राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएको बताएका छन्।
हस्तकला दिवसको अवसरमा आयोजित यस २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सरकारबाट यसको प्रवर्द्धनका लागि हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम, ऐन, कानुन बनाउन आवश्यक रहेको बताएका हुन्।
उनले हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार देशभित्र गर्न सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सिर्जना गर्न आवश्यक रहेको औँल्याए।
‘हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवं संवर्धन गर्दै विश्वमा परिचित गराउने महत्वपूर्ण क्षेत्र हो,’ उनले भने, ‘यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने अर्कोतिर हाम्रो आर्थिक, सामाजिकलगायत समग्र राष्ट्रिय विकासका लागि महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ भन्ने मलाई लागेको छ।’
राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरू हाम्रा विभिन्न जातजातिको पुर्ख्याैली पेसा र सीपमा आधारित मौलिक उत्पादन भएकाले सजिलै यसको नक्कल हुन नसक्ने भएकोले यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए।
उनले हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरणका लागि आवश्यक पर्ने कार्यक्रम, तालिमहरू सञ्चालनार्थ संघ, प्रदेश, स्थानीय सरकारसहित निजी क्षेत्रको साझेदारीमा हस्तकलाग्राम स्थापना गर्न आवश्यक रहेको प्रस्ट पारे।
स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु उत्पादन गर्ने भएकाले यो व्यवसायमा संलग्न उद्यमीलाई सरकारले प्रोत्साहन गर्नुपर्दछ।
राष्ट्रपति पौडेलले विश्व बजार प्रतिस्पर्धी बन्दै गइरहेको वेलामा नेपाली हस्तकलाको समान निर्यात गर्दा क्रियाशील उत्पादन, बजारको माग, वस्तुको डिजाइन र विकास गुणस्तरीय वस्तु, मूल्य निर्धारण, राम्रो प्याकेजिङ, व्यापार मेला र प्रर्दशनीमा सहभागी, प्रचार, प्रवर्द्धन, अनुसन्धान, विकास र प्रतिलिपि अधिकारमा विशेष ध्यान पुर्याउन आवश्यक रहेको बताए।
सो क्रममा राष्ट्रपति पौडेलले प्रर्दशनीमा राखिएका विभिन्न स्टलहरूको अवलोकन गरेका थिए। राष्ट्रपति पौडेलले उत्कृष्ट हस्तकला निर्यातकर्तालाई सम्मान गरे।