विधान सभा निर्वाचनमा ‘मोदी फ्याक्टर’

आइतबार, २४ मंसिर, २०८०
डिजिटल संस्करण

मोदीको शासनशैलीका कारण भाजपाले तीनवटा राज्यमा सानदार जित हासिल गरेको हो वा होइन भन्नेबारे जाँच गर्नुपर्छ 

मेरा छिमेकी एक वरिष्ठ इन्जिनियर प्रधानमन्त्री नरेन्द्र मोदीलाई भगवान् शिवको विशेष आशीर्वाद रहेको र विपक्षीलाई ध्वस्त नगरेसम्म उनी नरोकिने बताउँछन् । मध्यप्रदेश, राजस्थान र छत्तीसगढको चुनावमा भाजपाले आफ्ना समर्थकको माया अपेक्षाभन्दा बढी पाएपछि पार्टीभित्र झनै उत्साह बढेको छ । 

उत्साहका बाबजुद भाजपाले निश्चित रूपमा ठन्डा दिमाग लगाएर चुनावी परिणाम जाँच गर्नेछ । चुनावी नतिजालाई भाजपाले दिल्ली र पार्टीद्वारा शासित राज्यमा अपनाएको शासनशैलीको समर्थनको रूपमा हेर्न सकिन्छ । सन् २०२४ मा हुने संसदीय चुनावअघि आफ्नो शैलीमा सुधार गर्नुको सट्टा पार्टीलाई यस्तै काम गर्ने प्रलोभन हुनेछ ।

मोदीको शासनशैली वा प्रधानमन्त्री बलिया र विश्वसनीय नेता हुन् भन्ने धारणाका कारण भाजपाले तीनवटा राज्यमा सानदार जित हासिल गरेको हो त भनेर हामीले जाँच गर्नुपर्छ । एउटै सिक्काका दुई पाटाजस्तो लागे पनि मोदी फ्याक्टर र समग्र शासन फरक छन् । भिन्नता महत्वपूर्ण छ । 

तथ्य के हो भने मोदीले राज्यको चुनावमा एउटा कोलोसस (एक प्रकारको राक्षस)को रूपमा प्रभुत्व जमाए । कंग्रेसले प्रधानमन्त्रीप्रति सर्वसाधारणको सद्भावनालाई ‘पन्चर’ गराउने प्रयास गरे पनि उपयुक्त परिणाम आउन सकेको छैन ।

मोदी नेताभन्दा पनि धेरै विशेषता भएका व्यक्तित्व हुन् । जातीय प्रभाव र स्थानीय सरकारप्रति जनताको सन्तुष्टि वा असन्तुष्टिजस्ता निर्वाचनसँग सम्बन्धित अन्य मुद्दासँग प्रतिस्पर्धा गर्ने कारक हुन्, उनी । राजस्थानमा भाजपाले जित्यो, किनकि सत्ता फ्याक्टरले कंग्रेसलाई सीमित गर्यो, जबकि सत्ताविरोधी भावनाका बाबजुद पार्टीले मध्यप्रदेशमा आधार हासिल गर्यो ।

पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले ‘इन्दिरा फ्याक्टर’का कारण सन् १९८४ मा उनको हत्या हुनुअघिसम्म लगभग दुई दशकसम्म चुनाव जितिन् । उनका कट्टर समर्थकले यसलाई ‘दुर्गा सिन्ड्रोम’ पनि भने । उनको नेतृत्वमा रहेका कंग्रेसी भ्रष्ट र अहंकारी थिए । यसले उनको लोकप्रियतालाई असर गरेन वा उनको आकर्षण घटाएन । गान्धी प्राथमिक भोट प्राप्तकर्ता बन्न थालेपछि कंग्रेस नेताहरूले उनको अनावश्यक प्रशंसा गरे र धेरै प्रमुख राजनीतिज्ञलाई निर्वाचन अभियानमा क्षमताहीन व्यक्तिको रूपमा व्याख्या गरे ।

भाजपा अहिले उस्तै स्थितिमा छ र मोदीलाई प्राथमिक भोट आकर्षित गर्न सक्ने व्यक्तिको रूपमा चित्रित गरिएको छ । यद्यपि योगी आदित्यनाथले उत्तर प्रदेशमा जनताको एक वर्गमा एक प्रकारको धार्मिक समूह बनाएका छन् र शिवराज सिंह चौहानको मध्य प्रदेशमा आफ्नै बलिया अनुयायी छन, तिनीहरू ‘मोदी ग्रह’का केवल उपग्रह हुन् । योगी र चौहान उनीहरूलाई समर्थन जनाउने मोदी फ्याक्टरविना शक्तिहीन हुनेछन् । हालैको विधान सभा चुनावपछि, भाजपालाई राम मन्दिरको मुद्दा वा सनातन धर्म बहसजस्ता मसला आवश्यक पर्दैन, जबसम्म मोदी सन् २०२४ मा तुफान प्रचार भ्रमणहरू गर्न उपलब्ध हुनेछन् । यही एउटा कारक पर्याप्त छ । यो कारकले आफ्नो प्रभाव कायम राखेको प्रमाण चुनावी नतिजा हुन् । 

प्रधानमन्त्री र उनको सरकारले सुशासनमा ध्यान दिनुपर्ने र कल्याणकारी योजनाको वितरणमा सुधार गर्नुपर्ने वेला आएको छ । धेरै मुद्दाहरूले ध्यानाकर्षणका लागि आवाज उठाइरहेका छन् । ग्रामीण क्षेत्रमा पर्याप्त चिकित्सक र स्वास्थ्य उपकरणको अभाव पनि एउटा मुद्दा हो ।

राजमार्ग निर्माणको सुरुङमा १७ दिनदेखि ४१ जना मजदुर फसेको पछिल्लो संकट एउटा उदाहरण हो । यो घटनाले डिजाइन र निर्माण कार्यबारे मात्र होइन, सरकार र पर्यवेक्षक निकायले कसरी कामदारका लागि उम्कने बाटो नभएको यस्तो एकतर्फी निर्माण कार्यलाई अनुमति दियो भन्नेबारे गम्भीर प्रश्न खडा गरेको छ ।

सुरुङ संकटले यो देखाउँछ कि कर्मचारीतन्त्र विशेषगरी सरकारी आयोजनाको सुपरीवेक्षणमा संलग्नकर्ताको आफ्नै सोच छ । यी स्वयंसेवा गर्ने अधिकारीलाई अर्को घटनाहुनुअघि पहिचान र दण्डित गर्न आवश्यक छ ।

मोदी फ्क्याटरले विहारबाहेक हिन्दी बोलिने अन्य भेगमा सबै मुद्दालाई उछिनेको छ, जसको परीक्षण हुन बाँकी छ । मन्दिरको मुद्दाजस्तै भाजपाका अधिकांश अभियान हिन्दी बेल्टमा केन्द्रित छन् । यी अभियान आवश्यक नहुन सक्छन् । 

चुनावी प्रचारप्रसारका लागि विभिन्न प्रदेशमा मन्त्री तथा सांसद पठाउने सत्तारुढ दलले अब आयोजना र सरकारी योजनाको कार्यान्वयनको नजिकबाट अनुगमन र सुपरीवेक्षण गर्न आग्रह गर्नुपर्छ ।

चुनावी नतिजाहरूले एउटा महत्वपूर्ण प्रश्न खडा गरेको छ, के मोदी फ्याक्टरजस्ता विषयविरुद्ध मतदातालाई प्रभाव पार्नका लागि नि:शुल्क सेवा पर्याप्त छन् ? राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले दिएको नि:शुल्क सुविधाले कंग्रेसलाई आफ्नो कब्जामा ठूलो संख्यामा रहेको सिट गुमाउनबाट रोक्न सकेन ।

सहरी आवश्यकता पूरा गर्न तमिलनाडुमा लोकप्रिय सस्तो चामल वितरण योजनाजस्ता नि:शुल्क सुविधा अब परिवर्तन हुन थालेका छन् । सबै दलका राजनीतिज्ञ मतदातालाई बहकाउन मात्र नभई ठुल्ठूला वाचा गर्ने प्रतिद्वन्द्वी दलसँग प्रतिस्पर्धा गर्न यस्ता नि:शुल्क सेवा प्रदान गर्न बाध्य हुनेछन् । 

तर, सबै पक्षहरूले समान प्रस्ताव गर्ने परिदृश्यमा यो कत्तिको उपयोगी छ भन्ने प्रश्न अझै बाँकी छ । केन्द्रमा सत्तारुढ दल भएकाले भाजपाले नि:शुल्क सुविधाले राष्ट्रिय कोषमा थोपर्ने तनाव र पूर्वाधार विकास र अन्य कार्यक्रमका लागि आवश्यक कोषको रकम कसरी घटाउने भनेर चिन्ता गर्न आवश्यक छ । स्वदेश र विदेशमा एउटा प्रशंसनीय नेताका रूपमा प्रधानमन्त्रीसँग प्रभावकारी प्रशासक र राजनीतिज्ञको रूपमा आफ्नो विरासतमा चिन्तित हुनुपर्ने कारण छन्, जुन चुनावी विजेताको छविभन्दा पनि ठूलो छ । यसकारण भाजपाले चुनावी नतिजा र मोदी छविको शक्तिको पुष्टि गर्ने अवसरलाई प्रदर्शन र वितरणमा केन्द्रित गर्न प्रयोग गर्नुपर्छ ।

(दासगुप्ता भारतीय पत्रकार, लेखक र चीन विशेषज्ञ हुन्)

– एनडिटीभिबाट
 

See More On

सुझावित समाचार