६० महिनामा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई क्विन्टलभन्दा धेरै सुन बरामद

शनिबार, २३ मंसिर, २०८०
डिजिटल संस्करण
६० महिनामा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई क्विन्टलभन्दा धेरै सुन बरामद

गत २ साउनमा अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार हुँदै बाहिरिएको ६०.७१६ किलो सुन सिनामंगलबाट बरामद गरिएको थियो, जुन ‘ब्रेकसु’मा लुकाएर ल्याइएको थियो

३८ क्विन्टल सुन तस्करी प्रकरणले पाँच वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन, देश नै तरंगित बन्यो । घटनामा जोडिएका ४५ भन्दा धेरै अभियुक्त पक्राउ परे, तर तस्करी रोकिएन । फरक–फरक शैली र रूपमा तस्करी झन् मौलायो ।

गत २ साउनमा अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारको जाँचपास पार गरेर बाहिरिएको ६०.७१६ किलो सुन राजस्व अनुसन्धान विभागले पक्राउ गर्‍यो । उक्त सुन मोटरसाइकल र स्कुटरको ‘बे्रकसु’मा लुकाएर हङकङबाट क्याथे प्यासिफिकको जहाज हुँदै नेपाल ल्याइएको थियो । 

अनुसन्धानमा संलग्न अधिकारीले सोचेका थिए, घटनामा ठूलै व्यापारिक घराना संलग्न छन् । तर, अनुसन्धानपछि खुल्यो, बरामद सुन दुई महिनाअघि मात्रै खोलिएको रेडी ट्रेड नामको कम्पनीले तस्करी गरी ल्याएको रहेछ । ट्रेडका मालिक थिए– दोलखाका दिलीप भुजेल, जो रोजीरोटीका लागि काठमाडौंमा ज्याला–मजदुरी गर्दै आएका थिए । 

भुजेललाई कुख्यात तस्कर चिनियाँ नागरिक वाङ डाओजिनले प्रयोग गरेका थिए । वाङकै निर्देशनमा ट्रेडबाट दुई महिनाभित्र थप ३०२.०६२ किलो सुन तस्कर गरिएको थियो । जसमध्ये ६०.७१६ किलो सुन मात्रै बरामद हुन सकेको थियो । बाँकी २४१.३४६ किलो तस्करहरूले सफलतापूर्वक गन्तव्यसम्म पुर्‍याएका थिए ।

गत १० पुसमा फ्लाई दुबईको जहाज हुँदै अन्तर्राष्ट्रिय विमानस्थल झरेका चिनियाँ नागरिक ली हानसोङ इ–सिगरेट (विद्युतीय चुरोट)सहित पक्राउ परे । अनुसन्धानपछि इ–सिगरेटभित्र सुन रहेको खुल्यो । भन्सार विभागले बरामद सबै सिगरेटको ‘सिलिन्डर’ खोल्यो । लुकाई राखिएको सुन जम्मा गर्‍यो । तौल लिँदा नौ किलो रहेको खुल्यो । 

गत ८ पुसमा अन्तर्राष्ट्रिय विमानस्थलमै १९ किलो सुन बरामद भयो । फ्लाई दुबईको जहाजबाट विमानस्थल झरेका सुडानी नागरिक मोहम्मद महमेदले डफला साराफेन्दिनले उक्त सुन कपडामा स्प्रे गरी ल्याएका थिए । 

गत ८ कात्तिकमा पनि ‘स्प्रे’ गरिएको ४२९.८२० ग्राम सुनसहित भारतीय नागरिक ३९ वर्षीय मोहम्मद कसिम पक्राउ परे । उनी नेपाल एयरलाइन्सको जहाज हुँदै दुबईबाट काठमाडौं उत्रिएका थिए । उनले कार्टुन बक्सको भित्री तहमा ‘स्प्रे’ गरी सुन ल्याएका थिए । प्रहरीले उनलाई विमानस्थलबाट बाहिरिँदै गर्दा पक्राउ गरेको थियो । 

शंकास्पद कसिमलाई ‘एक्स–रे मेसिन’मा राखेर चेकजाँच गर्दा मलद्वारमा समेत सुनका दुईवटा ‘क्याप्सुल’ भेटियो । क्याप्सुल गाल्दा २५०.८५० ग्राम सुन फेला परेको थियो । जसलाई उनी भारत लैजाने तयारीमा थिए । 

कुवेतबाट जजिरा एयरको जहाज हुँदै काठमाडौं आएका भारतीय नागरिक ४१ वर्षीय फैजन अनवेर गत १७ फागुनको बिहान २:२० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिए । लगेजसहित आएका उनी विमानस्थलको आगमन कक्षबाट सरासर बाहिरिए । उनी नीलो पाइन्टमा थिए, तर उनको पहिरन अस्वाभाविक देखिन्थ्यो । 

शंका लागेपछि प्रहरीले फैजनलाई नियन्त्रणमा लियो । कुनै गल्ती नगरेको भन्दै उनी प्रहरीसँग कड्किए । शरीरबाट कपडा पालैपालो उतारियो । पाइन्ट र उनले लगाएको गन्जीको तौल अस्वाभाविक देखियो । प्रहरीले पाइन्टको भित्री भाग उल्टायो, तर केही भेटिएन । त्यसवेलासम्म फैजन गलेका थिएनन् । जब प्रहरीले पाइन्टको सिलाइ उधार्न थाल्यो, बल्ल उनी गल्न थाले । किनकी फाइन्टभित्र सुनले ‘स्प्रे’ गरिएको यस्तो पत्र थियो, जुन उनले कुवेतदेखि लगाएर आएका थिए । 

प्रहरीले फैजनको गन्जीको सिलाइ पनि उधार्‍यो । त्यसभित्र पनि सुनले ‘स्प्रे’ गरिएको अर्को पत्र भेटियो । प्रहरीका अनुसार उनको पाइन्ट र गन्जीभित्र मात्रै ‘स्प्रे’ गरिएको एक किलो दुई सय ग्राम सुन फेला परेको थियो ।

यी पाँच घटनाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी नरोकिएको, तर शैली भने बदलिएको देखाउँछ । नेपाल प्रहरीका पूर्वडिआइजी केशव अधिकारी तस्करका मुख्य योजनाकारमाथि राजनीतिक संरक्षण रहेसम्म विमानस्थलबाट हुने सुन तस्करी नरोकिने बताउँछन् । 

‘विमानस्थलबाट हुने सुन तस्करी रोकिएको छैन । पटक–पटक सुन बरामद भएका घटनाले यसको पुष्टि गर्छ । यसका केही खास कारण छन् । त्यो हो मुख्य नाइके कहिले पनि पक्राउ नपर्नु । यिनीहरूले राजनीतिक दलका नेतामाथि लगानी गरेका हुन्छन् । बदलामा उनीहरूमाथि राज्य संयन्त्र र नेताको संरक्षण हुन्छ । यी र यस्ता गतिविधि कायम रहँदासम्म विमानस्थलबाट हुने सुन तस्करी रोकिँदैन,’ अधिकारीले भने । 

६० महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई क्विन्टल तस्करीको सुन बरामद 
काठमाडौं उपत्यकाभित्रबाट पछिल्लो ६० महिनामा भन्सार कार्यालय र प्रहरीले साढे दुई क्विन्टल (२४१.८१ किलो) तस्करीको सुन बरामद गरेको छ । त्यसको ८५ प्रतिशत सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको हो । हाल चलेको बजार भाउअनुसार बरामद सुनको मूल्य दुई अर्ब ४२ करोड ८४ लाख ९७ हजार आठ सय ३० रुपैयाँ पर्छ । 

तथ्यांकअनुसार तस्करीको दर विगत वर्षका तुलनामा पछिल्लो वर्ष बढेको छ । विमानस्थल भन्सार कार्यालयले ०७८/७९ मा विमानस्थलबाट ३१ किलो दुई सय ५० ग्राम सुन बरामद गरेको थियो । त्यस्तै, ०७९/८० मा विमानस्थलबाट एक सय १२ किलो पाँच सय ५७ ग्राम सुन बरामद गएको छ । यो दर अघिल्लो आर्थिक वर्षको तुलनामा २६०.२३ प्रतिशतले धेरै हो । जसले विमानस्थलबाट हुने सुन तस्करी नरोकिएको बरु, स्वरूप बदलेर शतप्रतिशत बढेको देखाउँछ । 

अर्ध ठोस बनाएर पनि हुन्छ तस्करी 
गत ८ पुसमा फ्लाई दुबईको उडानबाट २७ वर्षीय सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए । दुबईबाट आएका उनको गतिविधि शंकास्पद देखियो । प्रहरीले उनको शरीरको खनतलासी लियो । यही क्रममा उनले लगाएको ज्याकेटभित्र अर्ध ठोस अवस्थाको पहेँलो पदार्थ भेटियो । परीक्षणपछि उक्त अर्ध ठोस पदार्थ सुन रहेको खुल्यो । तौल लिँदा सुनको परिमाण १९ किलो थियो । 

त्यस्तै, गत १९ माघमा फ्लाई दुबईकै उडानबाट क्यालेनियन नागरिक ३५ वर्षीय मोहम्मद कमल महगोब काठमाडौं उत्रिए । विमानस्थलको आगमन कक्षबाट बाहिरिने क्रममा उनले लगाएको पेटी अस्वाभाविक देखिन्थ्यो । शंका लागेपछि प्रहरीले नियन्त्रणमा लियो । चेकजाँच गर्दा पेटीभित्र अर्ध ठोस अवस्थाको आठ किलो १७८.८० ग्राम सुन फेला पर्‍यो । भन्सार कार्यालयका अनुसार पक्राउ परेका डाफल्ला र महगोब एउटै गिरोहका सदस्य हुन् । उनीहरूले बरामद सुन स्थलमार्ग हुँदै भारत लैजाने तयारी गर्दै थियो ।

तस्करलाई राजनीतिक संरक्षण रहेसम्म विमानस्थलबाट हुने सुन तस्करी रोकिँदैन : केशव अधिकारी, पूर्वडिआइजी 
विमानस्थलबाट हुने सुन तस्करी रोकिएको छैन । यसको नाभी राजनीतिक दलका नेतासँग गएर जोडिन्छ । तस्करीका मूल नाइकेलाई नेताको संरक्षण छ । राज्य संयन्त्र प्रयोग गरेर उनीहरू सधैँ उम्किन्छन् । जबसम्म उनीहरू पक्राउ पर्दैनन्, सुन तस्करी रोकिँदैन । जस्तो यसअघि भएका तस्करीका घटनालाई लिन सक्छौँ । घटनापछि अनुसन्धानका लागि समिति गठन भए । आयोग बन्यो । तस्करलाई राजनीतिक संरक्षण छ भनेर उनीहरूको प्रतिवेदनमा प्रस्ट उल्लेख छ । तर, उनीहरूविरुद्ध कहिले पनि कारबाही हुँदैन । फलतः तस्करका नाइके पक्राउ पर्दैनन् । योे स्थिति कायम रहँदासम्म विमानस्थलबाट हुने सुन तस्करी रोकिँदैन । 

See More On

सुझावित समाचार