बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

बिहिबार, २८ मंसिर, २०८०
डिजिटल संस्करण
बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

सिम्रौनगढ– १, ननसगराढाँटका २५ वर्षीय मृतक लक्ष्मी मुखिया विन

मेयर किशोरी साहले लगेका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न अवरोध गर्दा सिम्रौनगढमा झडप

बाराको सिम्रौनगढ नगरपालिकामा मेयरले लगेका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न अवरोध गर्दा भएको झडप नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा एक युवकको ज्यान गएको छ । हवाई फायरका क्रममा टाउकोमा गोली लागेका सिम्रौनगढ– १, ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया विनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

नगरपालिकामा दुई महिनादेखि प्रमुख प्रशासकीय खाली रहेकोमा मेयर किशोरी साह कलवारले नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई लिएर हाजिर गराउन कार्यालय पुगेपछि तनावको स्थिति बनेको थियो । साउनदेखि तलब नपाएका शिक्षक तथा कर्मचारी दुई महिनादेखि निरन्तर आन्दोलनमा छन् । यसैक्रममा बुधबार शिक्षक–कर्मचारीलाई नगरपालिकाको गेटबाट हटाउन खोज्दा झडप भएको हो । अहिलेसम्म बजेटसमेत पास हुन नसकेको नगरपालिकाको आर्थिक कारोबारसहित कामकाज ठप्प छ । 

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले आन्दोलनरत शिक्षक, कर्मचारीभन्दा पनि असन्तुष्ट समूह (वडाध्यक्षलगायत जनप्रतिनिधिमार्फत आएकाहरू)ले मेयर र प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास गर्दा घटना भएको बताए । ‘मेयर किशोरी साह कलवार नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई लिएर नगरपालिकाको कार्यालय पुगेपछि तनावको स्थिति सिर्जना भएको थियो । उहाँहरू आफ्नो कार्यकक्षमा गइसक्दा पनि झ्याल, ढोका फोड्न थालिएपछि प्रहरीले बल प्रयोग गरेको हो,’ सापकोटाले भने, ‘तर, हवाई फायर गर्दा कसरी व्यक्तिलाई लाग्न पुग्यो भनेर यकिन हुन सकेको छैन । यसबारे प्रशासनले छानबिन गर्छ ।’ उनका अनुसार भिड नियन्त्रण गर्न प्रहरीले ४५ राउन्ड अश्रुग्यास र २२ राउन्ड हवाई फायर गरेको थियो ।

बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले आन्दोलनकारीको ढुंगा प्रहारबाट ११ प्रहरी पनि घाइते भएको बताए । प्रहरीले लाठीचार्जबाट स्थिति नियन्त्रणमा लिन नसकेपछि हवाई फायर गर्नुपरेको उनको दाबी छ । ‘सुरुमा प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो,’ उनले भने, ‘त्यही क्रममा आन्दोलनकारी अझ उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन टियरग्यास र हवाई फायर भएको हो ।’ 

मेयर कलवारले भने आफू प्रशासकीय अधिकृतसहित नगरपालिकामा पुग्दा योजनाबद्ध तरिकाले आक्रमण भएको बताए । आफू र प्रशासकीय अधिकृतलाई ज्यान मार्ने योजनाअनुसार आक्रमण भएपछि प्रहरीले रोक्न खोज्दा गोली लागेको उनले बताए । 

नगरपालिकाको आर्थिक कारोबारसहित कामकाज ठप्प भएकाले यहाँ कर्मचारीले तलब पाउन सकेका छैनन् । गत १० असारमा बजेटको खुला सत्र भइरहेका वेला उपमेयर नजमु सेहर र केही वडाध्यक्षले विरोध गरेपछि नगर सभा स्थगित भएको थियो । यसबीचमा तीनपटक नगर सभा हुँदा पनि बजेट पास हुन सकेको छैन । मेयर कलवारले भने ७४ करोड ४६ लाखको बजेट पारित भइसकेको दाबी गर्दै आएका छन् । 
 

सुझावित समाचार