हुम्लामा तोतनरी ल्होसार मनाइँदै

शनिबार, ३० मंसिर, २०८०
डिजिटल संस्करण
हुम्लामा तोतनरी ल्होसार मनाइँदै

तस्बिर सौजन्य : अविनास लामा

हुम्लाका बौद्ध धर्मावलम्बी तथा भोटे-लामा समुदायले धुमधामका साथ तोतनरी ल्होसार मनाउँदै छन्। कैलाश पर्वत क्षेत्रआसपासका लामा समुदायले तोतनरी ल्होसार मनाउने गरेका छन्।

सिमकोट गाउँपालिकाका पूर्वअध्यक्ष पदमबहादुर लामाले माथिल्लो कैलाश पर्वत क्षेत्रमा बसोबास गर्ने लामा समुदायको तोतनरी ल्होसार हुम्लामा धुमधाम रूपमा जारी रहेको बताए।

यो ल्होसार तिब्बत र नेपालको हिमाली क्षेत्रका लामा समुदायले मनाउने गरेका छन्। पहिले हुम्लामा ल्होसार सुरु भएको दिनदेखि श्रीपञ्चमीसम्म मनाउने गरिए पनि पछिल्लो समय भने चार दिन मात्रै मनाउन थालिएको लामाले जानकारी दिए।

यस पर्वमा घरघरमा कुल देवताको पूजासमेत गर्ने गरिन्छ। मानिस थोरै भए घरघरमा पालो लगाएर पाहुना खान जाने र धेरै भए एकै स्थानमा जम्मा भएर नाचगानसहित मीठा परिकार बनाएर खाने प्रचलन छ।

त्यस्तै, नयाँ वर्ष सुरु हुने भएका कारण गुम्बामा लिंगो गाड्ने कार्यसमेत हुन्छ। सदरमुकाम सिमकोटमा रहेको गुम्बामा शुक्रबार सबै लामा समुदाय मिलेर नयाँ लिंगो गाडिसकेका छन्। 

साना नानीदेखि वृद्धवृद्धासम्मले उवाको ६ महिना पहिलेबाट तयार पारिएको रक्सी (छ्याङ) खानैपर्ने प्रचलनसमेत रहेको छ।

सुझावित समाचार