दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा अहिलेसम्म २७ खेल सकिएको छ । लिगमा नौ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । इलाम लगभग प्ले अफबाट बाहिरिसकेको छ । गणितीय आधारमा अझै सात टोलीले प्ले अफ सम्भावना जीवितै राखेका छन् । दशरथ रंगशालामा चलिरहेको लिगमा विदेशी खेलाडी नै हाबी भइरहेका छन् । यसपटक युरोप, दक्षिण अफ्रिका, अमेरिका र एसियाका स्तरीय खेलाडी लिगमा आबद्ध छन् । लिगलाई आकर्षक बनाउन विश्वकपदेखि युरोपियन लिग खेलेका खेलाडीसमेत छन् । उनीहरूका कारण लिग स्तरीय बनेको आभास हुन्छ । दोस्रो संस्करणमा विभिन्न १५ देशका ४७ विदेशी खेलाडी रंगशालामा दौडिरहेका छन् ।
सहभागी विदेशी खेलाडीमध्ये अफ्रिकन राष्ट्र घानाबाट धेरै छन् । घानाबाट सर्वाधिक १२ खेलाडी छन् । यसैगरी, क्यामरुनबाट १०, सेनेगलबाट चार, नाइजेरिया र उज्वेकिस्तानबाट समान तीन खेलाडी रहेका छन् । लेबनान, गुएना, स्पेन, फ्रान्स र भारतबाट समान दुई खेलाडीले लिग खेलिरहेका छन् । यसैगरी सर्बिया, अमेरिका, मोन्टेनेग्रो, प्यालेस्टाइन र कंगोबाट समान एक खेलाडी रहेका छन् । नेपालका सिनियर खेलाडी विदेशतिर भविष्य बनाउन पलायन हुँदा फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदेशी कोटा बढाएको हो ।
एन्फाले एक टोलीलाई ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने र मैदानमा पाँच खेलाडी उतार्न सक्ने नियम बनाएको छ । लिगमा नौमध्ये ६ टोलीमा विदेशी गोलरक्षक छन् । गोलपोस्टमा अनुभवी गोलरक्षक रहँदा विपक्षी खेलाडीले कमै गोल गर्ने अवसर पाएका छन् । यसकारण अहिले गोल औसत कम भएको हो । खेलाडीको व्यक्तिगत प्रदर्शन, टोलीको स्तरीय खेल र विदेशी खेलाडीले देखाएको व्यावसायिक प्रदर्शनपछि इलामका प्रशिक्षक मेघराज केसी दंग छन् । उनी विदेशी खेलाडीकै उपस्थितिमा लिगमा नेपाली खेलाडीले धेरै सिक्ने अवसर पाएको बताउँछन् । ‘यसपटक जुन स्तरका विदेशी खेलाडी अनुबन्ध भए, यसले धेरै राम्रो गरेको छ । युवा खेलाडीले धेरै सिक्ने अवसर पाए,’ केसीले भने, ‘अहिले प्रतियोगिताको माहोल नै अर्को बनेको छ ।’
विश्वकप खेलेका अक्वाह
नेपाल सुपर लिगमा विभिन्न राष्ट्रबाट विदेशी खेलाडीले दशरथ रंगशालामा आफ्नो कौशल देखाइरहेका छन् । कोही खेलाडीले अपेक्षा गरेभन्दा उत्कृष्ट प्रदर्शन गरी वाहवाही कमाइरहेका छन् । कोही आफ्नो स्तरअनुसार प्रदर्शन गर्न चुकेका छन् । दोस्रो संस्करणको नेपाल सुपर लिगमा सहभागीमध्ये विदेशी खेलाडीमा घानाका एक खेलाडी विशेष रहेका छन् । ३१ वर्षीय डिफेन्सिभ मिडफिल्डर अफ्रियी अक्वाह खेलिरहेका विदेशीमध्ये सबैभन्दा अनुभवीमा पर्छन् ।
उनीसँग फिफा विश्वकप फुटबल प्रतियोगिता नै खेलेको अनुभव छ । २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उनले प्रतिस्पर्धा गरेका थिए । उनले २०१२ देखि २०२१ सम्म घानाबाट ३९ अन्तर्राष्ट्रिय खेलमा एक गोल गरे । ब्राजिलमा आयोजना भएको विश्वकपको समूह चरणमा उनले पोर्चुगलविरुद्ध डेब्यु गरेका थिए । जसमा पोर्चुगल २–१ ले विजयी भयो । उनी ७६औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । एफसी चितवनका खेलाडी अक्वाहले सातमध्ये ६ खेल पूरै समय मैदान बिताएका छन् । उनले ६ सय आठ मिनेट मैदानमा बिताएका छन् ।
धेरै गोल गर्ने
लिगको पहिलो तथा दोस्रो संस्करणमा विदेशी खेलाडीले नै धेरै गोल गरेका छन् । कम समयका लागि लिग खेल्न आए पनि विदेशी खेलाडीले निरन्तर रूपमा लयमै प्रदर्शन गरेका छन् । बुटवल लुम्बिनीका स्टेफन समिर विनोङ, पोखराका मोसेस ग्याबा ट्वुम र धनगढीका आफिज ओलावाले ओलादिपोले समान तीन गोल गरेका छन् । नेपाली खेलाडी एरिक विष्ट र राजीव लोप्चनसहित पापा केबे, एनगुई जुनियरले समान दुई गोल गरेका छन् । २९ खेलाडीले एक गोल गरेका छन् । पहिलो संस्करणमा काठमाडौं च्याम्पियन हुँदा मेसुके ओलोमोउले आठ गोल गरेका थिए । उनी नेपाल सुपर लिगकै सर्वाधिक गोल गर्ने पहिलो खेलाडी हुन् ।
एकै टोलीबाट धेरै समय खेल्ने
नेपाल सुपर लिगमा एकै टोलीबाट धेरै समय खेल्ने खेलाडी नेपालका आशिष लामा रहेका छन् । बुटवलका आशिषले दुवै संस्करण गरी ९ सय ६५ मिनेट मैदान बिताइसकेका छन् । उनले यसपटक सुरुवाती पाँचै खेलमा स्थान बनाए ।अस्ट्रेलिया पुगेका आशिष लिगकै लागि नेपाल फर्किएका हुन् । यसपटक उनले पाँच खेलमा तीन सय ६७ मिनेट मैदानमा बिताएका छन् । पहिलो संस्करणमा उनले सातै खेलको सुरुवाती स्थान बनाउँदै पाँच सय ९८ खेल मिनेट प्रतिस्पर्धा गरेका थिए । धनगढीका आफिज ओलावाले दोस्रो स्थानमा छन् । दोस्रो संस्करणमा उनले पाँच खेलमा दुई सय ५३ मिनेट खेलेका छन् । तीन गोल गरे पनि उनले कुनै पनि खेलमा ९० मिनेट पूरा खेल्न पाएनन् । आफिजले पहिलो संस्करणमा आठमध्ये सात खेल खेलेका थिए । चार गोल गर्दा पाँच समय ६७ मिनेट खेलेका छन् ।
क्लिन सिट राख्ने
दोस्रो संस्करणमा सहभागी नौमध्ये ६ टोलीले विदेशी गोलरक्षक नै राखेका छन् । स्वदेशी गोलरक्षकमा विशाल श्रेष्ठ, विकेश कुथू र दीप कार्की हुन् । धनगढीले पछिल्लो दुई खेलमा टिकेन्द्र थापालाई मौका थियो । टिकेन्द्रले एक क्लिन सिट राख्न सफल भए । तर, विदेशी गोलरक्षक टोलीमा रहँदा नेपालका युवा गोलरक्षक बेन्चमै सीमित भइरहेका छन् ।
ललितपुर सिटीका फ्रान्सेली गोलरक्षक जेफेरी विली मार्सेल र झापाका स्टेफन कुपिकले समान ६ खेलमा चार ‘क्लिन सिट’ राखेका छन् । जेफेरीविरुद्ध बुटवल, पोखरा र धगनढीले आ–आफ्नो पहिलो खेलमा गोल गर्न सकेनन् । झापाका क्युपिकले पछिल्ला चार खेलमा क्लिन सिट राखे । पोखराका क्यामरुनी प्रिसोले तीन क्लिन सिट राखे । धनगढीका लेबनानी मोहम्मद टाहा काठमाडौंका अभिषेक बरालले समान दुई, इलामका विकेश कुथू र वीरगन्जका दीपले समान एक क्लिन सिट राखेका छन् । बुटवलका मोहमोदु र चितवनका मार्की विशालले क्लिन सिट राख्न सकेका छैनन् ।
म्यान अफ दी म्याच
अहिलेसम्म १४ खेलमा विदेशी खेलाडीले म्यान अफ दी म्याच प्राप्त गरेका छन् । यसविपरीत १३ नेपाली खेलाडी म्यान अफ दी म्याच बनेका छन् । वीरगन्ज युनाइटेडबाट खेलिरहेका घानाका खेलाडी विलियम ओपोकु, चितवनका टोरिक जेब्रिन, इलामका अमाथ ड्वले दुईपटक म्यान अफ दी म्याच भए । नेपाली खेलाडीमा अस्ट्रेलियाबाट लिग खेल्न आएका दिनेश राजवंशी, उत्सव राई, आयुष घलान, सुरजजिउ ठकुरी, सञ्जीव विष्ट, दीप कार्की, जिलेस्पीजंग कार्की, विवेक पौडेल, टिकेन्द्र थापा, सनिस श्रेष्ठ र विशाल श्रेष्ठ म्यान अफ दी म्याच भए ।