रोमाञ्चक खेलमा पोखरा थन्डर्समाथि काठमाडौं रेजर्सको जित

नेपाल सुपर लिग २०२३

सोमबार, २५ मंसिर, २०८०
डिजिटल संस्करण
रोमाञ्चक खेलमा पोखरा थन्डर्समाथि काठमाडौं रेजर्सको जित

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

पूरै खेल अवधिभर हाबी भए पनि अन्तिम आठ मिनेट सम्हालिन नसक्दा पोखरा थन्डर्स एफसीले राजधानीमा जारी नेपाल सुपर लिग २०२३ मा महत्त्वपूर्ण तीन अंक काठमाडौं रेजर्सलाई सुम्पिएको छ।

दशरथ रंगशालामा भएको खेलमा अधिकांश समय पोखरा थन्डर्स हाबी रह्यो। पोखराका लागि ५७औँ मिनेटमा आयुष घलानले गरेको गोलको कारण काठमाडौं रेजर्स १– ले पछि थियो। 

तर, खेलमा उही भयो, जुन गोल गर्ने टिमले आत्मसाथ गर्दै आएको छ। अर्थात्, खेल अवधिभर जसको कब्जा भए पनि खेल जित्न गोल आवश्यक थियो। र, ८२औँ र इन्जुरी समयमा एक–एक गोल गर्दै काठमाडौं रेजर्सले त्यो हक दर्ता गर्‍यो। 

पोखरा खेलमा अगाडि रहेकै अवस्थामा ८२औँ मिनेटमा दीपेश गुरुङको पासमा जुनियर एन्केन्ग्वेले काठमाडौंका लागि बराबरी गोल गरे। काठमाडौं त्यतिमा मात्र रोकिएन। उज्वेकी खेलाडी जोकिर इन्जुरी समयमा उज्वेकिस्तानका फरवार्ड जोकिर उगली सोख रुखुले गोल गर्दै काठमाडौं रेजर्सलाई २–१ को रोमाञ्चक जित दिलाए। उज्वेकिस्तानकै तोजिदिनोभले दिएको लामो पास नियन्त्रण गर्न पोखराका गोलकिपर प्रिसो अगाडि बढेको मौकामा सोख रुखुले आकर्षक तरिकाले चिप गर्दै बललाई पोस्टको दिशा दिएका थिए। 

आजको जितपछि काठमाडौं रेजर्स पाँच खेलबाट आठ अंक हासिल गर्दै लिगको चौथो स्थानमा उक्लिएको छ। आजको खेलमा पराजित भए पनि पोखराको आठ अंक नै छ र ऊ तेस्रो स्थानमा कायम छ। 

सुझावित समाचार