रगत परीक्षणबाटै शरीरको अंगको आयु पत्ता लगाउन सकिन्छ : अध्ययन

आइतबार, २४ मंसिर, २०८०
डिजिटल संस्करण

५० वर्षभन्दा माथिका प्रत्येक पाँचमध्ये एकजनाको उमेरभन्दा छिटो अंगको आयु घट्दो 

अमेरिकास्थित स्ट्यानफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले हालै गरेको एक अनुसन्धानले रगत परीक्षणबाटै शरीरको कुन अंगको आयु कति छ भन्ने पत्ता लगाएका छन् । साथै, शरीरका कुनै अंग फेल (काम नगरिरहेको) हुने सम्भावना छ कि भनेरसमेत रगत परीक्षणबाट थाहा पाउन सकिने उनीहरूले बताएका छन् । वैज्ञानिकहरूको टोलीले मुटु, मस्तिष्क र फोक्सोलगायत शरीरका ११ अंगको अवस्था रगत परीक्षणबाट थाहा पाउन सकिने निष्कर्ष निकालेका हुन् । 

नेचर जर्नलमा हालै प्रकाशित उक्त अध्ययन रिपोर्टअनुसार हजारौँ वयष्कमाथि अनुसन्धान  एवं परीक्षण गरिएको थियो । परीक्षणले ५० वर्षभन्दा माथिका पाँचमध्ये एक स्वस्थ वयस्क व्यक्तिमा उमेरभन्दा छिटो उसको अंगको आयु घटिरहेको पाइएको छ । र, प्रत्येक सयमध्ये दुईजनासम्ममा कम उमेरमै विभिन्न अंगले काम गर्न छाडिरहेको समेत अध्ययनले देखाएको छ । 

स्वास्थ्य विज्ञहरूले अंगहरूको उमेर परीक्षण गरेर जटिल समस्याको समयमै उपचार गर्न सकिने भएकाले यो अनुसन्धान निकै महत्वपूर्ण भएको दाबी गरेका छन् । जस्तै, मुटुको उमेर (मुटुको एजिङ)को गति पत्ता लगाएर यसबाट हुन सक्ने हृदयाघातको समस्या र मस्तिष्कको एजिङ हेरेर डिमेन्सियालगायत समस्याको समाधान खोज्न सकिने उनीहरूको भनाइ छ । अध्ययनले एक वा धेरै अंगहरू छिटो बुढ्यौली हुनुलाई अर्को १५ वर्षमा निश्चित दीर्घरोगको समस्या देखिने र मृत्युको उच्च जोखिमसँग जोडिएको समेत देखाएको हो । यसका लागि अनुसन्धानकर्ताले ११ वटा मुख्य अंगको परीक्षण गरेका थिए । जसमा मस्तिष्क, मुटु, कलेजो, फोक्सो, आन्द्रा, मिर्गाैला, बोसो, रक्तनली, इम्युन टिस्यु, मांसपेशी र प्यानक्रियाज थिए ।

रगतमा रहेको प्रोटिनको ढाँचाअनुसार अंगको अवस्था पत्ता लगाउन प्रोटिनको स्तरमा परीक्षण गरिएको थियो । अनुसन्धानकर्ताले हजारौँ नतिजा र बिरामीको डेटा प्रयोग गरेर भविष्यवाणी गर्न मेसिन–लर्निङ एल्गोरिदम विधि अपनाएका थिए । अनुसन्धान गरिरहेको समूहका डा. टोनी वाइस–कोरेले भनेका छन्, ‘जब हामीले प्रत्येक व्यक्तिका लागि यी अंगहरूको जैविक उमेरलाई गम्भीर रोग नभएका मानिसको समूहसँग तुलना गर्यौँ, यसबाट पत्ता लगायौँ कि १८ दशमलव ४ प्रतिशतमा कम्तीमा एउटा अंग औसतभन्दा धेरै छिटो बुढो भएको थियो ।’ डा. कोरेका अनुसार यी व्यक्तिहरूमा १५ वर्षभित्रमा कुनै न कुनै समस्या देखिने प्रबल सम्भावना देखिन्छ । यद्यपि, यसका लागि नियमित स्वास्थ्य परीक्षण गर्न जरुरी देखिएको छ । 

डा. वाइस–कोरेका केही पहिलेका अध्ययनले जैविक बुढ्यौली प्रक्रिया स्थिर नभएको, तर ३० वर्ष, ६० र ७० वर्षको उमेरमा अंगहरूमा बुढ्यौली तीव्र गतिमा बढ्ने गरेको पुष्टि गरिसकेका छन् । उनको पछिल्लो यस अनुसन्धानको निष्कर्षबारे लन्डनको क्विन मेरी युनिभर्सिटीका उमेर सम्बन्धित स्वास्थ्य र रोगका विशेषज्ञ प्रोफेसर जेम्स टिमन्सले समेत टिप्पणी गरेका छन् । जैविक उमेरका रगत मार्करमा अध्ययन गरिरहेका उनले भनेका छन्, ‘डा. वाइस–कोरेको पछिल्लो निष्कर्ष प्रभावशाली छ, तर धेरै व्यक्तिमा विशेष गरी विभिन्न जातीय पृष्ठभूमिका युवामा प्रमाणीकरण आवश्यक हुन सक्छ । ’

तर, अनुसन्धान गरिरहेका वैज्ञानिकको समूहले अझै ५० हजारदेखि एक लाख स्वस्थ व्यक्तिमा अध्ययन गर्दा थप स्पष्ट हुने बताएको छ । अन्य वैज्ञानिकले एउटा अंग मात्रै नभएर पूर्ण शरीरमा रगतको अवस्था जाँच गरिनुपर्ने र कतिपयले यो परीक्षणले मानिसमा स्वास्थ्य समस्याप्रति डरसमेत पैदा गर्न सक्ने भएकाले त्यसको समाधानका लागि तयारी गर्नुपर्नेजस्ता टिप्पणी गरेका छन् ।

सुझावित समाचार