सूचना प्रविधि सम्मेलन गर्दै काठमाडौं महानगर

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ।

महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। 

महानगरका सूचना प्रविधि समिति संयोजकसमेत रहेका मानन्धरका अनुसार सम्मेलनमा आविष्कार, नवीनतम सोच र प्रविधिलाई सम्मेलनमार्फत कसरी जोड्न सकिन्छ, युवा, साझेदार र अन्तर्राष्ट्रिय समुदायलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने विषय मुख्य रूपमा रहनेछन्।

‘जिम्मेवार, पारदर्शी, उत्तरदायी, सरकार बन्न कामपाले प्राप्त गरेका उपलब्धिलाई संस्थागत र सिकाइलाई प्रवर्द्धन गर्न, नयाँ आविष्कारलाई ग्रहण गर्न नीति, योजना र कार्यक्रम बनाउनुपर्नेछ,’ उनले भने, ‘सम्मेलनले दिएको निचोड र सिफारिसहरू, काठमाडौंका जनता र नागरिकलाई प्रविधिमा आधारित गुणस्तरीय सेवा दिन, सेवाग्राहीलाई डिजिटल आचरण विकास गर्न आवश्यक पर्ने नीति निर्माणको आधार हुनेछ।’

नागरिकले अपेक्षा गरेको सेवाका लागि सरकारको प्रतिबद्धता देखाउन सम्मेलनले भूमिका खेल्ने महानगरको विश्वास छ।

शासन सञ्चालन गर्न तथा सेवा प्रदान गर्न सरकारले प्रयोग गरेका प्रविधि, सेवाग्राहीमा यसको पहुँच र प्रयोग, साझेदार सरकार तथा कार्यालयबीचको अन्तरसम्बन्ध, प्रविधि प्रयोग तथा विस्तार सम्मेलनका प्रस्तुतीकरण तथा छलफलका विषय रहने बताइएको छ।

प्रविधिले प्रदान गरेका परिवर्तित अवसरमा वर्तमान सम्भावनाजस्ता विषयमा विशेषज्ञ र साझेदारहरूबीच समूहगत छलफल तथा अन्तर्क्रियात्मक कार्यशाला सम्मेलनका कार्यक्रममा समेटिनेछन्।

प्रविधिहरूको व्यावहारिक प्रयोग, पेसाकर्मी, उद्यमी, युवा तथा सरकारी संयन्त्रका बीच क्षेत्रगत सञ्जाल निर्माण (नेटवर्किङ)को अवसर सिर्जना गरिने बताइएको छ।सम्मेलनबाट सरकार र प्रविधि प्रदायकहरूबीचको साझेदारी नजिक हुनाका साथै एकीकृत र कार्यान्वयनयोग्य दस्ताबेज प्राप्त हुने विश्वास लिएको महानगरले जनाएको छ।

सुझावित समाचार