सर्लाहीको बागमतीमा रहेको ‘भरत ताल’मा समुद्री ‘एड्भेन्चर’का रूपमा प्रयोग हुने ‘वाटर स्कुटर’ सञ्चालनमा ल्याइएको छ । शनिबार बागमती नगरपालिका–१२ र ४ मा निर्माणाधीन बागमती माछापोखरी अर्थात् ‘भरत ताल’मा ‘वाटर स्कुटर’को उद्घाटन मेयर भरतकुमार थापा र ११ नम्बरका वडाध्यक्ष प्रदीप आचार्यले संयुक्त रूपमा गरेका छन् ।
यसको प्रयोगले पर्यटक आकर्षित हुनुका साथै स्थानीयस्तरमै समुद्री जलसयरको मज्जा लिन सकिने सञ्चालक कम्पनी बागमती इन्टरटेनमेन्ट प्रालिका प्रोप्राइटर गौतम खड्काले बताए । यसमा चालकसहित तीनजनासम्म बसेर जलसयर गर्न सकिनेछ । ५५ लाखको लागतमा सञ्चालनमा ल्याइएको यस ‘वाटर स्कुटर’ सम्भवतः नेपालमा पहिलो भएको कम्पनीको दाबी छ ।
जलशयरको पाँच सयदेखि १५ सयसम्म टिकट तय गरिएको कम्पनीले जनाएको हो । भरत तालमा यस पहिलादेखि नै साहसिक खेल मनोरञ्जनका लागि ‘स्काई साइक्लिङ’, ‘वाटर साइक्लिङ’ सञ्चालनमा आइसकेको छ । पर्यटकको मनोरञ्जनका लागि मिनी पानीजहाज (मिनी क्रुज), मोटरबोट सञ्चालन भइरहेको छ । तालपरिसरमा मिनी रेलमा चढेर मनोरञ्जन लिन सकिने व्यवस्था गरिएको नगरपालिका कार्यालयले जनाएको हो ।
एक सय २१ बिघा क्षेत्रफलमा फैलिएको यस तालको माध्यमबाट नगरमा रोजगारी सिर्जना, नगरको प्रचारप्रसार, आर्थिक, सांस्कृतिक, सामाजिक र भौतिक विकास गर्ने आफूहरूको लक्ष्य रहेको तालका परिकल्पनाकार मेयर भरतकुमार थापाले जानकारी दिए ।