आइसर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच सम्झौता

बिहिबार, २१ मंसिर, २०८०
डिजिटल संस्करण

नेपालका लागि आइसर कमर्सियल भेहिकल्सको आधिकारिक वितरक बतास एमएडब्लू कमर्सियल भेहिकल प्रालिले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा बतास एमएडब्लूका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल, प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, मार्केटिङ हेड रामजी ढकालको उपस्थितिमा हस्ताक्षर भएको हो ।

क्यासलेस योजनामार्फत दुर्घटना भएको खण्डमा आइसर मोटर्स गाडीका ग्राहकले बतास एमएडब्लूका आधिकारिक सर्भिस सेन्टरमा सीधै गई गाडी मर्मत वा बिमा रकम दाबी गर्न सक्ने जनाइएको छ । ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइसरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकमबाहेकको रकम मात्र तिर्नुपर्ने तथा बाँकी रकम बिमा कम्पनी र बतास एमएडब्लूबीच कारोबार हुने कम्पनीले जनाएको छ । 

यो सम्झौताकाट ग्राहकले आफूले पाउने पैसा बिनाझन्झट छिट्टै पाउने तथा छिट्टै मर्मत–सम्भार सकेर आफ्नो गाडी सडकमा लिएर निस्किन सक्ने अवस्था हुने कम्पनीको भनाइ छ । साथै, सुरक्षाको दृष्टिकोणले आधिकारिक सर्भिस सेन्टरमा बनाउँदा दक्ष मेकानिकको निगरानीमा मर्मत हुने हुँदा सुरक्षित हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अग्रवालले बताए । 
यसअघि आइसरले आफ्ना ग्राहकलाई लक्षित गरी प्रत्येक गाडीको खरिदमा चालकलाई २५ लाख रुपैयाँको आकस्मिक बिमा उपलब्ध गराउँदै आइरहेको जनाइएको छ ।

सुझावित समाचार