भाँचिएको खुट्टाका भरमा स्वर्ण जितेँ

शनिबार, ३० मंसिर, २०८०
डिजिटल संस्करण
भाँचिएको खुट्टाका भरमा स्वर्ण जितेँ

सन् २००४ मा पाकिस्तानमा भएको नवौँ साफमा स्वर्ण पदक जितेका तेक्वान्दो खेलाडी दीपक विष्ट बैसाखीको सहारामा घर फर्किए । त्यसक्रममा भारत–पाकिस्तानको वाघा बोर्डरमा विष्ट ।

दक्षिण एसियाली खेलकुदमा पुरुषतर्फ लगातार चार स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्ट एक्लो नेपाली खेलाडी हुन् । उनीभन्दा अगाडि म्याराथनका वैकुण्ठ मानन्धरले लगातार तीन स्वर्ण जितेका थिए । सन् २०१० मा ढाकामा भएको ११औँ सागमा विष्टले मानन्धरको रेकर्ड तोड्दै आफ्नो नाममा ल्याउन सफल भए । सन् २०१९ मा नेपालमै आयोजना भएको १३औँ सागमा पौडीकी गौरिका सिंहले चार स्वर्ण जित्दै विष्टको रेकर्ड बराबरी गरेकी थिइन् । उनले सन् २००४ मा पाकिस्तानको इस्लामाबादमा भएको नवौँ साफमा चुमेको स्वर्ण विशेष रूपमा लिने गरेका छन् । खुट्टा भाँचिएको अवस्थामै उनले स्वर्ण जितेका थिए । करिअर नै दाउमा राखी राष्ट्रका लागि ब्याक टु ब्याक स्वर्ण जित्दाका क्षणको पीडा भुल्न नसकेको उनी बताउँछन् । विष्टले यसरी इस्लामाबादमा स्वर्ण जित्दाको संस्मरण नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायलाई यसरी सुनाए :

नवौँ साफअघि नै अप्रेसन
पाकिस्तानमा सन् २००४ मा भएको नवौँ साफमा खेल्नुअघि नै घुँडामा समस्या आइरहेको थियो । क्लोज क्याम्पमा यो समस्या बारम्बार झेलिरहेको थिएँ । त्यसवेलाको तेक्वान्दोको प्रशिक्षण अहिलेभन्दा निकै कडा हुन्थ्यो । प्रशिक्षणका क्रममै प्रशिक्षकले एउटा सेसन फुटबल पनि राख्नुभएको थियो । फुटबल खेल्दा झ्याप्पै लडेँ । दायाँ घुँडामा सामान्य चोटजस्तै लागेको थियो । सुरुमा त्यति ख्याल गरिनँ । तर, बिस्तारै बल्झिँदै गयो र आकार ठूलो भयो । मैले बिएन्डबी अस्पतालमा उपचार गराएँ । त्यहाँ चिकित्सकले ‘मिनिस्कस’ भएको बताउनुभयो । शल्यक्रियाबाहेक अन्य नभएको चिकित्सकले सुझाव दिनुभयो । घुँडाको अप्रेसन सामान्य एक वा दुई घण्टाको थियो । बिएन्डबीका डाक्टर बाबुकाजीले मेरो अप्रेसन गर्नुभएको थियो । 

अप्रेसनपछि चार महिनाजति रेस्ट लिएँ । पाकिस्तानले निर्धारित समयअनुसार सन् २००१ मा साफ गर्नुपर्ने थियो । त्यसवेला नै यो घटना भएको थियो । मेरो दैनिक जीवन र प्रशिक्षणमा समेत यसको असर देखिएको थियो । तर, जसरी पनि साफ खेल्नुपर्छ भन्ने भावना थियो । मैले फिजियो थेरापी गराइरहेँ । आठौँ साफ घरमै हुँदा मैले स्वर्ण जितेको थिएँ । पाकिस्तानको भूमिमा पनि देशलाई स्वर्ण दिलाउनुपर्ने योजना थियो । यद्यपि, राम्रोसँग प्रशिक्षण गर्न नसक्ने अवस्थामा पाकिस्तानको इस्लामाबादमा स्वर्ण जित्नुपर्ने त्यही संकल्पका साथ पुनः प्रशिक्षणमा फर्किएँ । हामीले बैंककमा प्रशिक्षण लिइरहेका थियौँ । तालिवानले अमेरिकामा आक्रामण गर्‍यो । ९–११ घटनाले निर्धारित समयमा नवौँ साफ भएन । हामीलाई बैंककबाट फिर्ता बोलाइयो । 

खुट्टाकै कारण खेल्न नसक्ने हो कि जस्तो लाग्थ्यो । तर, दिमागले जित्नुपर्छ भनिरह्यो । सन् २००४ मा पाकिस्तानले दोस्रोपटक नवौँ साफको मिति घोषणा गरेको थियो । दोस्रोपटकको छनोट चरण मैले पार गरेँ । पाकिस्तान जानेवेलासम्म पनि घुँडामा समस्या आयो । अप्रेसन गरेको खुट्टामा यस्ता किसिमका समस्या आइरहन्छन् । यदि हड्डी मात्र भाँचिएको भए, त्यति समस्या आउँदैनथ्यो । त्यही वेलामा नेपालमा माओवादीको युद्ध चलिरहेको थियो । अन्योल वातावरणमा हाम्रो निरन्तर प्रशिक्षण चली नै रह्यो । द्वन्द्वकालको अवस्थामा जोखिम मोलेर खेल्नु र प्रशिक्षण गर्नु आफैँमा डर थियो । सरकारले साफ खेल्न पठाउँछ कि पठाउँदै भन्ने द्विविधा र शंका थियो । क्लोज क्याम्पमा हामीले यस्तै किसिमको वातावरणमा बितायौँ । 

लोकल ट्रेनको यात्रा
पाकिस्तान जाने पक्का भयो । राष्ट्रिय खेलकुद परिषद्का अफिसियल हवाईजहाजमा गए । हामी खेलाडी र अफिसियलहरू भने सडकबाट गयौँ । काठमाडौंदेखि भैरहवाको सुनौली बोर्डसम्म हामी आर्मीको कडा स्कटिडमा पुग्यौँ । त्यसपछि सहिद एक्सप्रेसबाट भारतको अमृतसरमा रहेको वाघा बोडर पुग्यौँ । लाहोरदेखि इस्लामाबादसम्मको बस यात्रा सात सात घण्टा थियो । सुनौलीदेखि अमृतसरसम्मका प्रत्येक ट्रेन स्टेसनमा रोकिने र लाहोरदेखि इस्लामाबादसम्मको सात घण्टाको यात्रा निकै कष्टकर बनेको थियो । हामीलाई कहिले इस्लामाबाद पुगिन्छ भन्ने लागेको थियो । 

पाकिस्तानमा रहँदा खुट्टाको समस्या नआएको होइन । त्यहाँ मैले फिजियो थेरापी गराएँ । तर, खुट्टाको कन्डिसन पहिलाको जस्तो थिएन । साँच्चै भन्ने हो भने, खेल्नुअगाडि नै मेरो एउटा खुट्टा लगभग काम नलाग्नेजस्तै भइसकेको थियो । तर, अनुभवका आधारमा एउटा खुट्टाकै भरमा खेल्ने मानसिक रूपमा म तयार थिएँ । यस्तो किसिमको आत्मविश्वास आउनुको कारण साफअगाडि धनगढीमा दक्षिण एसियाली साफ च्याम्पियनसिपमा मैले स्वर्ण जितेको थिएँ । नवौँ साफ पनि यही नै स्तरको भन्ने सोचेँ र सहजै स्वर्ण हात पार्ने सक्ने हिम्मत बढेको थियो । 

फेरि त्यसवला हामी नेपाली तेक्वान्दोमा दक्षिण एसियाकै नम्बर एक टोली थियो । तर, त्यसवेला हामी खेलाडीलाई कस्तो खानुपर्छ, कति मात्रा लिने भन्ने ज्ञान नै थिएन । न्युट्रिसन ज्ञानको अभाव थियो । न्युट्रिसनको मात्रा नमिल्दा क्यालोरी कहिल्यै पनि एकनासको भएन । खेलमा प्रशिक्षणअनुसार खानाको डाइट र भिटामिनको मात्रा मिलाउनुपर्दो रहेछ । जुन धेरैपछि मात्र थाहा पाएँ । समस्या–समस्याका बीच मैले आफ्नो बाउटको पहिलो खेलमा प्रतिस्पर्धा गरेँ । श्रीलंकाली खेलाडीलाई सहजै हराएँ । 

भुटानीसँग खेल्दा खुट्टा भाँचियो
दोस्रो खेल भुटानीसँग थियो । भुटानी खेलाडी निकै राम्रा थिए । उनीसँग खेल्न मेरो खुट्टा राम्रोसँग टर्न नै भएन । जसोजसोे मैले काउन्टर र प्रावधिक रूपमा दोस्रो खेल जित्दै स्वर्ण पदकका लागि आफूलाई उभ्याएँ । तर, दोस्रो र तेस्रो चरणमा मैले भुटानी खेलाडीलाई कमजोर खुट्टाले नै ह्यामर किक प्रहार गरेको थिएँ । ह्यामर किकपछि खुट्टाको ‘एसिल’ च्यातियो । एक किसिमले खुट्टा झुन्डिएको जस्तै हो । अब फाइनल कसरी खेल्ने ? म एउटा खुट्टाकै भरमा हिँडिरहेँ । कसैले खेल्नुपर्छ र, हुँदैन भन्ने सुझाव दिए । तत्कालीन सदस्यसचिव किशोरबहादुर सिंह र एनओसीका अध्यक्ष रुक्मशमशेर राणाले देशका लागि स्वर्ण जित्नुपर्छ भन्ने सुझाव दिनुभयो । उहाँहरूलाई थाहा थिएन, मभित्रको पीडा कस्तो थियो भनेर ? मेरो क्षमता थाहा पाएरै खेल्नुपर्ने दबाब दिनुभयो । पाकिस्तानी आर्मीको प्रशिक्षण केन्द्रमा तेक्वान्दो खेल भएको थियो । सबै खेलाडी एउटै हलमुनि थिए । पाकिस्तानीले उर्दु भाषामा सोधे, ‘दीपक क्या हुवा ? रिङमै जा सक्ते हो ।’ हाँस्दै उत्तर दिएँ, ‘विलकुल खेल्ने जाउगा ।’ 

नवौँ साफमा नेपाली टोलीमा एकजना मात्र चिकित्सक हुनुहुन्थ्यो । खेल चलिरहँदा उहाँ बक्सिङ खेलमा जानुभएको रहेछ । खेलाडी घाइते हुँदा खेल्ने वा नखेल्ने निर्णय डाक्टरले गर्छ । भाँचिएको खुट्टाले खेल्नु भनेको मूर्खतापूर्ण निर्णय थियो । खुट्टाको जोर्नी नै भाँचिएको एक खेलाडीले कसरी खेल्यो भन्ने अहिले सोच्दा अचम्मित हुन्छु । पाकिस्तानका डाक्टर र अन्य साथीले भाँचिएको खुट्टामा बलियोसँग ब्यान्डेज गरिदिनुभयो । त्यसपछि म रिङमा पुगेँ । 

स्वर्ण जित्दा एरिनामै लडेँ
यदि पराजित हुनु नै छ भने तेक्वान्दोको एरिनामै हुने, तर नखेली हार स्वीकार गर्दिनँ भन्ने अठोट लिएँ । देशका लागि खेल्दा पीडा सहनुपर्छ पनि । स्वर्ण भिडन्तमा घरेलु खेलाडी पाकिस्तानी थिए । दुवै खुट्टा रिङमा टेकेर खेल्न सक्दिनँ कि भनी प्रावधिक, काउन्टर र फिजिकल्ली खेल खेल्ने योजना बनाएँ । पाकिस्तानका खेलाडीअगाडि केही नभएको जस्तो गरी खेलेँ । अति नै दुःखेको खुट्टा केही नभएको जस्तो गरी म्याटमा टेकिराखेँ । सुरुमा पाकिस्तानी खेलाडीको खेल हेरेँ । त्यसपछि उसलाई पन्च र काउन्टरको योजना बनाएँ । त्यसवेला धेरैले पाकिस्तानी खेलाडीले स्वर्ण जित्ने दाबी गरेका थिए । फाइनल खेल्नुअघि मैले कम्तीमा तीनवटा पेनकिलर खाएको थिएँ । खेलका क्रममा एकपटक मेरा दुवै घुँडा एक–आपसमा ठोक्किए । उफ ! यति पीडा भयो कि कुरै नगरौँ । विश्वास नलाग्न सक्छ, मैले भाँचिएको खुट्टाले नै पहिलो र दोस्रो राउन्डमा अंक बटुलेको थिएँ । कल्पना गर्नुस्, त्यसवेला मभित्र कति दुखाइ भएको थियो होला ? मैले पाकिस्तानमाथि मनोवैज्ञानिक खेल खेलेँ । उसको स्टामिना डाउन गरेँ । थोरै अंकले जितेँ । अन्तिममा मैले पन्च गरी स्वर्ण नै जितँे । अनि एकैपटक लडेँ । साथीले मलाई उठाएर बाहिर ल्याएको जस्तो लाग्छ । बैसाखीका भरमा स्वर्ण थापेँ । 

बैसाखीमै इस्लामाबाददेखि भैरहवासम्म
मेरो अवस्था सबैलाई थाहा थियो । हिँड्न नसक्ने तर स्वर्ण जितेका खेलाडीलाई राखेपले हवाईजहाजमा काठमाडौं पुर्‍याउँछ भन्ने विश्वास थियो । तर, बजेटको अभावले जसरी आएको थिएँ, त्यसैगरी फर्कनुपर्ने निर्देशन भयो । सरकारले भनेको खेलाडीले मान्नैपर्छ । कम्तीमा राज्यले खेलाडीमाथि दया गर्नुपर्ने थियो । काठमाडौंसम्म आउँदा मैले आठ पत्ता पेनकिलर सकेँ । जतिवेला दुख्थ्यो, त्यहीँ पेन किलर खान्थेँ । 

इस्लामाबाददेखि लाहोरसम्म बसको यात्रा थियो । बसको सिटमा राम्रोसँग खुट्टा राख्न नसक्ने अवस्थामा थिएँ । रेनुका रानामगर र निरञ्जनले बसभरि नै मेरो टेककेयर गरे । वाघा बोर्डर पार गर्न अति नै गाह्रो भएको थियो । एक वा दुई किलोमिटर हिँड्नुपर्ने थियो । अनि अमृतसरदेखि सुनौलीसम्म पनि ट्रेन परिवर्तन गर्दाको अवस्था बयान गर्न सक्दिनँ । कम्तीमा अमृतसरबाट ट्रेनमा एसी रुम बन्दोबस्तको आशा थियो । पूरै लोकल ट्रेनको यात्रा भयो । भैरहवा पुग्दा अलि राहत भयो । त्यहाँ सरकारले मलाई हवाईजहाजबाट काठमाडौं ल्यायो । यसबीचमा कसैले मेरो झोला बोक्ने, कसैले बैसाखी मिलाइदिने काम गर्नुभएको थियो । जीवनमा धेरै मैले पदक जितेँ । हुन त मेरो नजरमा छोरा र छोरी एउटै हुन् । यसैगरी मैले जितेका स्वर्ण पदक उस्तै हुन् । तैपनि, पाकिस्तानमा हात पारेको स्वर्णमाथि मेरो करिअरकै दाउ लागेको थियो । यसकारण त्यो स्वर्ण मलाई विशेष लाग्छ । 

See More On

सुझावित समाचार