माइल हनियाहले इजिप्टका गुप्तचर प्रमुख र अन्यसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाइका लागि सम्झौता तयार गर्न’ वार्ता गर्न ‘उच्चस्तरीय’ प्रतिनिधिमण्डलको नेतृत्व गर्ने अपेक्षा गरिएको समूहनिकट स्रोतले एएफपीसँग बताएको छ ।

इजरायली नेताहरूले गाजामा बन्धक बनाइएका एक सय २९ जना बन्धकहरूको रिहाइका लागि बढ्दो मागहरूको सामना गरिरहेका छन् र मंगलबार उनले हमाससँग वार्ताको टेबुलमा फर्कने संकेत दिएका छन् ।

इजरायली राष्ट्रपति इसाक हर्जोगले आफ्नो देश बन्धकहरूको रिहाइका लागि अर्को मानवीय विराम र थप मानवीय सहायताका लागि तयार रहेको बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना गुप्तचर प्रमुखलाई ‘हाम्रा बन्धकहरूलाई मुक्त गर्न’ दुईपटक युरोप भ्रमणमा पठाएको बताएका छन् । 
    
यसैबीच प्यालेस्टिनी लडाकु समूह इस्लामिक जिहादले मंगलबार भिडियो फुटेज सार्वजनिक गर्दै गाजामा आफ्नो हिरासतमा रहेका दुईजना बन्धकलाई जीवितै देखाइएको दाबी गरेको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि हमला गर्दै एक हजार एक सय ४० जनाको हत्या गरेको थियो भने दुई सय ४० बन्दी बनाएको थियो । 

त्यसयता इजरायलले गाजामा गरेको आक्रमणमा परी १९ हजार ६ सय ६७ जना मारिइसकेका छन् । तीमध्ये अधिकांश महिला र बालबालिका रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । (एएफपी)

सुझावित समाचार