टुंगियो काठमाडौंको अपराजित यात्रा

साबिक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिगको चौथो खेलमा आएर व्यहोर्‍यो हार, समग्रमा १३ खेल खेल्दा तेस्रो पराजय

आइतबार, २४ मंसिर, २०८०
डिजिटल संस्करण
टुंगियो काठमाडौंको अपराजित यात्रा

बलका लागि संघर्ष गर्दै धनगढी (पहेँलो) र इलामका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

गत सिजन धनगढीलाई फाइनलमा १–० ले हराउँदै उपाधि जितेको काठमाडौंले यसपटक उपाधि रक्षा गर्ने रणनीति बनाए पनि सोअनुसार प्रदर्शन गर्न सकेको छैन ।

साबिक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको चौथो खेलमा आएर अपराजित यात्रा टुंग्याएको छ । दशरथ रंगशालामा शनिबार राति भएको खेलमा काठमाडौं बुटवल लुम्बिनीसँग २–१ ले पराजित भयो । बुटवललाई जित दिलाउन विदेशी खेलाडी स्टेफन समीर बिनोङ र कप्तान तथा मार्की एरिक विष्टले समान एक गोल गरे । काठमाडौंका राजीव लोप्चनले एक गोल फर्काए । बुटवलले दुवै हाफमा समान एक गोल गरेको थियो । राजीवले सात मिनेट थपिएको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरेका थिए । दोस्रो जितसँगै पाँच खेलमा सात अंक जोडेको बुटवल तेस्रो स्थानमा उक्लिएको छ । पहिलो पराजय व्यहोरेको काठमाडौं सात अंकका साथ छैटौँ स्थानमा झरेको छ । गत सिजन धनगढीलाई फाइनलमा १–० ले हराउँदै उपाधि जितेको काठमाडौंले यसपटक उपाधि रक्षा गर्ने रणनीति बनाए पनि सोअनुसार प्रदर्शन गर्न सकेको छैन । चारमध्ये एक खेल मात्रै जितेको छ । दुई खेलमा अंक बाँड्न बाध्य भएको छ । समग्रमा काठमाडौंले एनएसएलमा १३ खेल खेल्दा तेस्रो हार व्यहोरेको हो । समग्रमा चार बराबरी खेल्यो । 

सिजनको पहिलो हारपछि प्रशिक्षक बालगोपाल महर्जनले भाग्यले साथ नदिएको बताएका छन् । ‘हामीलाई भाग्यले साथ दिएन । दोस्रो हाफ पूरा नियन्त्रणमा राखेका थियौँ । फुटबलमा यस्तो हुन्छ । हामी यसलाई स्वीकार गर्छाैँ,’ महर्जनले भनेका छन् । काठमाडौंले उद्घाटन खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–० ले हराएको थियो । दोस्रो खेलमा एफसी चितवनसँग १–१ गोलको बराबरी खेल्दा तेस्रो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । ‘हामीले खेलमा २० भन्दा बढी आक्रमण गरेका थियौँ । हामी विश्वास गर्छाैँ, बाँकी खेलमा सानदार प्रदर्शनसँगै प्ले–अफमा पुग्छौँ,’ महर्जनले खेलको बारेमा भने । उनले वीरगन्जले राम्रो खेलेको र पाएको अवसरमा गोल गर्न सफल रहेको बताएका छन् । 

बुटवलका प्रशिक्षक विजय महर्जनले रणनीतिअनुसार तीन अंक लिन सफल भएकोमा खुसी व्यक्त गरे । उनले शीर्ष तीनमा लक्ष्य राखेको बताएका छन् । ‘हामीले रणनीतिअनुसार नै खेल्न सफल भयौँ र तीन अंक जोडेका छौँ,’ महर्जनले भने, ‘खेलाडीले धेरै राम्रो खेले । गर्व छ । धेरै खुसी छु ।’ खेलको म्यान अफ दी म्याच दुवै गोलका लागि अवसर सिर्जना गरेका स्ट्राइकर जिलेस्पीजंग कार्की घोषित बने । उनले आफ्नो पोजिसनअनुसार खेल्दा सफल भएको बताएका छन् । 

स्टेफनले दिलाए बुटवललाई अग्रता 
खेलमा अग्रता बुटवलले बनाएको थियो । २९औँ मिनेटमा विदेशी खेलाडी स्टेफन भाग्यमानी रहे । काठमाडौंका रक्षक कुलदीप कार्कीले क्लियर गरेको बल स्टेफनको खुट्टामा लाग्दै गोल भएको थियो । बुटवलका सरोज तामाङको फ्रिकिक काठमाडौंका गोलकिपर अभिषेक बराल बन्च गर्छन् । रिबाउन्ड बललाई जितेस्पीजंग कार्कीले नियन्त्रणमा लिँदै बिनोङलाई पास उपलब्ध गराउँछन् । स्टेफनको प्रहार कुलदीपले क्लियर गरे पनि उनैको खुट्टामा लाग्दै गोल लाइन पार गरेको थियो । पहिलो हाफमा एक गोल गरेको बुटवलले ६१औँ मिनेटमा दोस्रो गोल गर्‍यो । कप्तान तथा मार्की एरिकले अग्रता दोब्बर बनाए । जिलेस्पीजंगको पासलाई एरिकले बक्सभित्रबाट उत्कृष्ट गोल गरेका हुन् । चालू एनएसएलमा एरिकको दोस्रो गोल हो । यसअघि प्रतियोगिताको १२औँ खेलमा इलामविरुद्ध विश्वस्तरीय फ्रिकिक गोल गरेका थिए । इन्जुरी समयमा राजीवले गोल गर्दै काठमाडौंलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल रहेन । यसअघि खेलको २६औँ मिनेटमा काठमाडौंका सोखरुखले गोल गरे पनि रेफ्रीले अफसाइटको इसारा दिएका थिए । पहिलो हाफको अन्तिम समयमा एरिकको फ्रिकिक बारमा लागेर फर्किएको थियो । 

इलाम र धनगढीको रोमाञ्चक बराबरी
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलाम एफसीले साबिक उपविजेता धनगढी एफसीविरुद्ध २–२ को बराबरी खेल्दै अंक बाँडेको छ । शनिबारको पहिलो खेलमा इलामले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । इलामका लागि फोडे कमारा र ओमान थिआमले गोल गरे । दोस्रो हाफमा धनगढीले उत्कृष्ट पुनरागमन गरे पनि दुवै टोली अंक बाँड्न बाध्य भएका हुन् । धनगढीका लागि रिचार्ड आग्यमाङ र आफिज ओलावाले गोल गरेका हुन् । 

बराबरीपछि धनगढी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । दुई जित र दुई बराबरी खेलेको धनगढीले चार खेलबाट ८ अंक जोडेको छ । समान खेलबाट ४ अंक जोडेको इलाम सातौँ स्थानमा छ । घाइते भएका मार्की तथा कप्तान विकेश कुथू खेलमा उपलब्ध भएनन् । विकेश घाइते हुँदा गोलकपिर समित श्रेष्ठले एनएसएलमा पहिलोपटक पूरा समय अवसर पाएका थिए । 

खेलपछि धनगढीका प्रशिक्षक युगलकिशोर राई भने आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेनन् । ‘पहिलो हाफमा धेरैपछि परे पनि दोस्रो हाफमा कमब्याक गर्न सफल भएका छौँ,’ राईले भने, ‘खेलमा हाम्रो खेलाडी बच्चाजस्तो देखिए । उनीहरूले केही पनि रणनीति पछ्याएनन् । जसले गर्दा गाह्रो भयो । 

इलामका प्रशिक्षक खेल राम्रो भए पनि अंक बाँड्दा खुसी भएनन् । उनी रेफ्रीको निर्णयमा भने खुसी रहेनन् । ‘खेल राम्रो थियो । तर, बराबरी हुनु नराम्रो रह्यो,’ केसीले भने, ‘रेफ्रीको निर्णय चित्त बुझ्दो रहेन । हामीले पनि अग्रता जोगाउन सकेनौँ ।’

इलामको पहिलो हाफमै दुई गोल 
इलामले पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा अग्रता बनायो । विदेशी खेलाडी फोडे कमाराले उत्कृष्ट गोल गरे । अमाथ एनडको क्रसमा फोडेले गोल गरेका हुन् । पहिलो हाफको इन्जुरी समयमा इलामका गोलकिपर मोहम्मद टाहाले गल्ती गरे । उनले फुत्काएको बललाई ओमान थियामले जाली चुमाए । नवीन लामाको कर्नर ताहाले नियन्त्रणमा लिन खोज्दा बल फुत्किएको थियो । 

६८औँ मिनेटमा धनगढीले अग्रता २–१ मा झार्‍यो । पेनाल्टीमा रिचार्ड आग्यमाङले गोल गरे । इलामका इब्राहिम जितेले बक्सभित्र फोडे फोफानालाई लडाएपछि धनगढीले पेनाल्टी प्राप्त गरेको थियो । खेल सकिन सात मिनेटअघि वैकल्पिक खेलाडी आफिज ओलावालले गोल गरेका थिए । फोफानाको पासमा ओलावालेले हेड गोल गरेका हुन् । बाँकी समय दुवै टोलीले गोलको अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । धनगढीका मार्की खेलाडी आशिष चौधरी, आफिज, अहमद हिजाजी र फोडे फोफाना गोल गर्नबाट चुकेका थिए । अन्तिम मिनेटमा वैकल्पिक खेलाडी रामचन्द्र वाजीको प्रहार पोलमा लागेर फर्किएपछि धनगढी जितबाट टाढा रहयो । 

See More On

सुझावित समाचार