हुम्लाका खाद्य डिपोमा भाेलिदेखि ढुवानी हुने

समाचार प्रभाव

बुधबार, २० मंसिर, २०८०
डिजिटल संस्करण

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीले हुम्लामा खाद्यान्न अभाव चुलिएको छ। ढुवानी जिम्मा पाएका सप्लायर्सले समयमै ढुवानी नगरेपछि अभाव चुलिँदै गरेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले स्थलगत (सतहमार्ग) ढुवानी चाँडो गराउन ११ मंसिरमा ढुवानीकर्ता चाङला अर्डर एन्ड सप्लायर्स सिमकोटका प्रोपाइटर प्रकाश रावत र एलबी सप्लायर्स अदानचुली– २ हुम्लाका प्रोपाइटर लोकेन्द्र भण्डारीलाई ताकेता पठाएको थियो।

बुधबार नयाँ पत्रिका राष्ट्रिय दैनिकमा रित्तिँदै हुम्लाको खाद्य गोदाम समाचार प्रकाशित भएपछि स्थलगत (सतहमार्ग)को ढुवानी जिम्मा पाएका एलबी सप्लायर्स अदानचुली र चाङला अर्डर एन्ड सप्लायर्स सिमकोटले भोलि बिहीबारबाट ढुवानी गर्ने भएका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका शाखा प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार बिहीबार नेपालगन्जबाट  एलबी सप्लायर्स अदानचुली– २ का प्रोपाइटर लोकेन्द्र भण्डारीले चार सय क्विन्टल नेपालगन्जबाट बोक्न थालेको जानकारी दिए।

‘एलबी सप्लायर्सले एक सय क्विन्टल खाद्यान्न हुम्लाको सल्लीसल्ला पुर्याइसकेको छ,’ उनले नयाँ पत्रिकासँग भने। 
सुर्खेतबाट पनि चाङला सप्लायर्सले एक–दुई दिनमा चार सय क्विन्टल उठाउने तयारी भएको शाखा प्रमुख अधिकारीले बताए।

स्थलमार्ग (सतहमार्ग)बाट बिहीबारदेखि ढुवानी हुने भएको छ भने हवाईमार्गबाट ढुवानी हुने १० हजार क्विन्टल खाद्यान्न हप्ता–दश दिनमै ढुवानी हुने भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका शाखा प्रमुख अधिकारीको भनाइ छ।

‘प्रधान कार्यालयबाट हवाईमार्गबाट ढुवानी हुने खाद्यान्न हप्ता–दश दिनमै ढुवानी हुने जानकारी पाएका छौँ,’ अधिकारीले नयाँ पत्रिकासँग भने।  

सुझावित समाचार