आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १ अंकको अग्रता लिएको छ । ब्राइटनलाई २–० ले हराउँदै आर्सनलले एस्टन भिल्लाविरुद्ध झिनो अंकको अग्रता लिएको हो । भिल्लाले बे्रन्टफोर्डलाई २–१ ले हरायो । यस जितसँगै भिल्लाले शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब बनाएको हो । खेलको पहिलो हाफमा आर्सनललाई ब्राइटनले गोलरहित बराबरीमा रोकेको थियो । मध्यान्तरपछि आर्सनल आक्रामक रूपमा प्रस्तुत भयो ।
खेलको ५३औँ मिनेटमा ग्राबिएल जेसुसले आर्सनललाई १–० को अग्रता दिलाए । खेलको ८७औँ मिनेटमा हाभेट्जले आर्सनलको २–० को जित पक्का गरे । आर्सनलले १७ खेलबाट ३९ अंक जोडेको छ । एस्टोन भिल्लाले समान खेलबाट ३८ अंक बनाएको छ । भिल्ला र ब्रेन्टफोर्डबीचको खेलमा एक–एक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको ७१औँ मिनेटमा ब्रेन्टफोर्डका बेन मीले रातो कार्ड बेहोरे ।
खेलको अन्तिम सात मिनेटको इन्जुरी समयमा अर्सनलका कमराले रातो कार्ड पाए । खेलको ४५औँ मिनेटसम्म ब्रेन्टफोर्डले १–० को अग्रता लिएको थियो । लेविस पोटरले अग्रता दिलाएका हुन् । खेलको ७७औँ मिनेटमा मोरेनोले भिल्लालाई १–१ को बराबरीमा पुर्याए । मोरेनाले वेलियको पासमा गोल गरे । खेलको ८५औँ मिनेटमा वात्किन्सले भिल्लालाई २–१ को जित दिलाए । अर्को खेलमा वुल्भ्समाथि वेस्टहामले ३–० को जित निकाल्यो ।