तातोपानीका ३३ सय घरको बिमा, पाँच लाख दाबी भुक्तानी पाउने

बुधबार, २७ मंसिर, २०८०
डिजिटल संस्करण

 तातोपानी गाउँपालिकाले पालिकाभरि रहेका सबै घरको बिमा गरिदिएको छ । गाउँ कार्यपालिकाको कार्यालयले सबै अर्थात् तीन हजार तीन सय घरको बिमा शिखर इन्स्योरेन्स कम्पनीमा गरिदिएको हो । पालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले शिखर इन्स्योरेन्स कम्पनीसँग एउटा घर पनि नछुट्ने गरी बिमा गरेको बताए ।

उनले भने, ‘विपत् आएर क्षति भइसकेपछि पालिकाले दिएको १०–१५ हजार राहतले कुनै आवश्यकता पूर्ति हुने देखिएन । सबैलाई थौरै–थोरै राहत दिनुभन्दा एकमुष्ट बिमा गरिदिएपछि नागरिक पनि ढुक्क, पालिका पनि ढुक्क । थोरै राहत दिएर पन्छिने अवस्था नआओस् भनेर यसो गरेका हौँ ।’ जनतालाई राहत दिन छुट्याएको रकम खर्च गरेर बिमा गरिएको छ । अब केही विपत्बाट घर भत्किएको खण्डमा नागरिकले उचित राहत पाउने पालिकाले जनाएको छ ।

बाढीपहिरोपछि राहत वितरणमा ढिलाइ हुने, तथ्यांक संकलनमै महिना बित्ने, तत्काल राहत नपाएको भन्ने गुनासो उत्तिकै आउनेजस्ता समस्या रहेकाले घरको बिमा गरिदिएपछि सबै समस्याबाट मुक्त भइने अध्यक्ष चौलागाईंले उल्लेख गरे ।जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानीले सबैभन्दा पहिले घर बिमा कार्यक्रम ल्याएको हो ।शिखर इन्सोरेन्सका कर्णाली इन्चार्ज ऋषिराम पाण्डेले पालिकाले प्रतिधुरी चार सय ६६ रुपैयाँ बिमाशुल्क तिरिदिने बताए । जसमा घरधनीले बिमाशुल्क थपेर बढी रकमको बिमा गर्न पनि सक्ने उल्लेख छ । 

See More On

सुझावित समाचार