नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोज्ने पाँचजना उदयपुरको घुर्मी बजारबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार मंगलबार कटारी नगरपालिका– १४ मा पर्ने घुर्मी बजारबाट पाँचजनालाई पक्राउ गरिएको हो।
थापाका अनुसार कोशी प्रदेशको पुनः नामकरणको माग गर्दै हर्कपुर बजारमा आयोजना हुने एमालेको आमसभा रोक्न खोजेको आरोपमा पाँचजना पक्राउ परेका हुन्।
‘पाँचैजना एमालेको संकल्प यात्रा बिथोल्न खोज्नेहरू हुन्, व्यक्तिको नाम यकिन भएन,’ उनले भने, ‘हालसम्म पाँचजना पक्राउ परेका छन्।’
एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पाँचजनालाई पक्राउ गरेको एसपी थापाको भनाइ छ। एमालेको मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्रालाई रोक्न भन्दै पहिचान पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरेका थिए।
एमालेको मध्यपहाडी लोकमार्गकेन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रमममा आज मंगलबार कोशी प्रदेशको ओखलढुंगा जिल्लामा पर्ने हर्कपुर बजारमा आमसभा कार्यक्रम रहेको थियो।