नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ। कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा निधन भएको हो।
मिर्गौला रोगपीडित रहेको न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त अधिवक्ता उमाकान्त न्यौपानेले जानकारी दिए।
उनका अनुसार न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो। मृतक न्याैपानेका दुई छोरा र तीन छोरी छन्। हाल न्यौपानेका एक छोरा दुबईमा रहेकाले उनी दुबईबाट नेपाल फर्केपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।
०५१ मा कालीकोटमा नेकपा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित न्यौपाने सूचना तथा सञ्चार सहायकमन्त्री भएका थिए। कालीकोटको रास्कोट नगरपालिका– ८ को फुकोट गाउँमा जन्मिएका न्यौपाने साबिकको फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित भएका थिए। रासस