कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले राजनीतिक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेसले अब देश विकासको पनि नेतृत्व लिनुपर्ने बताएका छन् । अबको मुख्य मुद्दा नै आर्थिक विकास भएकाले कांग्रेस स्पष्ट खाकासहित अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै नेता चौधरीले युवाहरूको बढ्दो विदेश पलायनप्रति संवेदनशील बन्दै देशको आर्थिक नीतिमा गम्भीर सुधार आवश्यक रहेको बताए ।
उनले भने, ‘ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेपाली कांग्रेसले आर्थिक विकासको नेतृत्व पनि लिन सक्छ भनेर हामीले प्रमाणित गर्नुपरेको छ । र, त्यो जिम्मेवारी पूरा गर्न हामी सक्षम छौँ भन्ने सन्देश पोखराबाट दिन चाहन्छु ।’
उनले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य यही देशमा सुनिश्चित गर्ने लक्ष्यका साथ आफू राजनीतिमा सक्रिय रहेको जिकिर गरे । ‘युवाहरूको भविष्य यही देशमा सुरक्षित छ र उनीहरूका सन्ततीको भविष्य यही देशमा उज्ज्वल रहनेछ भन्ने स्थापित गर्न म संकल्पका साथ राजनीतिमा केन्द्रित भएको छु,’ उनले भने, ‘मलाई लाग्छ, हाम्रो जिम्मेवारी यही नै हो । र, यो संकल्प पूरा गर्न सकेनौँ भने राजनीतिमा हाम्रो सान्दर्भिकतामाथि प्रश्न उठ्नेछ ।’