जनताका लागि राजनीति खोइ ?

जनताका लागि राजनीति गर्न छाडेर दलहरूले अनेक वादैवादको भुलभुलैयामा जनतालाई भुलाउन थाले भने राजनीति जनताबाट टाढिन्छ

बुधबार, २० मंसिर, २०८०
डिजिटल संस्करण

हाम्रो देशका राजनीतिक दलले विभिन्न समय कालमा विभिन्न किसिमका राजनीतिक मुद्दा उठाएर देशलाई राणाशासनबाट राजतन्त्र, राजतन्त्रबाट पञ्चायत व्यवस्था, पञ्चायती व्यवस्थापछि लोकतन्त्र र अहिले लोकतन्त्रबाट संघीय गणतन्त्रात्मक राज्यमा क्रमशः परिणत गराउन सफल भए । यी व्यवस्थालाई संस्थागत गर्न र आमूल परिवर्तन ल्याउन कैयौँ नेपाली सपूतले आफ्नो ज्यानको आहुती दिएर वीर सहिद बने । तर, हाम्रा कैयौँ पुर्खाले ज्यानको आहुती दिए पनि यो देशको इतिहासमा नाम दर्ज हुन सकेन ।

यस अवधिमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, मधेसी फोरम, जनता समाजवादी पार्टी, लोसपा आदि विभिन्न दलको जन्म भयो । ती दलले विभिन्न समयमा आआफ्ना पार्टीका मुद्दा र चुनावी नारा लिएर जनताबीच गए । तिनै मुद्दाका अधारमा चुनावमा राम्रो मत ल्याएर जनताको सेवा गर्ने मौका पनि पाए, तर जनताले वास्तविक रूपमा भरपर्दा जनसेवक नेता पाउन सकेनन् । नेता नै जनसेवक नभएपछि सरकार जनसेवक बन्ने सम्भावना यसै भएन । जनताले आँखा चिम्लेर नेता र देशको व्यवस्थामाथि विश्वास गर्न सक्ने परिस्थिति कहिल्यै बनेन । 

अरू देश चन्द्रमापछि मंगल ग्रहमा कसरी बसोवास गर्ने भन्ने अनुसन्धानमा लागेका छन् । हाम्रै छिमेकी मुकुक भारत चन्द्रमामा चन्द्रयान पठाउन सफल भयो । चन्द्रयानलगत्तै उसले सूर्यको अनुसन्धान गर्न आदित्य लुना–१ प्रक्षेपण ग¥यो । तर, हामी नेपाली भने अहिले पनि यो र त्यो वादकै विवादमा अल्झिरहेका छौँ । यही अर्थहीन विवादले गर्दा राज्यले जनतालाई शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता आधारभूत अधिकारसमेत दिन सकेको छैन । तर, राज्यका हर्ताकर्ता र राजनीतिक नेतृत्व भने काम केही गर्न नसकेपछि कुरा भने निकै ठुल्ठूला गर्दै आएका छन् ।

के यही हो त जनताका लागि गरिएको राजनीति ? यस्तो अर्थहीन राजनीति कहिलेसम्म चल्ने हो, नेताज्यूहरू ? युवालाई देश छोड्नुनपर्ने वातावरण बनाउन पहल गर्छौं भन्ने मन्त्रीहरूले पत्रपत्रिकामा समाचारको ‘हेडलाइन मात्र बनाए । तर, देश निर्माणको जनमुखी नीति निर्माण गरी त्यसको कार्यान्वयनमा भने शून्य प्रगति किन ? समस्या कहाँ र किन भयो ? अब जनता जान्न चाहन्छन् । नेतृत्वले जवाफ दिन सक्नुपर्यो । 

यो देश र देशवासीलाई बनाउन हामी कहाँनेर चुक्यौँ ? देशको व्यवस्था मात्रै फेरियो, तर देशको अवस्था किन फेरिएन ? देशले विकासको सही गति पक्रन नसक्नुको कारण के हो ? त्यसको समाधान कसरी हुन सक्छ ? विश्वका उदाहरणीय देशले कसरी समृद्धि हासिल गरे ? हाम्रा नेताहरूले त्यसबाट के सिक्ने ? देश निर्माणमा राजनीतिक दल र कर्मचारी कहाँ–कहाँ चुके ? हाम्रो राजनीतिक नेतृत्वलाई नेपाली माटो सुहाउँदो जनमुखी राजनीति गर्न केले कहाँनेर रोकिरहेको छ ? यी र यस्ता कैयौँ प्रश्नको जवाफ हाम्रा राजनीतिक नेतृत्वले जनतालाई दिनैपर्छ ।

हाम्रा दल र तिनका नेतृत्वकर्तासँग नागरिकको जीवनसँग सम्बन्धित मुद्दा नै भएनन् । जनताको दैनिकीसँग जोडिने जनजीविकाका मुद्दा उठाउन नसक्ने दल र नेतृत्वले कसरी जनताको विश्वास जित्न सक्लान् त ? जनताका लागि राजनीति गर्न छाडेर दलहरूले समाजवाद, साम्यवाद, उदारवादलगायत अनेक वादैवादको भुलभुलैमा जनतालाई भुलाउन थाले भने राजनीति जनताबाट टाढिन्छ ।

हाम्रा दल र तिनका नेतृत्वकर्तासँग नागरिकको जीवनसँग सम्बन्धित मुद्दा नै भएनन् । जनताको दैनिकीसँग जोडिने जनजीविकाका मुद्दा उठाउन नसक्ने दल र नेतृत्वले कसरी जनताको विश्वास जित्न सक्लान् ? 
 

पछिल्लो समयमा राजनीतिक दलहरूले यही बाटो समाते र जनतालाई अनेक भुलभुलैमा अल्झाए । हामी जनता पनि उनीहरूका विभिन्न झुटा भुलभुलैयामा विश्वास गरी फस्दै गयौँ । हामी नेपाली अरूको नक्कल गरेर होइन, आफैँ नेपालमा के–के गर्न सक्छौँ, नागरिकको जीवनसँग सम्बन्धित मुद्दा के–के उठाउन र तिनलाई कार्यान्वयनमा लान सक्छौँ भन्नेतर्फ कहिल्यै सोचेनौँ, कहिल्यै त्यस विषयप्रति ध्यान दिन सकेनौँ । अहिले नेपालमा व्यवस्था परिवर्तन भएको छ, तर पात्र र प्रवृत्ति भने उही पुरानै रहेको छ । यस्तोमा हामी आस भने परिवर्तनको गरिरहेका छौँ । जसले देश र जनतालाई लोकतन्त्र र गणतन्त्र दिए, तिनले नेपालीलाई सुखी बनाउने तन्त्र भने दिन सकेनन् ।

जनताले अहिले कुनै वाद खोजिरहेका छैनन्, गणतन्त्रको विकल्पमा राजतन्त्र पनि खोजेका छैनन् । जनताले त ‘शिक्षावाद, स्वास्थ्यवाद, रोजगारवाद’ खोजेका छन् । जनताले महँगी कम गर्ने वाद खोजेका छन् । जनताले कसरी राज्यबाट भरपर्दो स्वास्थ्य सेवा पाउन सकिन्छ ? त्यो स्वास्थ्यवाद खोजेका छन् । जनताले आफूले तिरेको करबाट राज्यले राम्रो, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य र शिक्षा जानतालाई निःशुल्क दिन सकोस्, त्यो वाद खोजेका छन् । जनता ‘सुरक्षावाद’को खोजीमा छन् । हरेक देशवासी ढुक्क भएर देशको कुनै पनि कुनामा गएर सुरक्षित बसोवास गर्न सकून्, हाम्रा चेलीबेटीहरू निर्धक्क भएर घर फर्किन सकून् । देशवासीले अब जात र रङको राजनीति खोजेका छैनन् । उनीहरू यो देशमा कसरी हिमाली, पहाडी र मधेसी एक ठाउँमा मिलेर बस्न सकिन्छ, त्यो ‘मेलमिलापवाद’ को खोजीमा छन् । 

देशबाट हरेक दिन गुणस्तरीय उच्च शिक्षा हासिल गर्न १२ कक्षा सक्नेबित्तिकै बाहिर जानुपर्ने बाध्यता छ । देशका कर्णाधार भनिने बालबालिका १२ कक्षाको पढाइ सकिएपछि बिदाइको समयमा आआफ्नो सर्टमा खाडीमा भेटौँला भनेर लेख्न बाध्य भएका छन् । यो हामी सबैका लागि चिन्ताको विषय हो । तर, हाम्रा नेताले यस्तो विषयमा कहिले पनि चिन्ता देखाएनन् । नेपालीका लागि योभन्दा दुःखको विषय अरू के नै हुन सक्छ र ? देशमा प्राकृतिकलगायत अन्य स्रोत फालाफाल हुँदाहुँदै पनि राज्यले देशमा रोजगारीको अवस्था सिर्जना गर्न सकिरहेको छैन ।

योभन्दा ठूलो विडम्बना के नै हुन सक्छ र ? जुन देशमा प्राकृतिक स्रोतको अपार भण्डार रहे पनि देशको विकास गर्न धौधौको अवस्था छ, त्यहाँ जतिसुकै राम्रो राजनीतिक वाद भए पनि, त्यसको कुनै अर्थ हुँदैन । यो सबै अव्यवस्थाको मूल कारण के हो ? यसको मूल्यांकन हामीले कहिले गर्ने ? हाम्रा नेतृत्वकर्ताका कारण हामी बारम्बार छिमेकीबाट हेपिएका छौँ । हाम्रो देशको भूभाग अतिक्रमण गर्दा पनि हाम्रो नेतृत्वले त्यसको खुलेर विरोध गर्न सक्दैन । योभन्दा लाजमर्दो अवस्था अर्को के नै हुन सक्ला र? 

कृषिप्रधान देश नेपालको राजनीतिक बहस कृषि विकासमा केन्द्रित हुनुपथ्र्यो । हाम्रो राजनीतिले ‘कृषिवाद’लाई अँगालेर किसानमैत्री नीति ल्याउनुपथ्र्यो । जुन देशका झन्डै ८० प्रतिशत मानिस कृषिमा आश्रित छन्, त्यहाँको राजनीतिले कृषि संस्कृतिको विकास गर्न सक्नुपथ्र्यो ।  हाम्रो अहिलेको बहस सर्वसुलभ गुणस्तरीय निःशुल्क शिक्षाको विषयमा केन्द्रित हुनुपथ्र्यो । हाम्रो बहस रोजगारीको विषयमा केन्द्रित हुनुपथ्र्यो । हाम्रो राजनीतिक नेतृत्वले नयाँ–नयाँ उद्योगधन्दा खोलेर रोजगारीसँगै निर्यात व्यापार बढाउनुपर्नेमा विभिन्न कालखण्डमा खुलेका कलकारखानासमेत बन्द गराए । उदाहरणका लागि, रौतहटको मध्यभागमा रहेको श्रीराम सुगर मिल्स बन्द हुँदा प्रत्यक्ष र अप्रत्यक्ष गरी ५० हजारभन्दा बढी किसान तथा मजदुरको रोजगारी खोसिएको छ । तर, यो विषयमा हाम्रो नेतृत्वले कुनै चिन्ता लिएको देखिन्न ।

देशको स्वास्थ्य सेवा, खानेपानी, बिजुलीजस्ता आधारभूत विषयमा नबोल्ने राजनीतिले देशको विकास मोडेलबारे बोल्ला, बहस गर्ला र जनतालाई विकाससँग जोड्ला भनेर अपेक्षा गर्नु नै गलत हुन्छ । आज दिन दुईगुना र रात चौगुनाका दरले बढिरहेको महँगीबाट जनतालाई त्राण दिलाउने कुनै औजार र उपाय देखिन्न हाम्रो राजनीतिसित । दल र नेताहरू जनतालाई अलमल्याउने खेलमा रमाइरहेका छन् । सरकार बनाउने र ढाल्ने प्रक्रियामा मात्र सबैको चासो छ । जनताको समस्यामा कसैको चासो छैन । यसरी त कतिन्जेल चल्ला र देश ? आज हामी नेपाली जन्मिनेबित्तिकै विदेशीको ऋणी बनिरहेका छौँ । के नेपालमा जन्मिनेबित्तिकै हामी विदेशीको ऋणमा डुब्नुपर्ने हो ? 

बुढा र पुराना दलबाट त जनताले आस मारिसके । आफूलाई वैकल्पिक पार्टी भन्दै जनताको विश्वास जितेर सदनमा पुगेका दल र तिनका नेतृत्व पनि यो पाँच वर्षको अवधिमा भाषणमै मात्र रमाइरहे भने ०८४ को निर्वाचनमा जनताले पक्कै पनि फरक निर्णय लिनेछन् । त्यसैले, पछिल्लो समय मधेसमा उदाएको जनमत पार्टी र पहाडमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वले चर्का भाषण छाडेर जनताको दैनिकीसँग जोडिएका समस्याको समाधानमा लाग्नु जरुरी देखिन्छ ।

मिसन ८४ मात्र भनेर हुँदैन । त्यसका लागि जनतासँग जोडिने मिसन अगाडि सार्न सक्नुपर्छ । मिसन ०८४ ले दललाई सत्तानिकट पुर्याए पनि जनताले भने केही हात पार्नेछैनन् । जनतालाई के ०८४, के ०८९ ? उनीहरूलाई त आधारभूत आवश्यकताको परिपूर्ति चाहिएको छ । सत्ता र प्रतिपक्षको रडाकोले देशवासीको समस्या सामाधान हुने होइन । सत्ता वा प्रतिपक्षमा जहाँ भए पनि ‘डेलिभरी’को राजनीतिको सुरुवात गर्नु आजको आवश्यकता हो । अब पनि यो वाद, त्यो वाद या अन्य कुनै भुलभुलैयामा जनतालाई फसाउने छुट नयाँ या पुरानो, कुनै पनि दललाई छैन । 

(शर्मा लेखक तथा शैक्षिक अभियन्ता हुन्)

सुझावित समाचार