ओखलढुंगामा देउवालाई कालोझन्डा देखाउने नौजना पक्राउ

मंगलबार, १९ मंसिर, २०८०
डिजिटल संस्करण

ओखलढुंगामा कांग्रेस सभापति शेरबहादुर देउवालाई कालोझन्डा देखाउने नौजना पहिचानवादी पक्राउ परेका छन्। कोशी नाम खारेज गरी प्रदेश १ को पुनः नामकरण गर्न माग गर्दै आन्दोलित नौजना पहिचान पक्षधर नेता पक्राउ परेका हुन्। 

जिल्लामा नवनिर्मित बिपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुंगा आएका सभापति देउवासहितका नेताले स्वर्गीय नेता बलबहादुर राईको सालिकमा माल्यार्पण गर्ने क्रममा पहिचानवादीले नारा–जुलुस गर्दै कालोझन्डा देखाउन र कार्यक्रम बिथोल्न खोजेका थिए। त्यसलगत्तै प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका जिल्ला अध्यक्ष थगेन्द्र राई, सचिव दीपेन्द्र रुम्दाली, किराँत राई यायोक्खाका केन्द्रीय महासचिव भीम राईसहित रेखराज राई, चम्मर राई, दुर्गाबहादुर राई, इन्द्रबहादुर राई, अश्विन राई र सुजन राई रहेको जिल्ला प्रहरी प्रमुख दीपक केसीले बताए। कार्यक्रम बिथोल्न र नेताहरूलाई कालोझन्डा देखाउन थालेपछि पक्राउ गरिएको उनको भनाइ छ। 

पहिचान पक्षधरले जिल्लामा आउने दलका नेतालाई निरन्तर अवरोध गर्दै आएका छन्।

सुझावित समाचार