सन् २०२४ मार्चमा इटलीमा हुने ओलम्पिक क्वालिफाइङ बक्सिङ प्रतियोगिताका लागि सोमबारदेखि प्रारम्भिक छनोट खेल सुरु भएको छ । छनोटको पहिलो दिन महिलातर्फ ५४ किलो तौल समूहमा बक्समान्डुकी अञ्जली तेलीले एपिएफकी शर्मिला तामाङलाई ५–० को युनानिमस डिसिजनका आधारमा पराजित गरेकी छिन् । पुरुषतर्फ ५१ किलो तौल समूहमा नेपाल आर्मीका सुशील थापाले एचटुओका रविन थापालाई स्प्लिट डिसिजन ३–२ को आधारमा हराए । सोही तौल समूहमा बक्समान्डुका लक्ष्मण राईले रुपन्देहीका अमृत ठाडाराईलाई आरएससीका आधारमा तेस्रो राउन्डमा पराजित गरे ।
सोही तौल समूहमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले रुकुमका अजय पुनमगरलाई युनानिमस डिसिजनका आधारमा ५–० ले हराए । यसै समूहमा अल्फाका विशेष बुढामगरले जेनेक्सका कमल थापामगरमाथि ५–० ले जित निकाले । प्रतियोगिताअन्तर्गत पुरुष ५७ किलो तौल समूहमा भाइब बक्सिङ क्लबका निराजन मोक्तानले एपिएफका प्रदीप महर्जनलाई स्प्लिट डिसिजन ३–२ ले हराए ।
७१ किलो तौल समुहमा भाइब बक्सिङका कुशल गुरुङमाथि भूपू बक्सिङ कास्कीका निशान गुरुङले ४–१ ले हराएका छन् । ७१ किलो तौल समूहमै नेपाल आर्मीका दानबहादुर दर्लामीले नक्सालका अश्विन धीरन श्रेष्ठलाई युनानिमस डिसिजनका आधारमा ५–० ले पाखा लगाएका छन् ।