अदालतको क्षेत्राधिकार ‘रिभ्यु’ हुनुपर्छ : प्रस्तावित न्यायाधीश पाैडेल

आइतबार, १ पुष, २०८०
डिजिटल संस्करण

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले अदालतको कार्यक्षेत्रको पुनरावलोकन हुनुपर्ने बताएका छन्। आइतबार संसदीय सुनुवाइ समितिमा सदस्यले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। 

उनले भने, ‘अदालतको कार्यक्षेत्रको पुनरावलोकन हुनुपर्छ। जिल्ला र उच्चमा मुद्दा फैसलामा धेरै ढिलाइ देखिँदैन। तर, सर्वोच्चमा छ। केस बढ्नुको कारण भनेको स-साना मुद्दा पनि सर्वोच्च पुग्नु हो। सबै सर्वोच्च पुग्नैपर्छ त ? जुन उच्चबाटै टुंगिनुपर्थ्यो, ती पनि सर्वोच्च पुगेका छन्। अदालतहरूको क्षेत्राधिकार रिभ्यु हुनुपर्छ।’

पूर्णपाठ समयमा नआउने कुरामा पनि सदस्यहरूले सोधेको प्रश्नमा पौडेलले उच्चमा हुँदा अहिलेसम्म आफूले गरेका सबै फैसलामा हस्ताक्षर गरिसकेको बताए। ‘पूर्णपाठ समयमा आउने कुरामा म प्रतिबद्ध छु। मैले व्यक्त गरेका रायमा कुनैमा पनि हस्ताक्षर गर्न बाँकी छैन,’ उनले भने।

उनलाई सुनुवाइ समितिका सदस्यले न्यायमा ढिलाइ, मुद्दा फर्स्योटमा ढिलाइ, मुद्दा चाप बढ्दै गएकोप्रति जिज्ञासा राखेका थिए। 
 
प्रस्तावित न्यायाधीशमा सिफारिस भएका पौडेलविरुद्ध कुनै पनि उजुरी परेको थिएन। अहिले अर्का प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाले आफ्नो कार्ययोजना प्रस्तुत गरिरहेका छन्। 

सुझावित समाचार