चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा २४ अर्ब ३६ करोड रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत भएको छ । उद्योग विभागले साउनदेखि मंसिरसम्म एक सय २० वटा उद्योग–कम्पनीको वैदेशिक लगानीको प्रस्ताव स्वीकृत गरेको हो ।
पाँच महिनामा एक सय ९९ उद्योगको २० अर्ब ६१ करोड नयाँ एफडिआई र २१ उद्योगको तीन अर्ब ७५ करोडबराबरको सेयर पर्चेज एग्रिमेन्ट (एपिए) र सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) स्वीकृत गरेको विभागले जनाएको छ । विभागका अनुसार अहिलेसम्म ६ हजार ५८ उद्योगको कुल चार खर्ब ७० अर्ब ६० करोड एफडिआई स्वीकृत भएको छ । मंसिरमा मात्रै दुई अर्ब ५६ करोडभन्दा बढी एफडिआई स्वीकृत गरेको उद्योग विभागले जनाएको छ ।
जसमध्ये २१ उद्योगको दुई अर्ब २६ करोड नयाँ लगानी र ३० करोड ५७ लाख एसपिए–एसएसए हो । पाँच महिनामा २७ वटा टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टिटिए) स्वीकृत गरिएको छ । पाँच महिनामा लगानीको स्वीकृति पाएका उद्योग तथा परियोजनाले १० हजार एक सय २० जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।
पाँच महिनामा नेपालमा लगानीको स्वीकृत पाएका एक सय ९९ उद्योग तथा परियोजनामध्ये एक सय ८९ साना, सातवटा मझौला र तीनवटा ठूला छन् । कुल परियोजनामध्ये सबैभन्दा धेरै ९५ वटा पर्यटन क्षेत्रका, ७४ सेवा क्षेत्रका, १९ उत्पादनमूलक, चारवटा पूर्वाधार क्षेत्रका, पाँचवटा सूचना प्रविधि क्षेत्रका, एउटा खानी क्षेत्रको र एउटा कृषि क्षेत्रका रहेका छन् ।
कुल स्वीकृत लगानीमध्ये पर्यटन क्षेत्रमा ४८ प्रतिशत, सेवा क्षेत्रमा ३७ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा १० प्रतिशत, पूर्वाधार क्षेत्रमा २ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा ३ प्रतिशत लगानी प्रतिबद्धता आएको छ ।