करदाता सेवा कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व

बुधबार, २० मंसिर, २०८०
डिजिटल संस्करण

करदाता सेवा कार्यालय रामेछापले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म आन्तरिक राजस्व कार्यालयले दिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । करदाता सेवा कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा ११ करोड ३५ हजार दुई सय रुपैयाँ राजस्व रकम उठाएको छ । जब कि आन्तरिक राजस्व विभागले यो अवधिमा कुल आठ करोड सात लाख १३ हजार रुपैयाँ राजस्व रकम संकलन गर्ने लक्ष्य लिएको थियो । राजस्व विभागले लिएको लक्ष्यभन्दा धेरै बढी रकम राजस्व संकलन गर्न सफल भएको करदाता सेवा कार्यायल रामेछापका कर अधिकृत मणि शर्माले जानकारी दिए । 

उनले भने, ‘रामेछापमा अहिलेसम्म उत्साहजनक रूपमै कर उठेको छ । हामीले देशभरिमा टपटेनमा पर्ने गरी राजस्व संकलन गरिरहेका छौँ । कार्यालयले विगतदेखि गरिँदै आएको करसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमको प्रभावले गर्दा व्यक्ति, फर्महरू करको दायरामा आउन थालेका छन् । विगतको तुलनामा कार्यालयमा आउने सेवाग्राहीको संख्यामा पनि वृद्धि भएको छ ।’ अझ थप प्रभावकारी बनाउन करसम्बन्धी विभिन्न अभियान लिएर गाउँतहका बजारकेन्द्रसम्म जाने तयारीमा रहेको पनि प्रमुख शर्माले बताए । 

करदाता सेवा कार्यालय रामेछापले चालू आर्थिक वर्षभरिमा ३९ करोड ७९ लाख ७३ हजार राजस्व संकलन गर्नुपर्नेछ । त्यसको २९.२९ प्रतिशत भने हालसम्म उठिसकेको छ । त्यस्तै चालू आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिकसम्म अन्तःशुल्क २१, आयकर दुई सय १२, व्यक्तिगत प्यान चार सय ९३, मूल्य अभिवृद्धि कर ३६ र सरकारी ३२ गरी कुल ७ सय ९४ प्यान जारी गरेको छ । 

जसमा हालसम्म अन्तःशुल्क तीन सय ७२, आयकर आठ हजार सात सय ९४, व्यक्तिगत प्यान तीन हजार सात सय ८४, मूल्य अभिवृद्धि कर आठ सय ७४ र सरकारी दुई सय ६७ गरी कुल १४ हजार ९१ करदाता सेवा कार्यालयमा आबद्ध भएको करदाता सेवा कार्यालयको तथ्यांकले देखाउँछ ।

See More On

सुझावित समाचार