इजरायल र हमासबीचको युद्ध चर्किंदै जाँदा विश्वको ध्यान युक्रेनबाट गाजातर्फ केन्द्रित भएको छ । तर, युक्रेनलाई उपेक्षा गर्नु ठूलो भूल हुनेछ र यो सबैले बुझेकै कुरो हो । भ्लादिमिर पुटिनको आक्रामक युद्धको दोस्रो वर्षगाँठ नजिकिँदै गर्दा रुसमाथि लगाइएका अभूतपूर्व पश्चिमा प्रतिबन्ध किन प्रभावकारी भएनन् भनेर बुझ्न आवश्यक छ ।
विश्लेषकका आकलनविपरीत पश्चिमा प्रतिबन्धका कारण रुसी अर्थतन्त्र ध्वस्त भएको छैन । बरु अर्थतन्त्र सुस्त गतिमा भए पनि बढिरहेको छ । यसका पछाडि रुसी निर्यातको निरन्तर माग रहेको छ, विशेषतः तेल र ग्यासको मामिलामा माग बलियो छ । यदि युरोपले रुसी तेल र ग्यास खरिदमा कटौती गर्यो भने पनि रुसले भारत र चीनजस्ता अन्य इच्छुक खरिदकर्ता पाइ नै हाल्छ ।
व्यापारिक साझेदारको परिवर्तन रुसका लागि ठूलो खर्च हो र यो खर्च मुख्य रूपमा यातायातका कारण हुने गर्छ । तर, तेल, कोइला, सुन, तामा र विभिन्न कच्चापदार्थजस्ता वस्तुको कुल लागतमा हुने वृद्धिदर केही प्रतिशत मात्रै हुन्छ । ढुवानी गर्न गाह्रो हुने भएकाले उल्लेखनीय अपवादका रूपमा प्राकृतिक ग्यासलाई लिन सकिन्छ । युक्रेनमा आक्रमण गर्नुअघि रुस युरोपको सबैभन्दा ठूलो ऊर्जा आपूर्तिकर्ता थियो । रुसले युरोपेली संघको प्राकृतिक ग्यासको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगट्थ्यो ।
सन् २०२२ को गर्मीयाममा रुसले पनि प्रतिक्रियात्मक कदम चालेको थियो, अर्थात् उपलब्ध गराउने गरेको ग्यासमा कटौती गर्ने प्रयास गरेको थियो । नतिजा विश्वव्यापी ग्यासको मूल्य छोटो समयका लागि वृद्धि भएको थियो । यसले युरोपेली खरिदकर्तालाई वैकल्पिक आपूर्तिकर्ताबाट तरलीकृत प्राकृतिक ग्यास मगाउन बाध्य बनायो । यसले विशेषतः आर्थिक वृद्धिमा अवरोध निम्त्याउने चिन्ता बढाएको थियो ।
तर युरोपेली अर्थतन्त्रमा खासै प्रभाव परेन विशेषतः जर्मनीको हकमा आकलनभन्दा कम प्रभाव प¥यो । अथात्, आकलनविपरीत जर्मनीमा कुनै किसिमको मन्दी देखिएन । जर्मन कम्पनीले ग्यास खपतमा २० प्रतिशतको कटौती गरे पनि समग्र औद्योगिक उत्पादन स्थिर रह्यो । ऊर्जाप्रधान क्षेत्रमा आएको गिरावटलाई अन्य क्षेत्रमा भएको वृद्धिले सन्तुलित ग¥यो ।
यो लचिलोपन आंशिक रूपमा बढेको ऊर्जा दक्षता र वैकल्पिक इन्धनका कारण सम्भव भएको हो । यसबाहेक प्राकृतिक ग्यासको मूल्य युद्धअगावैको अवस्थामा पुग्यो । रुसको आफ्नो ग्यास निर्यातलाई युरोपविरुद्ध हतियारका रूपमा प्रयोग गर्ने प्रयासले आफ्नै आम्दानी गुमायो, किनभने रुसले युरोपमा आपूर्ति गर्ने ग्यास सजिलै अन्यत्र बेच्न सक्दैन । चीनमा आपूर्ति गर्न आवश्यक बहुप्रतीक्षित वैकल्पिक पाइपलाइन अझै योजनाकै चरणमा छ र चीनले बारम्बार यसको अन्तिम स्वीकृति स्थगित गर्दै आएको छ ।
रुसमाथि पश्चिमा प्रतिबन्धको सीमित सफलता र साथै रुसको प्रति–प्रतिबन्ध अस्वाभाविक होइन । यसअघि पनि कैयौँ मुलुकले व्यापारलाई अस्त्रका रूपमा प्रयोग गरेका छन् र मिश्रित नतिजा आएका छन् । उदाहरणका लागि आफूभन्दा निकै सानो अस्ट्रेलियाविरुद्ध ‘आर्थिक दबाब’ (पश्चिमा देशले अरूले लगाएको प्रतिबन्धलाई वर्णन गर्न प्रयोग गर्ने शब्द)मा चीनको प्रयास बारम्बार असफल भएको छ ।
अन्य देशले व्यापारलाई अस्त्रको रूपमा प्रयोग गर्ने भएकाले युरोपले खुला व्यापारका लागि आफ्नो कथित ‘सरल’ प्रतिबद्धता त्याग्नुपर्छ भन्ने तर्क खासै प्रभावकारी छैन । रणनीतिक सञ्चितिको स्थापना गरेर युरोपेली देशले अपेक्षाकृत कम लागतमा महत्वपूर्ण कच्चापदार्थमा चीनको डरलाग्दो नियन्त्रणलाई कम गर्न सक्छन् । यसबाहेक विश्व बजारले धेरैजसो चिनियाँ उत्पादनका लागि विकल्प उपलब्ध गराउन सक्छ ।
यदि चीनले युरोपेली संघ वा पश्चिमलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने विकल्प अपनाउँछ भने प्रमुख औद्योगिक उत्पादक मुलुकले चीनलाई समर्थन गर्ने सम्भावना छैन । यो विशेषतः सेमीकन्डक्टरका मामिलामा सही ठहरिन्छ, अर्थात् सेमीकन्डक्टरका लागि युरोप गैरचिनियाँ स्रोतमा निर्भर छ । यो अवस्थामा प्रोत्साहनविरोधी अनुसन्धानसहित विभिन्न उपायमार्फत चिनियाँ आयातलाई प्रतिबन्धित गर्ने युरोपेली आयोगको रणनीति शंकास्पद देखिन्छ । सौर्य प्यानल र वायु टर्बाइनजस्ता हरित संक्रमणका लागि आवश्यक उत्पादनमा यो नीति लागू गर्दा अन्योल देखिन्छ ।
त्यसैगरी अमेरिकामा चीनसँगको व्यापारिक सम्बन्धमा तर्कसंगत छलफल पनि लगभग असम्भव देखिन्छ । औपचारिक रूपमा राष्ट्रपति जो बाइडेन प्रशासनले केही निश्चित क्षेत्रमा कडा नियम लागू गर्दा व्यापार सम्बन्धको बहुमत हिस्सालाई जोगाउन खोजेको देखिन्छ । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले यो रणनीतिलाई ‘सानो आँगन र अग्लो बार’ अर्थात् महत्वपूर्ण क्षेत्रमा कडाइ र अन्यबाट लाभको नीतिसँग तुलना गरेका छन् । तथापि वास्तविकतामा चिनियाँ उत्पादनप्रतिको सदाको शत्रुताले कडाइलाई विस्तार गरेको छ । सुरुमा अमेरिकी नीति मुख्य रूपमा उन्नत सेमीकन्डक्टर र चिप बनाउने उपकरणलक्षित थियो, जुन प्रायः युरोपमा उत्पादन हुने गर्छ । तर, अब कडाइमा ब्याट्री र सम्पूर्ण विद्युतीय–वाहन आपूर्ति शृंखला पनि समावेश छन् ।
चीन, युरोप, अमेरिका र अन्य पश्चिमी राष्ट्रबाट हुने आर्थिक दबाबका प्रायः अतिरञ्जित र व्यवस्थित खतराका बाबजुद कथित जोखिम सम्बोधन गर्न महँगो व्यापार अवरोध सिर्जना हुँदै छन् । केही पश्चिमा समर्थकले चिनियाँ आर्थिक दबाबको सीमित प्रभावलाई मान्यता दिएका छन् । र, तिनले ताइबान अतिक्रमणको सम्भावनाका कारण युरोपले चीनसँगको व्यापारमा प्रतिबन्ध लगाउनुपर्ने सुझाब दिन्छन् । यदि यसो हुन्छ भने पश्चिमा मुलुक साकार हुन असम्भव परिदृश्यको लागत व्यहोर्ने जोखिम उठाइरहेका छन् । नीति–निर्माताले अनुमानमा भर पर्नुको सट्टा अनुभव र ठोस आर्थिक तर्कमा आधारित निर्णय गर्नुपर्छ । चीनसँगको व्यापारिक सम्बन्ध कायम राख्दा हुने लाभ भूरणनीतिक लचिलोपनको सैद्धान्तिक लाभभन्दा धेरै छन् ।
(ग्रोस बोकोनी विश्वविद्यालयको इन्स्टिट्युट फर युरोपियन पोलिसी–मेकिङका निर्देशक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट