शिव शिखर सहकारीका सञ्चालकलाई ल्याइयो कञ्चनपुर

तीन हजार ६७१ बचतकर्ताले ३१ करोड, ९७ लाख तीन हजार नौ सय ५५ रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएपछि प्रहरीले शिव शिखर सहकारीका चार सञ्चालकलाई अनुसन्धानका लागि कञ्चनपुर ल्याएको हो

सोमबार, २५ मंसिर, २०८०
डिजिटल संस्करण

ठगीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका शिव शिखर बहुउद्देश्यी सहकारीका चार सञ्चालकलाई थप अनुसन्धानका लागि कञ्चनपुर ल्याइएको छ । भक्तपुरमा केन्द्रीय कार्यालय भई विभिन्न जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको ठगी प्रकरणमा पक्राउ परेका सञ्चालकलाई कञ्चनपुर ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले पक्राउ परेका सञ्चालकहरू गीता शर्मा, केदार शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारीलाई जिल्ला ल्याइएको जानकारी दिए । प्रवक्ता डाँगीका अनुसार कञ्चनपुरस्थित सहकारीको शाखा कार्यालय महेन्द्रनगर, त्रिभुवन बस्ती, बेलौरीका बचतकर्ताबाट आएको उजुरीमाथि अनुसन्धानका लागि उनीहरूलाई जिल्ला झिकाइएको हो ।

आरोपितलाई यसअघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरिसकेको थियो । ‘ती सञ्चालकविरुद्ध जिल्लामा समेत उजुरी परेकाले उनीहरूलाई झिकाएर अनुसन्धान अघि बढाएका छौँ,’ प्रवक्ता डाँगीले भने । कञ्चनपुरमा उक्त सहकारीले करोडौँ रकम हिनामिना गरेको उजुरी परेको छ । तीन हजार ६७१ बचतकर्ताले ३१ करोड, ९७ लाख, तीन हजार, नौ सय ५५ रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा निवेदन दिएका छन् । सहकारीको ठगी प्रकरण सार्वजनिक भएयता जिल्लाका तीनवटै शाखा कार्यालय बन्द छन् । 

सुझावित समाचार