रित्तिँदै हुम्लाको खाद्य गोदाम

बुधबार, २० मंसिर, २०८०
डिजिटल संस्करण
रित्तिँदै हुम्लाको खाद्य गोदाम

खाद्यान्न नभएर रित्तै रहेको सिमकोट शाखा कार्यालय

सिमकोट शाखामा १४८ क्विन्टल मात्रै चामल मौज्दात, सप्लायर्स कम्पनीको उदासीनताका कारण दसैँयता खाद्यान्न अभाव चुलिँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चरम लापरबाहीका कारण हुम्लामा खाद्यान्न अभाव चुलिएको छ । ढुवानी जिम्मा पाएका सप्लायर्स कम्पनीहरूलाई समयमै ताकेता नगरेपछि दसैँयता खाद्यान्न अभाव चुलिँदै आएको हो । 

आर्थिक वर्ष ०८०/८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत भएको छ । तर, अहिलेसम्म नआएपछि सिमकोट शाखाको गोदाम रित्तिएको हो । स्थलमार्गबाट  चार हजार क्विन्टल र हवाईमार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गरेका छैनन् । स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन । एक हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको चाङला ढुवानी सेवाले १४८ क्विन्टल मात्रै उठाएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालयले १८ कात्तिकमा हवाईमार्गबाट खाद्यवस्तु ढुवानीका लागि बोलपत्र स्वीकृत आशयको सूचना निकालेको थियो । सिम्रिक एयर हेलिकोप्टर लिमिटेडले हवाईमार्गबाट १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको छ । सिमकोट शाखाका लागि सुर्खेतबाट ६ हजार क्विन्टल र नेपालगन्जदेखि सिमकोटसम्म चार हजार क्विन्टल गरी १० हजार क्विन्टल चामल ढुवानी गर्न सिम्रिका एयरका प्रोपाइटर मुरलीधर जोशीसँग सम्झौता भएको थियो । नेपालगन्जबाट सिमकोटका लागि प्रतिकेजी १४३ र सुर्खेतबाट सिमकोटका लागि प्रतिकेजी १३७ रुपैयाँका दरले सम्झौता भएको छ । 

हवाई ढुवानीका चामल नेपालगन्ज र सुर्खेतमै थन्किए 
सिम्रिका एयरले ढुवानी गर्नुपर्ने खाद्यान्न नेपालगन्ज र सुर्खेतमै थन्किएको छ । नेपालगन्जबाट हवाई ढुवानी हुनुपर्ने चार हजार क्विन्टल र सुर्खेतबाट ढुवानी हुने ६ हजार क्विन्टल गरी १० हजार क्विन्टल चामल नेपालगन्ज र सुर्खेतमै थन्किएको हो । स्थलमार्गबाट ढुवानी जिम्मा पाएको एलबी सप्लायर्सले समयमा ढुवानी नगर्दा चामल नेपालगन्ज, राजापुर प्रादेशिक कार्यालय धनगढीमै थन्किएका छन् ।

स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सका प्रोपाइटर लोकेन्द्र भण्डारीले अहिलेसम्म ढुवानीमा चासो देखाएका छैनन् । स्थलमार्गबाटै एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने चाङला ढुवानी सेवाले पनि खाद्यान्न ढुवानी गरेको छैन । स्थलमार्गबाट नेपालगन्ज हुँदै हुम्लाको सिमकोटसम्म प्रतिकेजी ४० रुपैयाँ ६८ पैसा, सुर्खेतबाट स्थलमार्ग हुँदै सिमकोटसम्म ३९ रुपैयाँ, धनगढीदेखि सिमकोटसम्म ४२ रुपैयाँ ९४ पैसा र राजापुर बर्दियादेखि सिमकोटसम्म ४१ रुपैयाँ ८१ पैसामा ढुवानी गर्न सम्झौता गरेको पाइएको छ । 

सदरमुकाम सिमकोट शाखामा १४८ क्विन्टल खाद्यान्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले जनाएको छ । आव ०८०/८१ को खाद्यान्न समयमै ढुवानीकर्ताहरूले ढिलासुस्ती गरेपछि सिमकोट शाखामा खाद्यान्न अभाव देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

सिमकोट शाखाको गोदाम खाली भएपछि उपभोक्ता खाली हात फिर्ता जान बाध्य भएका छन् । स्थलमार्ग (सतहमार्ग)को चार हजार र हवाईमार्गबाट १० हजार क्विन्टल ढुवानी हुने खाद्यान्न नआएपछि समस्या भएको उनको भनाइ छ । हुम्लाका दुईवटा डिपो र चारवटा बिक्री केन्द्रमा पनि खाद्यान्न छैन । याल्वाङ र लिमी बिक्री केन्द्रबाहेक अरू बिक्री केन्द्रमा चामल आउन सकेको छैन । 

सुझावित समाचार